काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई बर्खास्त गर्न माग गरिएको छ । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकाले सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।
नवराज विकसहित ६ जना दलित युवाहरूको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाउनुभयो । ‘नेताहरूको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराजलगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन्,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताउनुभयो ।
‘शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे,’ उहाँले भन्नुभयो, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभूति गराउनुपर्छ ।’
कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताउनुभयो । उहाँले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया