अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी केन्द्रको विवादको वेवास्ता गर्दै एमालेका जिल्ला कमिटीहरूले काम थाले

पार्टी केन्द्रको विवादको वेवास्ता गर्दै एमालेका जिल्ला कमिटीहरूले काम थाले


काठमाडौं– नेकपा एमालेको केन्द्रमा विवाद उत्कर्षमा पुगेपनि जिल्ला तहका पार्टी कमिटीहरु सक्रिय हुन थालेका छन् । गतवर्षको पुसमा प्रतिनिधीसभा विघटन भएपछि रनभुल्लमा परेका कमिटीहरु आफ्नो लयमा फर्कन थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हिजो काठमाडौं जिल्ला कमिटीको बैठक बसेको छ । यसैगरी सुनसरीमा पनि हिजै जिल्ला कमिटीको बैठक बसेको छ । यसैगरी उदयपुरमा चौदण्डी नगर कमिटीको बैठक हिजो बसेको छ । संखुवासभामा पनि पार्टी कमिटीहरु सक्रिय हुन थालेका छन् । झापामा पनि स्थानीय तहहरुमा कमिटीका बैठक र निर्णयहरु हुन थालेका छन् ।

पार्टीको केन्द्रमा विवाद भएर पार्टी हलचल नभएको अवस्थामा जिल्ला र त्यस भन्दा तलका कमिटीहरु चलायमान हुँदा कार्यकर्ताहरु उत्साहित भएका छन् । काठमाडौं जिल्ला कमिटीका सचिव दिपक निरौलाका अनुसार लामो समय देखि पार्टीका बैठक नबस्दा कार्यकर्तामा निराशा छाएकोले अब पार्टी कार्यकर्तालाई काममा लगाएर उत्साह भर्ने समय आएको बताउनुभयो । ‘अब कसैलाई पर्खेर समय बर्बाद गर्दा पार्टी झन् झन् कमजोर हुँदै जान्छ । पार्टीमा विवाद हुन्छन्, मिल्छन् तर कमिटीका कामहरु रोक्नु हुदैन,’ निरौलाले नेपाली बहस डट कमसँग भन्नुभयो ।

काठमाडौं जिल्ला कमिटीको बैठकले हिजो विभिन्न निर्णयहरु पनि गरेको छ । निरौलाका अनुसार पूर्वमाओवादीका छ जना नेता सहित ४८ सदस्यीय सचिवालय गठन गरेका छन् । जसमा माधव नेपाल पक्षका आठ जनालाई सचिवालयमा राखिएको छ । यसैगरी असोज ३ गते काठमाडौंका सबै १ सय ३८ वटै वडाहरुका अधिवेशन गर्ने निर्णय गरेको छ । आगामी शनिबार ११ वटै नगर कमिटीका बैठक आयोजना गारिएको छ । उक्त बैठकले सबै वडाहरुका संयोजक र सचिव तोक्ने निरौलाले जानकारी दिनुभयो ।

प्रदेश नं १ का विभिन्न जिल्लाहरुमा जिल्ला कमिटी,नगर कमिटी र गाउँ कमिटीका बैठकहरु सञ्चालन भइरहेका छन् । उदयपुर जिल्ला कमिटीका सचिव कुशलबाबु बस्नेतका अनुसार जिल्लाका आठैवटा स्थानीय तहमा कमिटीहरु निर्माण भइसकेका छन् । ५० वटा वडा कमिटी र ४७ वटा टोल कमिटी गठन गरेर धेरै कार्यकर्ताहरुलाई जिम्मेवारी दिइएको बस्नेतले बताउनुभयो । ‘कतिपय पालिकाहरुमा जनवर्गीय संगठनका कमिटी पनि गठन भइसकेका छन्,’ बस्नेत भन्नुहुन्छ, ‘पार्टीको विवाद कहाँ पुग्ला भनेर कार्यकर्ताहरु पर्खेर बस्ने अवस्थामा छैनन् । पार्टीलाई अघि बढाउन सबै सक्रिय भइसकेका छन् ।’

सुनसरी जिल्ला कमिटीको बैठक पनि हिजो सकिएको छ । बैठकले पार्टीका जिल्ला स्तरका सबै विभागहरुलाई पूर्णता दिएको,स्थानीय तह र वडाहरुका इन्चार्ज र सहजकर्ता तोकेर जिम्मेवारी दिएको इन्चार्ज भगवती चौधरीले जानकारी दिनुभयो । ‘कार्यकर्ता र पार्टीको सम्पर्क नै टुटीसकेको अवस्था छ । त्यसैले वादविवाद हल हुदै जालान् । पार्टी र कार्यकर्ताको सम्बन्ध स्थापना प्राथमिकता कुरा हो भन्ने लागेको छ’ चौधरीले भन्नुभयो, ‘त्यही भएर कार्ययोजना बनाएरै पार्टी काममा लागेका छौं ।’

एमाले प्रदेश एकका अध्यक्ष देवराज घिमिरे केन्द्रमा जारी विवादले स्थानीय कमिटी र कार्यकर्तामा चरम निराशा छाएको बताउनुहुन्छ । ‘कार्यकर्तालाई निराशाबाट मुक्त गराउने काम पनि पार्टी कै हो,’ घिमिरेले भन्नुभयो, ‘त्यसैले अब सबै कमिटीहरु क्रियाशिल हुन्छन् । कार्यकर्ताहरुले जिम्मेवारी पाउछन् । पार्टीको टुप्पो हल्लिए पनि फेद हल्लिएको छैन ।’