अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाङपाङकी फ्लोरेन्स नाइटिंगेल

हाङपाङकी फ्लोरेन्स नाइटिंगेल


ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ (साविक हाङपाङ –६) मा एउटा अस्पताल छ । एकतले टिनको छानाको त्यो अस्पताल भवनले बर्षौं देखि बिरामीको उपचार गराइरहेको छ । बिरामीको उपचार गराउनुभन्दा अघि यो भवनले धेरै विद्यार्थीका लागि ज्योति छर्‍यो । अर्थात यो अस्पताल भवनमा कुनै बेला स्कूलका लागि प्रयोग भएको थियो ।

स्व.लप्टन देवीप्रसाद प्रसाई तथा स्व.रामबाबु प्रसाई (खनुपरुदे) द्वारा नि:शुल्क रुपमा प्रदान गरिएको जग्गामा वि.सं. २०१८ सालमा हाङपाङ डिस्पेन्सरी(औषधालय) स्थापना भयो । उक्त जग्गामा पहिला देवी पब्लिक मिडिल स्कूल सञ्चालनमा थियो । उक्त स्कूल र राजेश्वरी मिडिल स्कूल वि.सं. २०१४ सालमा एकापसमा गाभिएर सरस्वती मिडिल स्कूलको रुपमा हाङपाङ ७ मा सञ्चालन हुन थालेपछि खाली रहेको उक्त जग्गामा डिस्पेन्सरी सारिएको थियो । पहिला डिस्पेन्सरी हाङपाङ –७ सञ्चालित थियो । वि.सं. २०१८ सालमा ढुंगामाटोको गारो, खरको छाना भएको सामान्य घरमा सञ्चालित डिस्पेन्सरी पछि स्तरोन्नति भई स्वास्थ्य चौकी, ईलाका स्वास्थ्य चौकी हुँदै अब चाँडै नै १० शैयाको अस्पतालमा रुपान्तरण हुने तरखरमा छ ।

उक्त डिस्पेन्सरीमा विभिन्न समयमा विभिन्न स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो । सबैको नाम त उल्लेख गर्न असमर्थ छु । मुक्तिनरसिं राजभण्डारी, हर्कबहादुर लिम्बू, ध्रुब राई, नवराज सुब्बा, यौवन प्रसाई, टेकराज कोइराला, मोहन शिवाकोटी, गणेशकुमार प्रसाई, सूर्यमान याक्सो, विष्णुकुमारी तामाङ, दिपेन्द्र शाह, इन्द्रनारायण यादव, घनश्याम साह,घनानाथ भट्टराई,टीका सेन्दाङ लगायत । उक्त स्वास्थ्य चौकीमा सेवा गर्ने स्वास्थ्यकर्मीहरु मध्ये एकजना स्वास्थ्यकर्मी जसलाई उक्त संस्था तथा संस्थाको सेवा क्षेत्र हाङपाङ लगायत फूलबारी, निघुरादिन, चाँगे, ढुंगेसाँघु साथै अन्य ठाउँका मानिसहरुले पनि कहिल्यै पनि बिर्सदैनन् । यो दुर्गम गाउँका धेरै मानिसका मनमा बस्न सफल अ.न.मी. विष्णुकुमारी तामाङ हुनुहुन्छ । यो गाउँका धेरैजनाले अहिले पनि उहाँलाई सिस्टर भनेर चिन्छन् ।

बिष्णुकुमारीको उपचार यात्रा खाँदबारी देखि हाङपाङसम्म

बुबा पेम्बा दोर्जे तामाङ र आमा देवीमाया तामाङकी छोरीको रुपमा वि.सं. २०१४ साल जेष्ठ ८ गतेका दिन पूर्वी नेपालको सुन्दर जिल्ला इलामको सूर्योदय नगरपालिका –५ (साविक समाल्बुङ गाविस ५) मा उहाँको जन्म भएको हो । वि.सं. २०३४ सालमा विराटनगरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ए.एन.एम. क्याम्पसबाट अ.न.मी. उतीर्ण गर्नुभई २१ वर्षको उमेरमा उहाँ स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको हो ।

वि.सं. २०३५ साल बैशाख १२ मा खाँदबारी अस्पताल संखुवासभाबाट अस्थायी रुपमा सेवा प्रवेश गर्नुभएको थियो । उक्त अस्पतालमा २ वर्ष सेवा गरेपछि वि.सं. २०३७ साल जेष्ठमा वहाँ फिक्कल स्वास्थ्य चौकी इलाममा सरुवा हुनुभयो । त्यसको एक वर्षपछि वि.सं. २०३८ साल साउन १६ मा स्थायी नियुक्ति भई हरैंचा स्वास्थ्य चौकी मोरङमा खटिनुभयो । उक्त स्वास्थ्य चौकीमा ५ वर्ष काम गरिसकेपछि वहाँलाई हिमाली जिल्ला ताप्लेजुङको थेचम्बू स्वास्थ्य चौकीमा सरुवा गरियो । स्थायी घर मोरङको हरैंचा हुनुभएकी वहाँ वि.सं. २०४५ साल माघ १८ गतेबाट हाङपाङ स्वास्थ्य चौकीमा अ.न.मी.को रुपमा यस भेगका जनताको उपचार गर्न पुग्नुभयो । त्यो समयमा हाङपाङ स्वास्थ्य चौकीको इन्चार्ज यौवन प्रसाईं हुनुहुन्थ्यो ।

यो मेरो पराई ठाउँ हो, म यहाँ जागीर खानको लागि मात्र आएकी हुँ अथवा मेरो कर्मक्षेत्र मात्र हो भन्ने कहिले पनि ठान्नुभएन । आफ्नै जन्मभूमि ठान्नुभयो, त्यहाँका सबैलाई माईति नै ठान्नु भयो ।

त्यसबेला उहाँको साथमा एकजना सानो छोरा पनि थिए विशाल । वहाँ स्वास्थ्य चौकी नजीकैको जिजूहाउसको दोश्रो घरमा बस्न थाल्नुभयो जुन घर मेरो घरभन्दा मास्तिर छ । उक्त जिजूहाउसको पहिलो घरमा चाहिँ हजूरआमा दिव्यरुपा प्रसाई बस्नुहुन्थ्यो । अब हामी छिमेकी भयौं । सुरुदेखि नै वहाँसँग म अति नै प्रभावित भएको थिएँ । आफ्नो पेशाप्रति अत्यन्तै लगनशील तथा ईमान्दार हुनुहुन्थ्यो उहाँ । अफिसको समय होस् वा अन्य समय उहाँ बिरामीहरुको सेवा र उपचारमा कुनै सम्झौता गर्नुहुुुुन्नथ्यो । बिरामीको उपचार र सेवा गर्नको लागि उहाँ बिहान, बेलुका, राती कुनै पनि समय तयार हुनुहुन्थ्यो । उहाँलाई झरी बादलले छेक्दैनथ्यो, चर्को घामले पनि पोल्दैनथ्यो । पोल्थ्यो त केवल समयमा नै बिरामीको उपचार गरेर उसको ज्यान बचाउन पाइयोस भन्ने कुराले । रातको १२-१ बजेतिर पनि कुनै मानिस बिरामी भएर आयो भने अथवा बिरामी जाँच्न अनि उपचार गर्नको लागि निकै टाढाबाट पनि वहाँलाई लिन आयो भने २-३ घण्टा सम्मको पैदल दुरीसम्म बिरामीको उपचार गर्नका लागि तुरुन्तै हिड्नुहुन्थ्यो ।

आफू बिरामी भएको बेलामा पनि बिरामी छु आज सक्दिन भनेर कहिल्यै भन्नु भएन उहाँले । भोकै हुँदा पनि भोकै छु अहिले गर्न सक्दिन भनेको कहिल्यै सुनिन मैले अथवा उहाँको मुखबाट नाइँ भन्ने शब्द सायद कसैले पनि सुन्नु परेन । साह्रै सरल, मिलनसार तथा मृदुभाषी । रिसाएको कहिले पनि देखिएन । जस्तै पीरमा पनि हाँसेर बोल्ने उहाँ । तिनै गुणहरुको कारणले नै उहाँ सबैकी प्रिय सिस्टर अनि धेरैजनाकी सिस्टर्नी दिदी भएर हाङपाङलाई आफ्नै जन्मभूमि ठानेर लामो समय यहाँका बासिन्दाको बिरामलाई उपचार गरेर बस्नुभयो ।

हाङपाङकी फ्लोरेन्स नाईटिंगेल


विश्व प्रसिद्ध नर्स फ्लोरेन्स नाइटिंगेलको कथा सुनियो, पढियो । बिरामीप्रतिको सेवाभाव तथा समर्पण अनि बिरामीलाई उनले गर्ने नि:स्वार्थ व्यवहार र मायाले गर्दा नै उनी विश्व इतिहासमा चर्चित हुन पुगेकी थिइन् क्यारे । वास्तवमा विष्णु दिदी पनि हाङपाङ लगायत सो क्षेत्रकी फ्लोरेन्स नाईटिंगेल नै हुनुहुन्थ्यो । मानिसको महानता उसका निस्वार्थ सेवाभाव तथा सद्गुणका आधारमा निर्धारण हुने गर्छ न कि धेरै धनसम्पति वा धेरै योग्यता । यो मेरो पराई ठाउँ हो, म यहाँ जागीर खानको लागि मात्र आएकी हुँ अथवा मेरो कर्मक्षेत्र मात्र हो भन्ने कहिले पनि ठान्नुभएन । आफ्नै जन्मभूमि ठान्नुभयो, त्यहाँका सबैलाई माईति नै ठान्नु भयो ।

उहाँ हाङपाङमा बस्दै जानुभयो, सेवा गर्दै जानुभयो । समय वित्दै गयो, सुरुमा जाँदा साथमा लानुभएको सानो छोरा हुर्कदैं, बढ्दै अनि त्यहीको विद्यालयमा पढ्दै गए । त्यहीबाट एस.एल.सी. उत्तीर्ण गरे । पछि अर्को छोरा विकल पनि जन्मे । उनी पनि त्यही हुर्के, बढे, पढे । जेठो छोरा विशालले त्यही विवाह पनि गरे । नातिनी जन्मिन् । सिस्टरको त्यही ३ पुस्ता भयो । उक्त स्वास्थ्य चौकीमा धेरै स्टाफहरु आए अनि छोटो समय काम गरेर सुविधा सम्पन्न ठाउँमा सरुवा मिलाएर गए पनि । तर सिस्टरले कहिले पनि मलाई यो ठाउँ अपायक भयो वा बस्न दिक्क लाग्यो । म पनि सरुवा मागेर आफ्नै घरपायक ठाउँमा वा अलिक सुविधा भएको ठाउँमा जानु पर्यो भनेको सुनिएन । सहज र सुविधा सम्पन्न ठाउँमा गएर बढी कमाउँ भन्ने सोच उहाँमा आए जस्तो लागेन मलाई । यसो हुनुको प्रमुख कारण थियो वहाँले हाङपाङलाई आफ्नै जन्मभूमि ठानेर गर्नुभएको माया र त्यहाँका मानिसहरुले उहाँलाई गरेको सम्मान, आदर अनि माया । हाङपाङलाई उहाँले पराई ठाउँ कहिल्यै ठान्नुभएन । त्यही दोहोरो मायाले नै उहाँलाई त्यस ठाउँमा अविचलित रही सेवा गर्नका लागि प्रोत्साहन गरे जस्तो लाग्यो मलाई । एउटा सरकारी जागिरेले आफ्नो ३२ वर्षको जागीरको दौरानमा घरबाट टाढा दूरदराजको एउटा गाउँको एउटै संस्थामा निरन्तर २२ वर्ष सम्म सेवा गरेको इतिहास सायद कमै होला । धेरै मानिसहरुलाई त उहाँ बाहिरबाट आउनुभएको कर्मचारी हुनुहोला भन्ने सम्म पनि थाहा थिएन । उहाँको जन्मस्थान अनि घर नै हाङपाङ हो भन्ने ठान्दथे ।

सिस्टर्नीको विदाइ


हाङपाङ र सोको आसपासका आम मानिसहरुको मनमन्दिरमा बस्न सफल सबैकी प्रिय सिस्टर अन्त्यमा आफ्नो घरायसी तथा व्यवहारिक समस्याको कारणले गर्दा वि.सं. २०६७ साल बैशाख १९ देखि आफ्नै घर पायकको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्र मोरङमा सरुवा हुनुभयो । २२ वर्ष सम्म सेवा गरेर आफ्नै घर मान्नुभएको हाङपाङलाई छोडेर जानु हुँदा उहाँ लगायत स्थानीय सबैको मन नरमाइलो भएको थियो । हामीले पनि त उहाँलाई नजानुस् दिदी भन्न सकेनौ नि । बल्लबल्ल आफ्नो घर पायकको ठाउँमा सरुवा भई जान लाग्नु भएकी सबैकी पृय दिदीलाई मन अमिलो बनाएर भए पनि विदा गर्नुपर्‍यो । जस्तोसुकै समस्या आइपरे पनि हाँसेर जित्ने दिदीले त्यो बेलामा आँखाबाट बलिन्द्र धारा आँसु झारेर रुनु भएको देखेर उहाँलाई बिदाई गर्न जम्मा भएका शुभचिन्तकहरुको आँखाबाट आँसु रोकिएनन् ।।

विष्णुकुमारीले जस्तै दुरदराजमा गएर डाक्टर नर्सहरुले उपचार गरिदिने हो भने ससाना रोगबाट अकालमा धेरै मानिसले ज्यान गुमाउनु पर्दैन । एउटा स्वास्थ्यकर्मीको लगानशिलता र जिम्मेवारीबोधले एउटा गाउँको स्वास्थ्य क्षेत्रमा कति फरक पर्दछ भन्ने उदाहरण हो विष्णुकुमारी ।

सबैकी प्रिय सिस्टर तपाईंको गुण हाङपाङवासी तथा हाङपाङ स्वास्थ्य चौकीको सेवाक्षेत्र भित्रका बासिन्दाहरुले कहिल्यै पनि बिर्सन सक्दैनन् । हाङपाङ लगायत सो क्षेत्रकी फ्लोरेन्स नाइटिंगेल तपाईलाई हार्दिक नमन ।