अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरू

बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरू


हेटौँडा–  खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७/७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।

कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी, आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको थियो । त्यसको कूल बजेट रु ६० करोड २९ लाख रहेकामा रु ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

यसअघि वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १८ वटा र आर्थिक वर्ष २०७६/७७ मा १५ वटा गरी कुल ३३ वटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएपछि सबै साधारणलाई सजिलो भएको छ ।

हेटौँडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको बताइएको छ । सो बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल रु एक करोड १५ लाखको लागतमा इनार निर्माण गरेको हो । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण सुरु भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकरी दिनुभयो ।

दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ ।