अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनबारे योगेश भट्टराईको समीक्षा– ‘एमालेको रेकर्ड एमालेले नै तोड्छ’

महाधिवेशनबारे योगेश भट्टराईको समीक्षा– ‘एमालेको रेकर्ड एमालेले नै तोड्छ’


काठमाडौं– नेकपा (एमाले)का सचिव योगेश भट्टराई मंगलबार पार्टीको १० औं महाधिवेशनको समीक्षाका लागि उभिनुभयो । केन्द्रीय प्रचार समिति तथा उपसमितिका सदस्यहरुसँगको समीक्षामा प्रस्तुत हुनुभएका भट्टराईले महाधिवेशनको सन्देश र निष्कर्षहरुबाट विस्तारमा परिचर्चा गर्नुभएको थियो ।

एमाले प्रचार विभागका प्रमुखसमेत रहनुभएका भट्टराई महाधिवेशनको सानदार उद्‍घाटनदेखि समापनसम्मका गतिविधिप्रति खुसी देखिनुहुन्थ्यो । उहाँ दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित समेत हुनुभएको थियो ।

भट्टराईले एमालेले महाधिवेशनबाट नयाँ रेकर्ड कायम गरेको जिकिर गर्नुभयो । ‘जनपरिचालनका दृष्टिले एमालेले १० औं महाधिवेशनमा जुन रेकर्ड राख्यो,’ भट्टराईको भनाइ थियो, ‘अरु कुनै पार्टीले त्यसलाई तोड्न सक्दैनन् । एमालेको रेकर्ड फेरि कसैले तोड्छ भने त्यो एमालेले नै तोड्छ ।’

नेपाली कांग्रेस र माओवादी केन्द्रले आसन्न महाधिवेशनको उदघाटनमा ठूलो सभा नगर्ने घोषणाप्रति भट्टराईले शंका गर्नुभयो । ‘शेरबहादुर देउवाले जनतालाई दुःख दिँदैनौं भन्नुभयो । कांग्रेसले घुम्टो लुकायो । लाज छोप्यो,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिलाई पनि त दुःख होला, उम्मेदवारका प्रचारकलाई दुःख होला, कसैलाई दुःख नदिइ सिधै नाम टाँसे भइहाल्यो नि ।’

भट्टराईले आम सर्वधारणदेखि सोसल मिडियामा महाधिवेशनबारे सकारात्मक प्रतिक्रिया आए पनि मूलधारका मिडिया निरन्तर एमालेप्रति नकारात्मक रहेको उल्लेख गर्नुभयो । ‘एमालेप्रति क्रिटिकल हुनुस्, म स्वागत गर्दछु,’ उहाँले भन्नुभयो, ‘तर कुखुरा–परेवा भुत्ल्याएजस्तो नांगेधार बनाउने काम भएको छ, एमालेजस्तो लोकतान्त्रिक पार्टीविरुद्ध नियोजितरुपमा लागेर सडकबाट कुन पार्टी ल्याउने हो बुझ्न सकेको छैन ।’

सचिव भट्टराईले तत्कालिन विद्रोही माओवादीलाई एमालेको पहलमा नै शान्तिप्रक्रियामा ल्याएको स्मरण गर्दै त्यसो नभएको भए आजसम्म नेपाल आन्तरिक द्वन्द्वमा नै रहने थियो भन्नुभयो । उहाँले एमालेले पनि केही करेक्सन गर्नुपर्छ भने गर्न तयार रहनेसमेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले मूलधारका मिडिया नियोजितरुपमा नकारात्मक रहेकाले उनीहरुको उपचार नै नभएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विष्णु रिजाल, केन्द्रीय प्रचार कमिटीका सचिव गगन विष्टलगायतले धारणा राख्नुभएको थियो ।

एमालेले महाधिवेशनका लागि केन्द्रमा केन्द्रीय प्रचार कमिटी र त्यस अन्तर्गत उपसमितिहरु गठन गरेको थियो भने चितवनमा प्रचार सहयोग कमिटी बनाएको थियो ।