काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको स्वरूपमा असाधारण परिवर्तन आएको बताएका छन्।
अध्यक्ष ओलीले लोकतन्त्रका जनक र रक्षक दाबी गर्नेहरूबाटै अलोकतान्त्रिक तथा षड्यन्त्रमूलक ढङ्गले सत्ता परिवर्तन गराउने गतिविधि भइरहेको आरोप लगाए।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)को वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्व राजनीतिमा भइरहेको हस्तक्षेप र सत्ता परिवर्तनका घटनाबारे गम्भीर अध्ययन तथा अनुसन्धान हुनुपर्ने बताए।
‘ग्लोबल पोलिटिक्समा हेर्नुपर्ने कुरा के हो भने इन्टरफेरेन्स फरक गहिराइको छ। राष्ट्रहरूमाथिको एक्सप्लोइटेसन, इन्टरफेरेन्स फरक लेभलको छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले सरकार उल्टाउने, हटाउने र नयाँ सरकार स्थापना गर्ने गतिविधि पहिलेजस्तो नभएको टिप्पणी गरे। लोकतन्त्रका जनक र रक्षक भन्नेहरूले नै अलोकतान्त्रिक तथा षड्यन्त्रमूलक तरिकाबाट सत्ता परिवर्तन गराउने र आफ्ना अनुकूलका सरकार स्थापना गर्ने गरेको उनको आरोप थियो।
‘सरकार उल्टाउने, फाल्ने र जडान गर्ने पहिलाजस्तो डेमोक्रेसीका जनक हौँ भन्नेहरू र रक्षक हौँ भन्नेहरूले नै अनडेमोक्रेटिक तरिकाबाट षड्यन्त्रमूलक ढङ्गले सत्ता परिवर्तन गराउँछन् र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्छन्, जसको रिसर्च हुनुपर्छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले यस्तो हस्तक्षेपको प्रभाव नेपालमा मात्र सीमित नभई अन्य देशमा समेत देखिएको बताए। लोकतन्त्रको व्यापक अभ्यास र समावेशिताको कुरा भइरहे पनि लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
‘हामी कम्प्रिहेन्सिभ डेमोक्रेसी भनिरहेका छौँ। यहाँ त डेमोक्रेसी नै कता पुग्यो, केको कम्प्रिहेन्सिभ डेमोक्रेसी ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘अनडेमोक्रेटिक ढङ्गले हुत्त्याउने। अति पपुलर मान्छेलाई रातारात अनपपुलर बनाइदिन्छन्।’
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियोको प्रसङ्गसमेत उल्लेख गर्दै व्यक्तिलाई रातारात लोकप्रिय बनाउने वा अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको टिप्पणी गरे।
‘रातारात हिरो बनाइदिन्छ। खोतल्ने हो भने यहाँ कति हिरो छन्। यो ट्रेन्ड बहुत खतरनाक छ। यस्तो अरू देशमा पनि भइरहेको छ,’ उनले भने।
यस्ता गतिविधिले विश्व व्यवस्थामै असर पारेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सबैभन्दा ठूलो मार नेपालजस्ता देशले व्यहोर्नुपर्ने बताए।
‘यसैका कारण विश्व व्यवस्था नै ध्वस्त भयो। ध्वस्त हुँदा सबैभन्दा बढी हामीजस्ता देशलाई मार पर्छ,’ उनले भने।
कार्यक्रममा सार्वजनिक गरिएको इन्स्पायरको वेबसाइटमार्फत नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीको अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको उद्देश्य रहेको एमाले नेताहरूले बताएका छन्।



प्रतिक्रिया