अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव



जनकपुर- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउनुभयो ।

“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भन्नुभयो, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउनुहुँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताउनुभयो ।

मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौँदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताउनुभयो । “मधेश आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेश प्रदेश स्थापना भएको छ”, मन्त्री यादवले भन्नुभयो, “हामीले मधेश प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेश आन्दोलन र सहिदप्रति सम्मान भएको छ ।”

मधेश आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्नुहुँदै जसपाका नेत्रीसमेत रहनुभएका मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गर्नुभयो ।