अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा नेता गौतमको निधनप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा नेता गौतमको निधनप्रति दुःख व्यक्त


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेकाे शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गरेका छन् ।

विसं २००२ मा गुल्मीको थोर्गामा जन्मनुभएका गौतमले विसं २०२३ मा बनारसमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। उनले बाँके र नेपालगन्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएका गौतम बाँके क्षेत्रको कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित थिए ।

पुष्पलालले पार्टी पुनर्गठन गरेपछिको समयदेखि नेकपा (मनमोहन समूह), नेकपा (मार्क्सवादी) हुँदै पार्टी एकीकरणपछि उनी आजीवन एमालेमा आबद्ध रहेका थिए । विसं २०७४ को निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।