काठमाडौँ-बडादसैँको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेका आफन्त र परिवारजनले आज पनि एकअर्काको घरमा पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम जारी राखेका छन्।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँलाई परिवारका सदस्य तथा लामो समयदेखि भेटघाट हुन नसकेका आफन्तबीच पुनर्मिलन हुने विशेष अवसरका रूपमा पनि लिने गरिन्छ।
मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ।
टीका लगाउन तथा आफन्तसँग भेटघाट गर्न जाने सर्वसाधारणको चहलपहलका कारण सहरका सडक र बजारमा आवागमन बढेको छ। दसैँ मनाउन सहर तथा सदरमुकामबाट गाउँघर पुगेकाहरू आ–आफ्नो कार्यस्थल र गन्तव्यतर्फ फर्कन थालेसँगै फर्किने यात्रुको चहलपहलसमेत बढ्न थालेको छ।



प्रतिक्रिया