अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’


काठमाडौँ – फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् ।

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिनु भयो ।

अहिलेको चलिरहेको अस्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘अस्ट्रेलियामा निरन्तर कार्यक्रम गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘लामो समयपछि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अस्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

‘चिसो एस्ट्रे’ ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अस्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताउनु भयो ।

‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अस्ट्रेलियाको सिड्नीबाहेक  एडिलेड र तास्मानियामा पनि आफ्नै अफिस छ । फाउन्डेसनमार्फत अस्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ,’ महेशबाबुले भन्नुभयो, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदैछौँ । यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो।’

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरणपछि राम्रो चर्चा पाइरहेको छ। फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको बताइएको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रवीन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना,  नवीन ढुंगाना र सुजन खतिवडा छन् ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रवीन तामाङ आदि कलाकारको अभिनय छ । फिल्म ४ चैत अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।

Skip This