झापा- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले अब त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। नेपाल पब्लिक क्याम्पस सङ्घ कोशी प्रदेश सुकुना बहुमुखी क्याम्पसमा आयोजना गरेको एउटा छलफल कार्यक्रममा उपकुलपति थापाले उक्त कुरा जानकारी गराउनुभएको हो। उक्त कार्यक्रममा बोल्दै उपकुलपति थापाले त्रिभुवन विश्वविद्यालयको विद्यमान पाठ्यक्रम, शिक्षण प्रणाली र परीक्षा जस्ता विषयमा देखिएका समस्याहरू समाधान गर्न आफू लागि परेको बताउनुभयो। उक्त कार्यक्रममा उपकुलपति थापाले सामुदायिक क्याम्पसका समस्याहरूलाई न्यायोचित सम्बोधन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलले समय सापेक्ष परीक्षा प्रणालीमा सुधार गर्न बाँकी रहेको जानकारी गराउँदै परीक्षा सञ्चालन, उत्तरपुस्तिका र नतिजा प्रकाशनमा सामुदायिक क्याम्पसले गरेको सहयोगको प्रशंसा समेत गर्नुभयो। पौडेलले विद्यमान परीक्षा प्रणाली र परीक्षाका बारेमा देखिएका सम्पूर्ण समस्याहरू हल गर्न र त्रिभुवन विश्वविद्यालयको साखलाई बचाउन आफूहरू लागि परेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयका परीक्षासँग सम्बन्धित समस्याहरू सबैसँग मिलेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख सह(नियन्त्रक प्रा। डा। गोविन्द गुरागाईको समेत सहभागिता रहेको थियो ।
कोशी प्रदेश अन्तर्गतका तीनवटा आङ्गिक क्याम्पसहरू महेन्द्र मोरङ क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस भद्रपुर र नर्सिङ क्याम्पस विराटनगर र मेची, कोशी र सगरमाथा जिल्लाका २० भन्दा बढी सामुदायिक क्याम्पसहरूको सहभागितामा हिजो मोरङको सुन्दर हरैचा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा, पाठ्यक्रम, शिक्षण सिकाई, परीक्षा प्रणाली र लगायतका विविध समस्या र विषयहरूमा घनिभूत छलफल भएको छ। यसको साथै विषय थप, सामुदायिक क्याम्पसका शिक्षक कर्मचारीको स्तरोन्नति लगायतका सामुदायिक क्याम्पसका आन्तरिक समस्याहरूको बारेमा समेत खुलेरै घनिभूत छलफल भयो। सबै क्याम्पस प्रमुखहरूले र प्राध्यापक संघको नेतृत्वमा रहनुभएका सर म्याडमहरुले विश्वविद्यालयको सुधारका लागि विभिन्न प्रकारका सुझावहरु राख्नुभएको छ। सुझावहरूलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति थापाले विश्वविद्यालयको सुधारका लागि आफूले सक्ने सबै काम कुनै कसरत बाँकी नराखी लागिपर्ने र गर्ने बताउनुभयो ।
कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंले सामुदायिक क्याम्पसहरूलाई सहयोग गर्दा राज्यले बेरुजु निकाल्ने गरेको तर्फ ध्यान आकृष्ट गर्दै यस्ता प्रकारका नीतिगत कुरालाई सुधार गर्न त्रिभुवन विश्वविद्यालयले लाग्नुपर्ने र कानुनमा सम्बोधन गराउनुपर्ने कुरामा जोड दिनुभयो । सामुदायिक क्याम्पसका आन्तरिक समस्याहरूको बारेमा आफूले नजिकबाट बुझेको र समुदायको विकासका लागि उल्लेखनीय योगदान गर्ने यस्ता क्याम्पसहरूको सुरक्षा र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व समेत रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय सदस्य तथा सामुदायिक क्याम्पसका शिक्षक कर्मचारीको स्तर निर्धारण समितिका सदस्य समेत रहनुभएका दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरीले सामुदायिक क्याम्पसका विभिन्न समस्याहरूको बारेमा अवगत गराउँदै विषय थपलाई विशेष प्राथमिकता दिनुपर्ने, सामुदायिक क्याम्पसका शिक्षक कर्मचारीहरूको यथाशाक्य छिटो निर्धारण गरिदिनुपर्ने लगायतका सामुदायिक क्याम्पसका समस्या र गुनासाहरूको बारेमा अवगत गराउनुभयो।कार्यक्रमको सञ्चालन नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य, कोशी प्रदेश अध्यक्ष सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य तथा कन्काई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विकास, नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय लेखा समिति सदस्य संयोजक सावित्रा दाहाल भट्टराई, महेन्द्र क्याम्पस विराटनगरका क्याम्पस प्रमुख, मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, सनिश्चरे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लगायत एक दर्जन बढी क्याम्पस क्याम्पस प्रमुखहरूले आफ्ना आन्तरिक समस्या र गुनासा तथा सुझावहरू राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले दीक्षान्त समारोहको प्रदेश स्तरीय तयारीको स्वागत समेत गरेका थिए।
सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक क्याम्पसका समस्या समाधानका उपाय र भावी योजनाको विषयमा गहन छलफल भएको थियो। सँगसँगै त्रिभुवन विश्वविद्यालयको सुधारका लागि सबै पक्ष मिलेर समस्याको समाधान गर्नुपर्ने निष्कर्ष सहित कार्यक्रम करिब अढाई घण्टासम्म सञ्चालनमा रहेको थियो। सबै सहभागीहरूले राख्नुभएका गुनासा र सुझावहरूलाई उपकुलपति थापा र परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले ध्यानपूर्वक सुनेर सुझावहरु ग्रहण गर्दै र जिज्ञासाको उत्तर समेत दिनुभएको थियो।


प्रतिक्रिया