रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका १ हजार ३४४ शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन्। यस्तै, ५०१ वटा आंशिक शव फेला परेका छन्। ती शवको पहिचान हुन बाँकी छ।
बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक छन्। बेपत्ता नेपालीमा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्। थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक छन्। यस्तै, विस्थापित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
खोज तथा उद्धारका लागि ७ हजार २१२ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारी बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये १ हजार ३० वटा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। मृतकको पहिचानका लागि डीएनए नमुना संकलनलाई पनि तीव्र पारिएको छ।
हालसम्म १ हजार २६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया