कञ्चनपुर – विकास निर्माणमा भीमदत्त अब्बल नगरपालिकाका रुपमा परिचित भएको छ ।
सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा नगरपालिकाले हरेक वडावडामा कार्यालय भवन निर्माण, कालोपत्र सडक, आधुनिक सडक निर्माणको कार्यसँगै नयाँ सडक निर्माणमा जोड दिएको छ । नगरपालिकाले उत्तरतर्फ चुरे फेदीमा धार्मिक पर्यटन मार्ग र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटकीय मार्ग निर्माण गरेको छ । जसको लम्बाइ ८१ किलोमिटर रहेको छ । पर्यटकीय मार्गसँगै यो मार्ग नगरको बाहिरी चक्रपथका रुपमा समेत रहेको नगरप्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो ।
‘नगरपालिकाका १९ वटै वडालाई जोड्ने गरी सडकमार्ग निर्माणमा जोड दिएका छौँ’, उहाँले भन्नुभयो, ‘यसबाट नगरवासीको दिनचर्या समेत फेरिएको छ । सबै वडा सडक मार्गसँग जोडिएका छन् ।’ उहाँका अनुसार पछिल्लो चार वर्षको अवधिमा नगरपालिकामा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । १७ किलोमिटर नयाँ सडक निर्माण भएको छ । पाँच किलोमिटर पदमार्ग निर्माणसँगै २४७ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
चुरे फेदीमा २० देखि २२ मिटर चौडाइको २९ किलोमिटर धार्मिक पर्यटन मार्ग र पाँच किलोमिटर बढी शुक्लाफाँटा पर्यटन मार्ग निर्माण भएको छ । जुन नगरपालिकाको सबैभन्दा ठूलो र बाहिरी चक्रपथको योजना हो । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले लगानी साझेदारीसँगै ठूलो पहल गरेको छ । तीनवटै सरकारको लगानी साझेदारीमा विमानस्थलको पुनः निर्माण कार्य अघि बढेको छ ।
एसियाली विकास बैंकको ग्रामीण सहरी विकास कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । जसबाट महेन्द्रनगर बजारका गल्लीहरू १० मिटर र मुख्य सडकहरू २० देखि ३० मिटरसम्म चौडा हुनेछन् । सडकको दुवैतर्फ साइकल लेन, फुटपाथदेखि वृक्षरोपणसमेत गरिनेछ । त्यस्तै, एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सके थप २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । तर यसका लागि पहिलो सर्त फोहोरमैला व्यवस्थापन केन्द्र नै छ । करिब तीन अर्ब बजेट रहेको कार्यक्रममा फोहोरमैला व्यवस्थापन केन्द्रका लागि मात्रै रु ६० करोड छुट्याइएको छ । बाँकी रकम सडक स्तरोन्नतिमा खर्च गरिनेछ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके बाँकी रकम फिर्ता जानेछ ।
यसअघि पनि बजार क्षेत्रमै सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाको विभिन्न क्षेत्रमा ४० किलोमटर सडक कालोपत्र तथा स्तरोन्नति भएको छ । नगरकै सबैभन्दा दुर्गम मानिने वडा नं ९ को खल्ला मुसेट्टीसम्मै सडक, विद्युत् र टेलिफोन सेवा सञ्चालनमा आएको छ । नगरपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ । जसमा अधिकांश सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । त्यस्तै नगरपालिकाले करिब १६ करोडको लागतमा मुख्य प्रशासनिक भवन पनि निर्माण भइरहेको छ ।
नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा वातारणमैत्री पालिका निर्माण गर्ने उद्देश्यका साथ भीमदत्त–१८ मा इको खुला जिमसहित इको पार्क र अन्य वडामा उद्यान निर्माण गरेको नगरप्रमुख बिष्टको भनाइ छ । चालु आर्थिक वर्षमा पनि उपभोक्ता समितिमार्फत एक सयभन्दा बढी र ठेक्कामार्फत नौवटा योजनाहरूमा सम्झौता भएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाको १९ वटै वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा आधारभूत स्वास्थ्य सेवाका लागि पनि भौतिक पूर्वाधार निर्माणसँगै सञ्चालन गरिएको छ । ज्येष्ठ तथा अपाङ्गता भएका र एकल महिलालाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिएको छ ।
नगरपालिकाले महेन्द्रनगरमा प्राविधिक शिक्षा अध्ययन गर्न महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । पर्यटन विकासका लागि झिलमिला र बाह्रकुण्डा तालहरूको संरक्षणको कार्य गरिएको छ । महाकाली नदीको बहुउपयोग गर्ने नीतिअनुरूप भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीमा ¥याफ्टिङको सफल परीक्षण गरिएको छ । उक्त क्षेत्रमा भरतीय पक्षले यसअघि नै ¥याफ्टिङ सञ्चालनमा ल्याएको छ । सरकारले अनुमति नदिँदा नेपाल तर्फबाट ¥याफ्टिङ सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया