कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका निरक्षर अवस्थामा रहेका दुई हजार २८८ जनामध्ये दुई हजार १७८ (९५ दशमलव ५४ प्रतिशत) व्यक्तिलाई साक्षर बनाइएपछि नगरपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको हो ।
नगरपालिकामा अब ४ दशमलव ४६ प्रतिशत व्यक्तिहरु मात्रै निरक्षर रहेका छन् । निरक्षर अवस्थामा रहेका व्यक्तिहरुको पहिचान गरी नगरपालिकाले कार्यक्रम सञ्चालन गरी पूर्ण रुपमा साक्षर बनाउने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । उहाँका अनुसार साक्षर नेपाल कार्यक्रमअन्तर्गत नगरपालिकाका १२ वटै वडामा ९० वटा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाउने कार्य गरिएको थियो ।
वडा नं १ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई, वडा नं ७ मा १६, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा ६, वडा नं ११ मा नौ र वडा नं १२ मा २९ वटा साक्षरता कक्षा सञ्चालन भएका हुन् । साक्षरता कक्षा सञ्चालनका लागि सहजकर्ताको तलब, शैक्षिक सामग्री खरिद, मसलन्द खरिद, कार्यालय व्यवस्थापन खर्च गरी रु २० लाख बजेट परिचालन गरिएको थियो।
शिक्षा इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख पदमराज कलौनीका अनुसार जिल्लामा हालसम्म शुक्लाफाँटा नगरपालिकासहित बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएका छन् । “अन्य स्थानीय तहले साक्षर नगर घोषणाका लागि तयारी गरेका छन्,” उहाँले भन्नुभयो, “केही अन्तिम तयारीमा रहेका छन् ।”
चालु आवभित्रै कञ्चनपुर जिल्लालाई नै साक्षर जिल्ला घोषणाका लागि तयारी भइरहेको छ । यसका लागि साक्षर घोषणा नभएका पालिकाहरुले सहयोग गर्नुपर्छ । “साक्षरता सिकाइका लागि साक्षरता अभियानको स्थानीय व्यवस्थापन, सहकर्ताको व्यवस्था र सहभागीको अनुकूलताअनुसार समुदायमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी परिचालन गरिएको थियो,” नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “यसका अतिरिक्त समुदायका निरक्षरहरुलाई समूहको पहलमा साक्षर गराउने कार्य गरिएको थियो ।”
उहाँका अनुसार आफ्नो परिवारमा रहेका निरक्षर व्यक्तिहरुलाई परिवारकै साक्षर व्यक्तिको पहलमा साक्षर गराउने कार्यसँगै कक्षागत प्रणालीबाट सहजकर्ता परिचालन गरी निरक्षरलाई साक्षर गराइएको छ । “कोभिड–१९ को सङ्क्रमणका बाबजुदसमेत निर्धारित स्वास्थ्य मापदण्ड अपनाई साक्षरताका कक्षा सञ्चालन गरी निरक्षरहरुलाई साक्षर गराउनका लागि कार्य अगाडि बढाएका थियौँ,” उहाँले भन्नुभयो, “यसका लागि जनसामुदायिक सिकाइ केन्द्र र मालिका सिकाइ केन्द्रको अहम् भूमिका रहेको छ ।”
प्रतिक्रिया