अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पहिला वडाध्यक्ष माग्न जाँदा उपमेयर पाएँ, अहिले दोहोरिन चाहन्छु’

‘पहिला वडाध्यक्ष माग्न जाँदा उपमेयर पाएँ, अहिले दोहोरिन चाहन्छु’


म जन्मिएको रसुवामा हो । सामुदायिक वनमा मैले लगभग १५ वर्ष काम गरें । सामुदायिक वनमा आबद्ध हुँदा म कीर्तिपुरमा नै बस्थेँ । यहाँ चम्पादेवी सामुदायिक वन छ । यहाँको गाउँ टोलमा मलाई चिन्दा एउटा पढे लेखेको बुहारीको रुपमा चिन्छन् । मैले स्नातक पास गरेकी छु । सामुदायिक बनमा आवद्धहरुलाई सबैलाई त्यतीबेला माइन्युट लेख्न पनि आउने कुरा थिएन र मैले लेख्ने गर्दथेँ । म त्यति बेला सचिव थिइन तर पनि सचिवको भूमिकाको रुपमा काम गरें । यो २०६० पछिको कुरा हो । पछि रेन्जपोष्ट महासंघ भनेर गठन भयो । रेन्जपोष्ट महासंघमा ११ वटा सामुदायिक वन हेर्नेगरी थियो । त्यसमा पनि मैले सचिवकै भूमिकामा काम गरें । सामुदायिक वनमा रहँदा मलाई के लाग्थ्यो भने–हामी जीविकोपार्जनमा पनि जोडिनु पर्छ, जनताका भावना, मर्मअनुसार हुनुपर्छ भन्ने लाग्यो । जल, जंगलको मालिक जनता नै हुनुपर्छ र त्यो अधिकारको सुनिश्चितता हुनुपर्छ भन्ने कुराको उठान गर्दागर्दै पछि म काठमाडौं जिल्ला कमिटीको सदस्य भए । मैले प्रशिक्षक प्रशिक्षण तालिम पनि लिए । त्यसपछि केही ठाउँहरुमा पनि जाने र अनुभव साटासाट गर्ने अवसर पनि प्राप्त भयो ।
म कीर्तिपुर नगरपालिकाको उपप्रमुख हुँदा (सामुदायिक वन) फेकोफन जिल्लामा आबद्ध थिए र आफ्नो व्यवसाय पनि चलाइरहेको थिए । मलाई राजनीतिलाई पेशा बनाउनु हुँदैन भन्ने मान्यता छ र अहिले पनि त्यो कायम छ । त्यही भएर काम सानो काम गर्नुपर्छ । काम सानो ठूलो हुँदैन भन्ने लाग्छ । मेरो फेन्सी पसल महाबौद्ध र भृकुटी मण्डपमा पनि दुईवटा पसल छन् ।

बुवाले मलाई स्कूल पढाइदिएका कारण राजनीतिक जीवन सुरु भयो
मेरो राजनीतिक यात्रा भनेको मैले ६ कक्षा पढ्दादेखि सुरु भयो । रसुवाको विकट ठाउँमा त्यतिबेला छोरीहरुलाई पढाउने चलन थिएन । मेरो गाउँबाट पढेको मेरो दिदी र म अनि अरु दुईजना दाइहरु हुनुहुन्थ्यो । हामी जम्मा ४ जना मात्र पढ्न जान्थ्यौं । कक्षा पाँचसम्म पढ्न आधा घन्टा हिँड्नु पर्दथ्यो । त्यहाँ पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा ६ मा पढ्न दुई घन्टाको बाटो हिँड्नु पर्दथ्यो ।
त्यतिबेला मलाई लाग्थ्यो समाज परिवर्तन गर्नुपर्छ । जुन जटिलता मैले देखेको थिएँ–शिक्षाका लागि जटिलता, स्वास्थ्यका लागि जटिलता, महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी जटिलता, महिलाहरु माथिको विभेद र असमानता थियो । मलाई त्यो कुरा पट्क्कै चित्त बुझ्दैन्थ्यो । तर, यो कसले गर्ने र कसले गर्न सक्छ भन्दा कम्युनिष्टले गर्न सक्छ भन्ने लाग्यो । त्यसपछि म एमाले निकट अनेरास्ववियुमा आबद्ध भंए । पछि रसुवा जिल्लाको अनेरास्ववियुमा आबद्ध हुँदै १० कक्षामा पुग्दा दक्षिण भेगीय इलाकाको कोषाध्यक्ष भए । त्यसपछि मैले एसएलसी दिए र पास पनि भए । २०५५ सालमा म प्रविणता प्रमाण पत्र तह पढ्न काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा आएँ । मैले सामाजिक शास्त्र र राजनीतिक शास्त्र विषय लिएर पढेँ । म अनेरास्ववियुमा आबद्ध रहेँ, त्यति धेरै सक्रिय भइन ।

विवाहपछि अनेम संघ
मेरो विवाह २०५५ मा र्कीतिपुरमा भयो । कीर्तिपुरको बुहारी भएपछि म गाउँ टोल हुँदै अनेमसंघमा आबद्ध भएँ । मेरो विवाह सानै उमेरमा भएको थियो । मेरो बिवाह पूर्ण रुपमा मागी पनि होइन र पूर्णरुपमा प्रेम बिवाह पनि थिएन । घर परिवारको सहमतिमा भएको थियो । मेरो श्रीमान त्यतिबेला रसुवा जिल्ला सिंचाइमा जागिर गर्नु हुन्थ्यो ।

वडाध्यक्ष दाबी गरेको उपमेयर पाएँ
म उपप्रमुख हुँदा पार्टीको नगर कमिटीमा आबद्ध थिएँ र अनेमसंघको १० नम्बर क्षेत्रको क्षेत्रीय सदस्य पनि थिए । स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्छ भन्ने थियो । म जुन वडामा थिए, त्यो वडामा उम्मेद्वार छनोटमा अलिक विवाद जस्तो भएको थियो । त्यतिबेला मलाई लाग्यो पुरुषहरु यत्रो विवाद गरेर गर्ने, महिलाहरु चाहिँ हुन नपाउने ? महिला किन हुन नपाउने भनेर मलाई वडा अध्यक्ष दिनुस् भन्न गएको थिंए । म वडा अध्यक्षमा उठ्छु भनेर दावी गर्न गएको थिएँ । पछि होइन उपप्रमुखमा हुनुहोस् भन्ने कुरा आयो । त्यतिबेला ८–९ जनाको दावी थियो उपमेयरमा । पार्टीले मप्रति गरेको विश्वासले होला भन्ने लाग्छ । उपमेयरमा चुनाव लड्ने निर्धारण तत्कालै भयो । पहिले नै हाम्रो पार्टीले घोषणा गरेको थियो । त्यसपछि कंग्रेस र माओवादीले उम्मेद्वार छनोट गरे । उनीहरुले उम्मेद्वार पनि मेरै वडाबाट पठाएका थिए । त्यतिबेला मैले राजनीतिक दललाई धन्यवाद पनि दिएको थिए–कम्तिमा उपमेयर मेरो ठाउँले पाउने भयो भनेर । मेरो लडाइँ निर्वाचनमा वडामै रह्यो ।
विद्यार्थी जीवन बाहेक पहिलो पल्ट नै हो मैले चुनाव लडेको । पहिले विद्यार्थी जीवनमा अनेरास्ववियुमा चुनाव लडेको थिए र कोषाध्यक्ष चलाएको थिए रसुवाको दक्षिण भेगको । पहिलेको र अहिलेको परिस्थिति धेरै फरक छ ।
उपप्रमुखको निर्वाचनमा ८÷९ दिन जति राम्ररी खटेँ । छोटो समयमा भयो, त्यो राम्रो पक्ष पनि हो । मलाई त्यतिबेला भाषाको समस्या थियो । अहिले मैले भाषा बुझ्छु । र्कीतिपुरको बुहारी भएपनि नेपाल भाषा मैले बुझ्दििन्थे । अहिले भाषा बुझेर सजिलो पनि भएको छ र नेपाल भाषामा सम्बोधन गर्न सक्ने पनि भएको छु । अहिलेको मलाई सहज भएको छ ।
मैले उपप्रमुखमा ७ सय तलमाथिको भोटको अन्तरले कांग्रेसलाई पराजित गरेँ । विजयीको नतिजा हुँदै गर्दा मलाई के लाग्यो भने, यो मेरा लागि ठूलो अवसर हो तर चुनौती पनि थुप्रै छन् भन्ने मलाई अनुभूति भएको थियो । जिम्मेवारी पनि छ, चुनौती पनि छ तर मेरा लागि यो ठूलो अवसर पनि हो भन्ने लाग्यो । त्यसपछि अवसरको रुपमा लिएर मैले काम गरेँ । मैले सिक्ने र अनुभव प्राप्त गर्ने समय हो भन्ने लाग्यो । अहिले मेरो पाँच वर्षको कार्यकालमा धेरै अनुभवहरु मैले लिएँ ।

सम्बन्धमा खटपट भएर आउनेलाई भरसक अदालतको बाटो देखाइनँ
म उपप्रखुको कुर्सीमा बसेपछि महिलासम्बन्धी एउटा जटिल मुद्दा थियो । जसमा श्रीमान इन्जिनियर श्रीमती नर्स । उहाँहरु बीचमा एकले अर्कालाई आरोप लगाउनु हुन्थ्यो तर वास्तविकता फरक हुनसक्छ । मलाई त्यो विषयमा छोएको कुरा चाहिँ श्रीमानले कुरा राख्दा श्रीमती चुप्प लागेर सुनेर बस्ने । तर जब श्रीमतीले कुरा राख्ने बेला हुन्छ, पुरुष चाहिँ ठूलो ठूलो आवाजले बोलेर सुन्नै दिँदैन । उ झम्टिएर कुट्न जाने खालको आवेशमा आउथ्यो । त्यो मलाई चित्त बुझेन । यस्तो पनि हुन्छ ? महिलाहरु माथि विभेद हुनुपर्ने ? पछि उनीहरु सम्बन्ध विच्छेदमा पुगे । मैले त्यो बहिनीलाई के भनेको थिए भने– अदालतमा सम्बन्ध विच्छेद गर्न जाँदा तपाईंले पाउने अधिकार र प्राप्त गर्ने कुरा नछोड्नुस् भनेको थिए । महिलाको कानून अनुसार तपाईंले जे पाउनु हुन्छ, त्यो नछोड्नुस् भनेको थिए । यो कुराले मलाई साह्रै पीडा दिएको थियो । यो २०७५ सालको कुरा हो । मैले सकभर सम्बन्धमा खटपट भएकाहरुलाई अदालतको बाटो देखाइनँ । उनीहरुको फाँटेको मन सिलाउने काम गरेँ । धेरै फाँटेका मनहरुलाई सिलाएर पठाएका छौं ।
अर्को घटना एक जना महिला हुनुहुन्थ्यो, उहाँका छोरीहरु छन्, श्रीमान पनि हुनुहुन्छ । सम्पति आफ्नो नाममा छ । उहाँले म श्रीमानलाई छोड्दिन्छु, श्रीमानका लागि छोरीहरु पनि छोड्दिन्छु भन्नुभयो । सम्बन्ध विच्छेद गरेर म एक्लै बस्छु भनेर आउनु भएको थियो । उहाँसँग म ५÷७ पटक नै बसेँ । त्यसपछि मैले सल्लाह दिएँ र उहाँको मन बुझ्यो । त्यसपछि म श्रीमानसँग बस्छु र छोरीहरुलाई पनि छोड्दिन भन्नेमा पुग्नु भयो । महिलाहरुले पुरुषहरुलाई पनि छोड्छु भन्ने घटनाहरु पनि छन् । ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको त झन धेरै छन् ।
अर्को घटना हेर्दा र सुन्दा पनि भावुक हुने खालको थियो । उहाँहरु दलित समुदायको हो । आर्थिक अवस्था एकदम कमजोर भयो भनेपछि आपूm बस्ने घर नै बेच्नुहुन्छ । घर बेचेपछि उहाँ घरवारविहीन अवस्थामा हुनुहुन्छ । टहरो बनाएर बस्ने खालको वातावरण बन्छ । उहाँहरु जुन जग्गामा बस्नु भएको छ, त्यहाँ अर्को घर बनाउँदा जाँदा टहरो हटाउनु पर्ने हुन्छ । जग्गा किनिसकेको मान्छेले त्यहाँ बस्न नदिदा मैले एउटा टहरो बनाइदिनुस् भनेँ । त्यो भएको छ । हामीले गरेको निर्णयले उहाँहरुलाई लाखौं रुपैया प्राप्त गर्न सक्ने पनि हुनुभएको छ । उहाँहरुको गुमेको सम्पति पनि फिर्ता भएका छन् ।

मेरा सेवाग्राही पुरुष भन्दा महिला बढी
मैले सुन्छु मेयरलाई प्राथमिकता दिन्छन्, उपमेयरलाई दिँदैनन् भन्ने । तर, मैले त्यस्तो अनुभव कहिल्यै पनि गरिनँ । मलाई त्यस्तो किन भएन थाहा छैन । मलाई जनताले के भन्नु हुन्छ भन्दा–तपाईंसँग कुरा गर्दा एकदमै सजिलो लाग्छ भनेर । कीर्तिपुरमा नेवारी बाहुल्यता छ तरपनि उहाँहरुले तपाईंसँग कुरा गर्न एकदमै सजिलो लाग्छ भन्नु हुन्छ । मेयर साव्लाई सजिलै भन्दा पनि हुन्थ्यो भन्ने लाग्छ तर मलाई उहाँहरु मेयर साव्लाई भन्दिनुस् न है भन्न आउनु हुन्छ । महिला पुरुष दुवै आउनु हुन्छ । मैले आफ्नो कुरा राख्नुस् के छ समस्या भनेर सोध्छु, त्यो सहज भएर पनि हो कि ! मेरो सेवाग्राही तुलनात्मक रुपमा पुरुष भन्दा महिला बढी हुनुहुन्छ । त्यस्तै ज्येष्ठ नागरिक पनि हुनुहुन्छ ।

अनुकरणीय अनुगमन
अनुगमनको सन्दर्भमा र्कीतिपुरको अनुभव देशभरि काम लाग्न पनि सक्छ । हामीलाई प्राविधिक रुपमा धेरै थाहा हुने कुरा भएन । सडक बन्यो भनेपछि गाडी हिँडेपछि थाहा हुने हो । धारा बन्यो भनेपछि पानी आएपछि हो । सिंचाइ कुलो बन्यो भन्दा पानी बगेपछि मात्रै हामीले देख्ने हो । वरिष्ठ इन्जिनियर, र प्रमुख प्रशासकीय अधिकृतलाई पनि त्यो खालको ज्ञान नहुने । त्यसपछि वडा वडाबाट मूल्याङ्कन भएर आउने कामको अनुगमनका लागि एक जना इन्जिनियर लियौं । उहाँ निजामतीकै हुनुहुन्छ । उहाँले मूल्याङ्कन गरेर प्राविधिक रुपमा ठीक छ भनेपछि मात्रै मैले हस्ताक्षर गर्छु । उदाहरणीय के छ भन्दा हाम्रोमा भएको जुन इन्जिनियर हुनुहुन्छ, त्यसबाट धेरै रकम बचेको पनि छ । त्यस माथि प्राविधिक महिला नै हुनुहुन्छ । रकम बच्ने प्रमुख कुरा भनेको कडाइ हो । वडाबाट मूल्याङ्कन भएर आएको रकममा कति यहाँबाट घटेको पनि छ । गुणस्तरमा र कुनै पनि सम्झौता छैन । यो कीर्तिपुरको उदाहरणीय काम हो । यसलाई अरु पालिकाले पनि अबलम्बन गर्न सक्छन् । म प्राविधिकले नहुने भनेको कुरालाई सकभर सम्झौता नगर्नुस् है भनेर जहिले पनि भन्छु । हाम्रो टिमवर्क पनि राम्रो छ । वडाबाट सिफारिस ठीक छ भनेर नआइकन मैले गर्दै गर्दिनँ ।
अनुगमनमा हामी सधैँ जान्छौं । महिना अनुसार फरक फरक हुन्छ । कुनै महिना सयौं योजना साना ठूला गरेर हुन्छन् । कहिले बीस तीसवटा हुन्छन् । मेरो सधैँ साँझको र बिहानको समय अनुगमन हुन्छ । घरबाट निस्किदा योजनाको काम कहाँ कहाँ भएको छ भनेर हेर्दै आउँछु । र, बेलुका घर फर्किदा उज्यालो छ भने पनि वा अँध्यारो भए पनि बत्ति बलेको छ भने योजना हेरेर मात्रै जान्छु । म बिहान प्रायः ७ बजे निस्किन्छु र राती घर पुग्दा १० बज्छ । कहिले ११ बज्छ । बेलुका घर पुग्ने र घरबाट हिँड्ने समय अनिश्चित छ । म सधैँ एउटै बाटो हिँड्दिनँ फरक फरक बाटो योजना हेर्दै हिँड्छु ।

आर्थिक उन्नती नभई महिला हिंसा असम्भव
म उपप्रमुख भएर महिला सशक्तिकरणका सम्बन्धमा कीर्तिपुरमा महिलाको अवस्था के थियो भनेर बुझ्न जरुरी थियो । म निर्वाचित हुने बित्तिकै महिलाको संवैधानिक हक, कानूनी व्यवस्था र सूचनाको हक भनेर सबै वडामा चलाएका थियौं । त्यो बेला निष्कर्ष के आयोभन्दा जब महिलाहरु आर्थिक रुपले सक्षम हुन सक्दैनन्, तबसम्म महिला हिंसाको अन्त्य पनि हुँदैन भन्ने खालको हाम्रो बुझाइ रह्यो । महिला सशक्तिकरण सँगसँगै उहाँहरुलाई सीपमूलक काम दिन थाल्यौं । उद्घोषणको तालिम पनि दियौं । पहिले आफ्नो कुरा राख्न नसक्ने हजारौं महिलाहरु अहिले कार्यक्रम चलाउन सक्ने हुनुभएको छ । उहाँहरुले सीप सिकेर बासको सामान बनाउने, जुता चप्पल बनाउने, कपडा सिलाउने, मसला उत्पादन गर्ने, कागजको कप बनाउने कामहरु गर्नु भएको छ । त्यसैगर्दा हामीले कोसेली घर भनेर स्थापना गरेका छौं । हामीले प्रजनन स्वास्थ्यसम्बन्धी शिविर पनि सञ्चालन गर्यौ । महिला दिदीबहिनीहरुलाई सुगर र प्रेसरको जाँचको तालिम पनि दियौं । आयआर्जनमा कीर्तिपुरमा नेवारी खाजा विशेष छ । त्यो बनाउनेगरी सामग्री नै हामीले हस्तान्तरण गर्ने गर्यौ । प्रविधि हस्तान्तरण भनेर गरेका छौं । सीप सिकाउने सँगै प्रविधि हस्तान्तरण । सिलाई मेसिन दिएका थियौं, कतिपय महिलाहरु हामीले सिलाई गरेर दिनको ३ सयदेखि ५ सय रुपैयाँ आम्दानी गर्यौ भनेर आउनुहुन्छ । उनीहरुले उत्पादन गरेको सामानको विक्रीमा कुनै समस्या छैन । अनलाईन विक्रीमा पनि राख्ने गरेको छ । कोसेली घरबाट पनि विक्री हुन्छ, त्यहाँ सौगात घर भनेर लगभग १२ वटा सटर बनाएका छौं । त्यो सटर नगरपालिकाकै हो ।
मैले विधायन समितिमा पनि काम गरेँ । त्यसमा महिलाको संख्या कति राख्ने भन्ने कुरामा त्यति पुरुषको ध्यान जाने रहेनछ । ३३ प्रतिशत महिला र प्रमुखमा महिला हुनुपर्छ भन्ने कुरामा पुुरुषको ध्यान जाने रहेनछ । महिलाको मात्रै ध्यान जाने रहेछ । हामीले कीर्तिपुरमा ३ दिने महिला महोत्सव पनि गर्यौ । त्यसमा महिलाहरुले बनाएका वा उत्पादन गरेका सामानहरु, खाना खाजा सबैको स्टल राखेर प्रर्दशनी पनि गरेका थियौं ।

प्रमुख उपप्रमुख विवादरहित पाँचवर्ष
म नगरपालिकाको प्रवक्ता पनि हो । मैले एउटा महसुष के गरेँ भने– स्थानीय सरकार सञ्चालन ऐन आउनुभन्दा अगाडि राजश्व परामर्श समितिको संयोजक वडाअध्यक्षलाई बनाएको थियो । पछि कानून बनेर आएपछि यो त उपप्रमुखको हो है भनेर परिवर्तन गर्न लगाएँ । मेरो अनुभवमा महिलाहरुलाई जिम्मेवारी दिनका निम्ति कानूनमै व्यवस्था हुनु पर्ने रहेछ भन्ने लाग्यो । कानूनमा कम्तिमा ५० प्रतिशत महिला भए हुन्थ्यो भन्ने लाग्छ । उपप्रमुखलाई पनि सामाजिक कामको लागि पर्याप्त जिम्मेवारी छन् । जसले गर्दा हामी जनतासँग जोडिन सक्छौं । बजेट तर्जुमा समितीमा उपप्रमुख पनि हुन्छ । बजेट बनाउने भनेको राजनीतिक दलले नै हो । प्रमुखसँग समन्वय गर्ने, प्रमुखको भन्दा उपप्रमुखको धेरै जिम्मेवारी छन् । उपप्रमुखको जिम्मेवारी मैले कम देखेको छैन । हाम्रोमा प्रमुख र उपप्रमुखले आफ्नो आफ्नो ढंगले काम गर्यौ, समन्वय पनि गर्यौ, त्यसले कहिल्यै पनि विवाद भएन ।
म उपप्रमुख भएर आएपछि विदेश भ्रमणको रुपमा पहिलो भ्रमण पाकिस्तान थियो, त्यसपछि म दिल्ली पनि गएँ । चीन दुई पटक गए । चीनको टेनिल्ला सिटीसँग एमओयू गरेका थियौं । जुन सिस्टर सिटी बनाएका थियौं । हाम्रो पार्टीले प्रमुख उपप्रमुखलाई चीन पठाएको थियो । त्यो टिममा म पनि थिंए ।

कोभिडका कारण विकास भन्दा विपदतिर ध्यान
कोभिडले गर्दा हाम्रो ध्यान विकासतिर भन्दा विपद्तिर गयो । जुन लक्ष्य सोचेका थियौं, त्यो लक्ष्य पूरा गर्न सकेका छैनौं । त्यही भएर एक कार्यकाल दाहोेरियौं भने त्यो समग्र नगरका लागि हित हुन्छ भन्ने लाग्छ मलाई । आफूले थालेका गरेका अधुरा कामहरु पूरा गर्नका लागि उपमेयरमै दोहोरिन चाहन्छु । अब मैले ५० प्रतिशत अझ पर्फमेशन देखाउन सक्छु । मैले अझ थप राम्रो गर्न सक्छु । लाभको पदमा सधैँ एकजना मात्रै बस्ने भन्ने त होइन, अरुलाई पनि अवसर त दिनु पर्छ । नगरको हितका लागि भन्ने हो भने दोरिनु पर्छ भन्ने जस्तो मलाई लाग्छ ।

भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माण
कीर्तिपुरमा धेरै सम्पदा छन् । २०७२ को भूकम्पले बिग्रिएका थिए । जुन पाटी, फल्चा, मठमन्दिर सबै बिग्रिएको थियो । तिनीहरुलाई हामीले पूर्णता दिने काम गर्यौ । अधिकांश संरचना बने । दशवटै वडाका लगभग ३० वटा फल्चाहरु सबै बनेका छन् । कोही शिलालेखमा मात्रै सिमित थिए भने केही जीर्ण थिए । ती सबै बने । त्यो सँगसँगै विद्यालय भवन सबै बने । नगरपालिकाको मुख्य प्रशासकीय भवन बन्यो । नगरपालिकाको आफ्नै भवन थिएन, भाडामा बसेको थियो । १० नम्बर र ६ नम्बर वडा कार्यालय बन्यो भने १ नम्बर वडा कार्यालयको भवनको शिलान्यास भएको छ । पार्कहरु बने, डम्पिङ साइडको रुपमा रहेका पोखरीहरु नयाँ बने । साँघुरा सडक विस्तार गर्ने काम भयो । सडकलाई कालोपत्रे गर्ने काम गरेका छौं । खेल मैदान बनेको छ ।
विस्तार भएका सबै सडकमा हामीले कालोपत्रे पनि गरिसकेका छैनौं । जग्गा एकीकरण आयोजना भनेका थियौं, त्यसले पूर्णता पाउन सकेको छैन । हामीले प्राविधिक शिक्षालय स्थापना गर्छौ भनेका थियौं । त्यो स्थापना गर्न सकेका छैनौं । अबको फेरि आइयो भने त्यसलाई हामी पूरा गर्छौ नै । युवाहरुलाई रोजजारी सिर्जना गर्न, सामाजिक आर्थिक पक्षलाई मजबुत गराउन युवाहरुलाई परिचालन गर्ने खालको वातावरण हामीले गर्न सकेनौं । अब त्यसमा हामी लाग्छौं । नगरलाई अहिले धेरै परिवर्तन गरेका छौं र अब अर्को कार्यकालमा थप फेरिने छ । काठमाडौं आएपछि के रहेछ कीर्तिपुर भएर हेर्न आउने पर्यटनको गन्तव्य बनाउँछौं । मुख्य कुरा कीर्तिपुरको सम्पदा हो । कीर्तिपुरको मौलिक विशेषता छन् । बाघभैरवदेखि ठूला मन्दिर, चोभार, टौदह, चम्पादेवी, मञ्जुश्री पार्क लगायत यी ठाउँहरु छन् । हामीले सम्पदा वस्तीमा पुनःजागरण अभियान भनेका छौं । हामीले मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्ने काम गरेका छौं । कीर्तिपुरमा थोरै संख्यामा भएको तामाङको पुरानो वस्ती छ । तामाङ सुधार कार्यक्रम भनेर हामीले वार्षिक रुपमा १० लाखका दरले रकम राख्दै आयौं । हामीले अहिले तामाङ उत्थान महासंघ भनेर स्थापना गरेका छौं । त्योबाट तामाङ संस्कृति बचाउनु पर्छ, रोजगारीसँग जोडिनु पर्छ भन्ने सचेत हुने किसिमको वातावरण चाहिँ हामीले बनाएका छौं र त्यो बनेको छ । दीगो विकासको लक्ष्य स्थानीकरण पनि गर्ने गरेका छौं । लैङ्गिक समानता, सामाजिक समावेशीसम्बन्धी नीति बनाएर कार्यान्वयनमै लगेका छौं । स्वास्थ्य चौकी थिएनन् । हामीले शहरी स्वास्थ्य चौकीहरु चारवटा स्थापना गर्यौ । स्वास्थ्य चौकीहरु व्यवस्थित बनायौं । ८ नम्बरमा बाहेक सबै वडामा स्वास्थ्य संस्था छ । कुनै ठूलो वडामा २ वटा पनि छ ।
कोभिडको बेलामा सचेतनामूलक कार्यक्रम गरियो नै । राहातको काम पनि गरियो । त्यो बाहेक क्वारेन्टिन भनेर नेपाल सरकारले बनाएको थियो, पछि सहकार्य भयो । आइसोलेन कीर्तिपुरका लागि मात्रै भनेर होइन, जो सुकै गएर पनि बस्न सक्ने बनायौं । खोप आइसके पछि खोपलाई एकदमै सहज बनायौं । नसक्ने अशक्तहरुलाई घरघरमै गएर खोप लगाउने व्यवस्था पनि गर्यौ ।
नयाँ वस्ती बनेको छ, त्यहाँ सडक, खानेपानी विकास निर्माणका सबै काम गरेका छौं । मतदान गर्ने बेलामा नेपालको जुनसुकै ठाउँमा गरे पनि गर्नु होला ।
शिक्षाको पाठ्यक्रम बनाएका छौं । अपाङ्गता परिचय पत्र वितरण गरेका छौं । महत्वपूर्ण कुरा घरघरमा स्थानीय सरकार भन्ने चलायौं । त्यो भनेको जसको घरमा एकजना बच्चाको जन्म हुन्छ । त्यहाँ शुभकामना सहित हाम्रा जनप्रतिनिधि साथीहरु त्यहाँ पुग्नु हुन्छ । कसैको घरमा मृत्यु हुन्छ भने १० हजार रुपैया लिएर समवेदना प्रकट गर्न जाने काम हुन्छ । हामीले रेडक्रससँग सम्झौता गरेका छौं कि कीर्तिपुरको स्थानीय वासीलाई रगत आवश्यक पर्दा निशुल्क उपलब्ध गराउँछौं । सुगर प्रेसरको औषधि निशुल्क उपलब्ध गराएका छौं । ज्येष्ठ नागरिकले १ सयदेखि १३ हजारसम्मको औषधि खानु हुन्छ । त्यो औषधि पनि हामीले निशुल्क वितरण गरेका छौं । गर्भवती महिलाहरुलाई आइरन चक्कीसँगै क्याल्सियम पनि दिने गरेका छौं । शैक्षिक लोनको पनि व्यवस्था गरेका छौं । पाँच लाखसम्म लोन पाउँछन् । क वर्गको रातो कार्ड (पूर्ण अशक्त) प्राप्त गर्नेले नेपाल सरकारबाट प्राप्त हुने सँगसँगै अर्को पाँच सय थप दिनेगरी व्यवस्था गरेका छौं । त्यो घरघरमा गएर दिने गरेका छौं । ज्येष्ठ नागरिक भत्ता पनि घरमै गएर दिने गरेका छौं ।

स्यानटरी प्याड नहुँदा आफैंले स्कूल छोड्नु पर्दाको पिडा
म आफँैले पनि भोगेको पहिले स्यानिटरी प्याडको अभावमा स्कुल छोड्नु पर्ने हुन्थ्यो । त्यो नेपाल सरकारले निर्णय गर्नुभन्दा पहिले हामीले निशुल्क स्यानिटरी प्याड दिने निर्णय गरेका थियौं । वन वातावरणको क्षेत्रमा अहिले पनि हामीले ८ सय जति विरुवा हुर्काएका छौं । कीर्तिपुरमा पहिले गेटबाट छिर्ने बित्तिकै फोहोरको डुंगुर देखिन्थ्यो । तर अहिले पूर्ण रुपमा सरसफाइ । पर्यटन सूचना केन्द्र बन्यो । स्वरुप फरक देख्न सक्छौं । हामीले धेरै बनाएको खेल मैदान हो । खेलाडी उत्पादन एकदम धेरै भएको छ । मेयर पनि खेल क्षेत्रबाट आउनु भएको हो । मेयर खेलकुद कार्यक्रम भनेर प्रशिक्षणको कार्यक्रम पनि हामीले सुरु गर्यौ । एक वडा एक खेल मैदान भनेको हाम्रो दुईचारवटा खेल मैदान पनि छन् । अहिले पनि हाम्रो खेल मैदानहरु बनिराखेका छन् । बहुआयामिक खेल मैदान भनेर अहिले कीर्तिपुर गेटसँगै बन्दै गरेको छ । त्यो संरचना बन्दै छ, त्यो पूरा गरौं भन्ने हाम्रो अपेक्षा छ । म आफैँ पनि स्कुलमा पढ्दा भलिबल खेल्थेँ । केटी साथीहरु हुँदैन्थे, सबै केटाहरु हुन्थे । मलाई त नखेल भन्थे, मैले किन नखेल्ने ? भन्थे । अनि खेद्यदा तैले सर्भिस गरे भन्थे, म गर्दिनँ भन्थे । सबै भूमिकामा म भलिबल खेल्न सक्छु । जनप्रतिनिधिको सेवा सुविधा भनेर थप केही लिने गरिएन, सरकारले जे तोकेको छ, त्यही हो ।