अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘काठमाडौंको उप–मेयरको उम्मेदवार बन्न पाउनु गर्वको कुरा हो’

‘काठमाडौंको उप–मेयरको उम्मेदवार बन्न पाउनु गर्वको कुरा हो’


काठमाडौं – स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले एमालेबाट उपमेयर पद स्वीकार गर्नुभएको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै डंगोलले सूर्य चिन्हमा मतदान गरी आफूलाई र एमालेका सबै उम्मेदवारहरुलाई विजय गराउन आह्वान गर्नुभएको छ ।

उहाँले एमालेले आफूलाई विश्वास गरेर उप–मेयरको जिम्मेवारी दिनु भनेको युवा, महिला, सामाजिक–साँस्कृतिक अभियन्तालगायत सम्पूर्ण काठमाडौंबासीको भावना प्रतिनिधित्व हुने गरी युवालाई उपहार दिइएको दाबी गर्नुभयो।

‘नेकपा(एमाले) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सबैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप–मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक–साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु ।

यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक–साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो ।’ जारी विज्ञप्तिमा उपमेयरकी उम्मेदवार डंगोलले भनेकी छन्, ‘अहिले उप–मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आशीर्वादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वार र भरोसालाई कुठराघात गर्ने छैन ।

तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु ।’

उहाँले विज्ञताको कदर गर्ने,अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएको स्पष्ट पार्नुभयो।

काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको स्मरण गर्दै उनले आफ्नो घोषणाले आफू जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको उल्लेख गर्नुभयो ।

राजनीतिमा आफ्नो पहिलो खुट्किलो भएको बताउँदै उनले राजनीतिकै माध्यमबाट जनताको सेवा गर्दै जाने बताउनुभयो । डंगोलले भन्नुभयो, ‘मप्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ ।

मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ ।’

उहाँले आफ्नो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौं बनाउने भएको बताउनुभयो । डंगोलले पदलाई भन्दा आफ्नो लक्ष्यलाई ठूलो ठान्दै एमाले र सो पार्टीका अध्यक्ष तथा शीर्ष नेतृत्व तहको विश्वासलाई आभार व्यक्त गर्नुभयो ।

उपमेयरको उम्मेदवार बनेकी सुनिता ’मिस नेवा २०११’ की विजेता हुन् । ३० वर्षीया डंगोलले ’सोसियल वर्कमा’ स्नातकोत्तर गर्नुभ्एको छ । मेयरको उम्मेदवारी घोषणा गरेर उनले ८ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गर्नुभ्एको छ। साथै चुनावी प्रचार पनि थालेकी सुनितालाई एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले उपमेयरको टिकट दिने निर्णय गरेको हो ।