अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मङ्सिर १ देखि ५ गतेसम्म एमालेका बैठक, भेला र छलफल

मङ्सिर १ देखि ५ गतेसम्म एमालेका बैठक, भेला र छलफल


काठमाडौं-नेकपा (एमाले) २०८३ मङ्सिर १ गतेदेखि ५ गतेसम्म लगातार बैठक, भेला र छलफलमा जुट्ने भएको छ। पार्टीले पाँच दिनको अवधिमा स्थायी कमिटी बैठक, राष्ट्रिय कार्यकर्ता भेला, स्थानीय तहका जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्न लागेको हो।

एमालेले मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको छ भने मङ्सिर २ र ३ गते दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। त्यसैगरी, मङ्सिर ४ गते पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेला र मङ्सिर ५ गते चौथो केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय गरेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका प्रतिनिधि तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ भने स्थायी कमिटी, स्थानीय तहका प्रतिनिधि र केन्द्रीय कमिटीका बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन्।

भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी राजनीतिक कार्यदिशा तथा पार्टीका प्रमुख कार्यभारबारे सम्बोधन गर्ने आचार्यले बताए ।

त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए।

त्यस्तै, भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका कामकारबाही र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन्। त्यसैगरी, महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

एमालेले राष्ट्रिय राजनीतिको बदलिँदो परिस्थितिमा पार्टीको दृष्टिकोण स्पष्ट पार्ने, वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।

यसअघि असोज ५ देखि ८ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र कार्यान्वयन गर्नुपर्ने १५ कामलाई एकताबद्ध रूपमा अघि बढाउने विषयलाई भेलाको मुख्य एजेन्डा बनाइएको छ। भेलामार्फत पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्नुका साथै सङ्गठनलाई थप सुदृढ बनाउने एमालेको तयारी छ।