अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको कम्युनिस्ट आन्दोलन : सङ्घर्ष, सङ्गठन र इतिहासको अभिलेख

ताप्लेजुङको कम्युनिस्ट आन्दोलन : सङ्घर्ष, सङ्गठन र इतिहासको अभिलेख


पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङका अनेक पहिचान छन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, प्रसिद्ध पाथीभरा देवी, नगदेबाली अलैँची र जलविद्युत्को प्रचुर सम्भावना यस जिल्लाका परिचय हुन्। करिब सवा लाख जनसंख्या रहेको यो जिल्ला राजनीतिक दृष्टिले पनि उत्तिकै चासोको केन्द्रमा रहँदै आएको छ।

पञ्चायतकालमा मेची अञ्चलमा दुई प्रभावशाली राजनीतिक व्यक्तित्व थिए– पाँचथरका पद्मसुन्दर लावती र ताप्लेजुङका विष्णु मादेन। आ-आफ्नो जिल्लामा उनीहरूको राजनीतिक प्रभाव र दबदबा उत्तिकै थियो। सडक यातायातले बहुदल आएपछि मात्र राष्ट्रिय सञ्जालसँग जोडिएको ताप्लेजुङ पछिल्लो समयसम्म पनि वामपन्थी प्रभाव क्षेत्रका रूपमा परिचित छ। २०४८ सालपछिका निर्वाचनमा २०५६ सालबाहेक अधिकांश समय नेकपा ९एमाले० ले नै चुनाव जित्दै आएको छ। गतवर्षको विषम परिस्थितिमा समेत एमालेले निर्वाचन जित्नुले जिल्लामा पार्टीको लामो राजनीतिक प्रभावलाई देखाउँछ।

चीनसँग सीमा जोडिएको यस जिल्लामा कम्युनिस्ट पार्टीको बीजारोपण कसरी भयो रु यसको संगठन विस्तारमा कोको संलग्न थिए रु कुन सामाजिक र राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनले जरा गाड्यो रु यी प्रश्नको ऐतिहासिक उत्तर खोज्ने प्रयास गरेका छन् गणेश अधिकारीले आफ्नो पुस्तक ‘ताप्लेजुङमा कम्युनिस्ट आन्दोलन’ मार्फत।

लामो समय शिक्षण पेसामा बिताएका, त्यसपछि निजामती सेवामा काम गरेका र रेडक्रसकर्मीका रूपमा समेत परिचित अधिकारीले ताप्लेजुङको कम्युनिस्ट आन्दोलनको इतिहासलाई दस्तावेजीकरण गर्ने प्रयास गरेका छन्। विभिन्न प्रकाशित तथा अप्रकाशित सामग्रीको अध्ययन, तत्कालीन पार्टीका सम्पर्क व्यक्तिहरूसँगको अन्तर्वार्ता र लामो अनुसन्धानका आधारमा तयार पारिएको यस पुस्तकले जिल्लाको राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डलाई अभिलेखमा उतारेको छ।

कम्युनिस्ट आन्दोलनको बीजारोपण
पुस्तकअनुसार ताप्लेजुङमा कम्युनिस्ट आन्दोलनको प्रारम्भिक सूत्राधार राणा शासनको अन्त्यसँगै देखिन थालेको हो। २००९ सालमा झापाको किसान आन्दोलनमाथि सरकारी दमन भएपछि सुरक्षित स्थानको खोजीमा नारायण ओली, हस्तबहादुर कार्कीलगायत वामपन्थी नेताहरू आठराई क्षेत्रमा पुगेका थिए। उनीहरूले किसानमार्फत कम्युनिस्ट विचारको प्रचार सुरु गरे।

तर औपचारिक रूपमा भने २०१३ सालमा मात्र ताप्लेजुङमा कम्युनिस्ट संगठनसँग आबद्ध कार्यकर्ताहरू संगठित भएका थिए। त्यसबेला नन्दकुमार प्रसाईं, पर्वतमान, भरतमणि सिटौला र नरप्रसाद खरेलहरू कम्युनिस्ट पार्टीको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी फेडेरेसनमा धनकुटामा संगठित भएका थिए। उक्त कमिटीको कार्यक्षेत्रमा ताप्लेजुङ पनि पर्दथ्यो।

२०१४ सालतिर संखुवासभाका बल्लभमणि दाहालले माक्र्सवादी राजनीति ताप्लेजुङमा भित्र्याएको पुस्तकमा उल्लेख छ। त्यही वर्ष रुद्र शाक्य कम्युनिस्ट पार्टीको सदस्यता लिएर ताप्लेजुङ पुगेका थिए। हाङपाङका पण्डित हरि भण्डारीले कलकत्ता आवतजावत गर्दा पुष्पलालसँग भेट भएर कम्युनिस्ट राजनीतिमा लागेको प्रसंग पनि पुस्तकमा समेटिएको छ।

२०१६ सालमा प्रजापति काफ्ले सदरमुकाम फुङलिङमा बसाइँ सरेपछि कम्युनिस्ट पार्टीका पुस्तक र पत्रपत्रिका वितरण गर्न थालेका थिए। यसले जनतामाझ कम्युनिस्ट विचार प्रवाह गर्न र संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

जिल्लामा पहिलोपटक २०१७ सालमा कमिटी गठन भएको थियो। तर त्यसको नेतृत्व कसले गरेको थियो भन्नेमा ऐतिहासिक दस्तावेजहरूबीच एकरूपता छैन। कुनै दस्तावेजमा दिवाकर खतिवडाले नेतृत्व गरेको उल्लेख छ भने कतै रुद्रकुमार शाक्यको नाम आउँछ। लेखकले यस्ता फरक विवरणलाई पनि पुस्तकमा प्रस्तुत गरेका छन्।

देवीदेवताका नाममा सपथ र संगठनको विस्तार
पाथीभरा देवीको जिल्ला भनेर चिनिने ताप्लेजुङमा २०१७ सालमा गठन भएको कम्युनिस्ट पार्टीको पहिलो कमिटीले जनताका नाममा नभई देवीदेवताका नाममा सपथग्रहण गरेको प्रसंग पुस्तकको रोचक पक्ष हो। पुस्तकमा उल्लेख छ, ‘कम्युनिस्टहरूले धर्मलाई अफिम भने तापनि ताप्लेजुङमा नवगठित कमिटीले देवीदेवताका नाममा सपथ गरेको थियो।’

पहिलो कमिटीले जोताहाको हक कायम गर्ने, अधियाँबालीको व्यवस्था गर्ने र कम्युनिस्ट विचारको प्रचार गर्दै संगठन विस्तार गर्ने लगायत पाँचवटा निर्णय गरेको थियो। यसबाट तत्कालीन कम्युनिस्ट आन्दोलनले वैचारिक प्रचारसँगै स्थानीय सामाजिक तथा आर्थिक मुद्दालाई पनि प्राथमिकता दिएको देखिन्छ।

फुङलिङ, देवलिङ्गे, सिनाम, खेवाङ, हेल्लोक, खेजेनिम र सिंवा जस्ता स्थान क्रमशः कम्युनिस्ट पार्टीका आधार क्षेत्रका रूपमा विकसित हुँदै गएको विवरण पुस्तकमा पाइन्छ। स्थानीय भूगोल, पात्र र घटनालाई मसिनो गरी प्रस्तुत गरिएकाले पुस्तक केवल राजनीतिक इतिहासमा सीमित छैन। यसले तत्कालीन समाज, जनजीवन र स्थानीय राजनीतिक चेतनाको विकासलाई समेत बुझ्न सघाउँछ।

पञ्चायतविरुद्धको संघर्ष र कञ्चनजंघा नामकरण
विभिन्न कम्युनिस्ट घटक मिलेर २०३५ सालमा नेकपा ९माले० गठन भएपछि त्यसको प्रभाव ताप्लेजुङमा पनि विस्तार भयो। २०३६ साल वैशाख १ गते जिल्लाको पूर्वी क्षेत्र आम्बेगुदिनमा नेकपा ९माले० को पहिलो जिल्ला अधिवेशन भएको पुस्तकमा उल्लेख छ।

यस अधिवेशनसँग जोडिएको अर्को दुःखद घटना पनि लेखकले उजागर गरेका छन्। अधिवेशन उद्घाटनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा ताप्लेजुङ जाने क्रममा रत्नकुमार वान्तवालाई इलामको इभाङमा प्रहरीले हत्या गरेको थियो। यस घटनाबाट आक्रोशित ताप्लेजुङका कम्युनिस्टहरूले प्रतिक्रियावादी सत्ताले राखेको जिल्लाको नामसमेत बहिष्कार गर्ने निर्णय गरे। उनीहरूले ताप्लेजुङको सट्टा नेकपा ९माले० कञ्चनजंघा नामकरण गरेको रोचक तथ्य पुस्तकमा समेटिएको छ।

वान्तवाको हत्यापछि केन्द्रीय प्रतिनिधिका रूपमा अमृत बोहोरा ताप्लेजुङ पुगेका थिए। कम्युनिस्ट पार्टीका बैठक लामो समयसम्म चल्ने गरेको चर्चा ताप्लेजुङको पार्टी अधिवेशनले पनि पुष्टि गर्छ। भूमिगतकालको कठिन परिस्थितिमा सम्पन्न जिल्ला अधिवेशन पाँच दिनसम्म चलेको थियो भने अधिवेशनपछिको पहिलो बैठक सिनाममा सात दिनसम्म चलेको लेखकले उल्लेख गरेका छन्। बोहोराले जिल्लाको नाम नै बदल्ने पार्टीको नीति नभएको भन्दै कञ्चनजंघा नाम सच्याएर ताप्लेजुङ नै कायम गर्न निर्देशन दिएका थिए।

पञ्चायतलाई उपयोग गर्ने पार्टीको नीतिअनुसार २०४३ सालको निर्वाचनमा अम्बिका साँवा उम्मेदवार बनेका थिए। तर उनी १७ सय मतले पराजित भए। त्यसपछि २०४४ सालमा पार्टीले पञ्चहरूलाई जनतामाझ बदनाम गराउन भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ।

पुस्तकले राजनीतिक गतिविधिसँगै तत्कालीन जनजीवनलाई पनि उत्तिकै महत्त्व दिएको छ। हेल्लोकको संगठन र दमन शीर्षकमा अधिकारी लेख्छन्, ‘यहाँका अधिकांश मानिसहरू धरान-ताप्लेजुङ-लेलेप-लुङथुङ–ओलाङचुङ सामान ढुवानीका लागि भारी बोक्ने, सिक्किममा सुन्तला बोक्न, अलैँची टिप्न र गाउँमा बनी गर्न जाने गर्थे।’

यस्ता विवरणले तत्कालीन आर्थिक अवस्था, जीविकोपार्जन र सामाजिक संरचनालाई समेत उजागर गर्छन्।

दमन, हत्या र राजनीतिक प्रतिरोध
ताप्लेजुङमा कम्युनिस्ट आन्दोलन विस्तार हुँदै जाँदा पञ्चायती प्रशासनबाट भएका दमनका अनेक घटना पुस्तकमा समेटिएका छन्। हेल्लोक काण्ड, सिनामको पर्चा काण्ड, हाङदेवाको आगलागी काण्ड, हाङदेवाको ओख्रे काण्ड, तिरिङ्गेको पुल काण्ड, सिनामको प्रधानाध्यापक काण्ड, चाँगेको जिशिअ काण्ड र थेचम्बू काण्डजस्ता घटनालाई लेखकले छुट्टाछुट्टै प्रसंगका रूपमा प्रस्तुत गरेका छन्।

सामान्य सामाजिक तथा प्रशासनिक विवादलाई समेत राजनीतिक रंग दिएर कम्युनिस्ट कार्यकर्तालाई फसाउने, झुटा मुद्दा लगाउने र संगठन कमजोर पार्ने प्रयास कसरी हुन्थ्यो भन्ने विवरण पुस्तकमा पाइन्छ। त्यसको प्रतिकारमा कम्युनिस्ट कार्यकर्ताले अपनाएका रणनीति र गतिविधि पनि लेखकले उल्लेख गरेका छन्। यसले पञ्चायतकालीन राज्यसत्ता र स्थानीय राजनीतिक प्रतिरोधबीचको सम्बन्ध बुझ्न सघाउँछ।

ताप्लेजुङको कम्युनिस्ट आन्दोलनमा उदाएका नेता हरि नेपालको हत्या पुस्तकको अर्को मार्मिक प्रसंग हो। संगठन विस्तारका क्रममा संखुवासभा पुगेका सिनामका हरि नेपाल र चन्द्रपुरीलाई प्रहरीले पिछा गर्दै २०३६ साल पुस १३ गते राति उनीहरू बास बसेकै ठाउँमा गोली हानी घाइते बनाएको र भोलिपल्ट उनीहरूको निधन भएको विवरण पुस्तकमा छ।

आफ्ना प्रिय नेताहरूको पञ्चायती शासकबाट निर्ममतापूर्वक हत्या भएपछि ताप्लेजुङका कम्युनिस्ट कार्यकर्ता आक्रोशित बनेका थिए। उनीहरूले ‘हत्याको बदला हत्या नै दिएर आदरणीय हरि नेपाल र चन्द्रपुरीको सदिच्छा साकार पारौँ’ भन्ने पर्चा जिल्लाभरि छरेका थिए। यस्तो विवरणले तत्कालीन राजनीतिक संघर्षको भावनात्मक र कठोर पक्षलाई पनि उजागर गर्छ।

शिक्षक, विद्यार्थी र महिलाको योगदान
ताप्लेजुङमा कम्युनिस्ट आन्दोलनको विस्तारमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको पुस्तकले देखाएको छ। २०३६ सालमा जिल्लामा शिक्षक संगठन गठन भएपछि पार्टीका गतिविधि गाउँगाउँसम्म पुग्न थालेका थिए। नन्दकुमार प्रसाईंले यस अभियानको अगुवाइ गरेका थिए।

दिनमा विद्यालयमा पढाउने र बिहान–बेलुका जनताको घरदैलोमा पुगेर कम्युनिस्ट विचारको प्रचार गर्ने अभियानमा शिक्षकहरू सक्रिय थिए। चीनको कम्युनिस्ट पार्टीले जनतालाई दिएको सुविधाबारे चर्चा गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा गोलबन्द हुन आह्वान गर्ने गतिविधि उनीहरूले सञ्चालन गरेका थिए।

काजी श्रेष्ठ, प्रल्हाद प्रसाईं, हेमराज गौतम, विमला सुब्बा र खगेन्द्र कार्कीजस्ता शिक्षक नेताले पार्टी विस्तारमा योगदान गरेका थिए। शिक्षकहरू पार्टीमा लागेको थाहा पाएपछि प्रशासनले धरपकड गर्ने, सेवाबाट बर्खास्त गर्ने र झुटा मुद्दा लगाउने गरेको थियो। पञ्चायतकालको अन्तिम समयसम्म ताप्लेजुङका ७३ जना शिक्षक सेवाबाट बर्खास्त भएको विवरण पुस्तकमा उल्लेख छ।

विद्यार्थी संगठनको भूमिकालाई पनि लेखकले उत्तिकै महत्त्व दिएका छन्। २०२५ सालमै अनेरास्ववियुले धनीका छोराछोरीले मात्र ट्युसन पढ्न सक्ने र त्यसले गरिबका छोराछोरीलाई प्रतिस्पर्धामा पछि पार्ने भन्दै ट्युसन पढाउने चलनको सांकेतिक विरोध सुरु गरेको प्रसंग पुस्तकमा छ। अनेरास्ववियुका अध्यक्ष टंक कार्की र नेता भरत श्रेष्ठको जिल्ला भएका कारण पनि विद्यार्थी संगठनको गतिविधिले ताप्लेजुङमा पार्टी विस्तारको आधार तयार गर्न सहयोग गरेको लेखकको विश्लेषण छ।

कम्युनिस्ट आन्दोलनमा महिलाहरूको योगदान पनि पुस्तकको उल्लेखनीय पक्ष हो। हिमा उप्रेती, मालती सुब्बा, विमला सुब्बा र नैनकला ओझालगायतले महिलालाई चुलोचौकोबाट बाहिर निकालेर राजनीतिक गतिविधिमा सहभागी गराउन भूमिका खेलेका थिए। २०३७ सालमा फावाखोलामा भएको भेलाले मालती सुब्बाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको थियो। त्यसैगरी २०३८ सालमा सिकैंचाको ओसेमा करिब पाँच सय महिला भेला भएर नारी दिवस मनाएको प्रसंगले दुर्गम क्षेत्रमा समेत महिलाहरू राजनीतिक रूपमा संगठित हुँदै गएको देखाउँछ।

बहुदलपछि पनि जारी राजनीतिक द्वन्द्व
पुस्तकले २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि ताप्लेजुङको कम्युनिस्ट राजनीतिमा अनेक उतारचढाव आएको देखाएको छ। विष्णु मादेनको प्रभाव रहेको पञ्चायती राजनीतिक शक्ति कमजोर भए पनि त्यसको निरन्तरता बोकेको तत्कालीन राप्रपा र एमालेबीच राजनीतिक द्वन्द्व कायम रहेको लेखकको विवरणबाट बुझिन्छ।

व्यक्तिगत इवी र सामान्य विवादलाई समेत राजनीतिक रंग दिएर तत्कालीन माले र एमालेको प्रभाव कमजोर पार्ने प्रयास भएको पुस्तकमा उल्लेख छ। २०४७ सालमा लिङ्तेपका दत्तबहादुर र मनबहादुरबीच ब्याज मरौनीको विषयले उग्र राजनीतिक विवादको रूप लिएको प्रसंग यसको एउटा उदाहरण हो। राप्रपासँगको द्न्न्वका कारण ठुलो संख्यामा एमाले समर्थकहरुले थातथलो छोडेर बसााइ हिड्नु परेकोे दुखद प्रसंग पनि पुस्तकमा प्रष्तुत गरिएको छ।

त्यस्तै सिनाम घटनामा रामबहादुर दर्जीको भीरबाट लडेर मृत्यु भएको तथा निर्वाचन प्रचारप्रसारका क्रममा २०४८ साल वैशाख ११ गते सिनाममा भएको आमसभामा एमाले कार्यकर्ता इन्द्रमान थेबे र रुकमान थेबेको हत्या भएको प्रसंगले बहुदलीय व्यवस्था पुनःस्थापनापछि पनि जिल्लामा राजनीतिक हिंसा र द्वन्द्व अन्त्य नभएको देखाउँछ।

इतिहासको अभिलेख र अधुरो कालखण्ड
यस पुस्तकको सबैभन्दा सबल पक्ष स्थानीय पात्र, घटना र भूगोललाई केन्द्रमा राखेर इतिहास लेख्ने प्रयास हो। लेखकले विभिन्न प्रकाशित तथा अप्रकाशित दस्तावेजको अध्ययन गरेका छन्। तत्कालीन पार्टीका सम्पर्क व्यक्तिहरूसँग लामो समयसम्म अन्तर्वार्ता गरेका छन्। २०५९ सालमा गरिएका अन्तर्वार्ताका अंशसमेत समावेश गरेकाले पुस्तकमा मौखिक इतिहासको महत्त्वपूर्ण पाटो जोडिएको छ।

विशेषगरी पञ्चायतकालीन भूमिगत राजनीति, संगठन निर्माण, कार्यकर्ताबीचको अनुशासन, आत्मीयता र जोखिमपूर्ण जीवनशैलीका प्रसंगले पुस्तकलाई जीवन्त बनाएका छन्। राजनीतिक इतिहाससँगै तत्कालीन जनजीवन, आर्थिक अवस्था र सामाजिक सम्बन्धका विवरण समेटिएकाले यो पुस्तक कम्युनिस्ट पार्टीको इतिहासमा मात्र सीमित छैन। ताप्लेजुङको सामाजिक तथा राजनीतिक इतिहास बुझ्न चाहने पाठकका लागि पनि उपयोगी सामग्री बनेको छ।

यद्यपि पुस्तकमा केही महत्त्वपूर्ण कालखण्ड र पात्र छुटेका छन्। सबैभन्दा ठूलो अपूरो पक्ष २०४८ सालपछिको कम्युनिस्ट आन्दोलन हो। लेखकले २०४८ सालसम्मको इतिहासलाई विस्तृत रूपमा प्रस्तुत गरे पनि त्यसपछिको राजनीतिक विकासक्रममा प्रवेश गरेका छैनन्।

२०४८ सालसम्म जिल्लामा एउटै कम्युनिस्ट पार्टीको प्रभाव र अस्तित्व थियो। तर २०५२ सालपछि विभिन्न कम्युनिस्ट पार्टी अस्तित्वमा आए। त्यसपछि ताप्लेजुङको वाम जनमत कसरी विभाजित भयो रु पार्टीहरूबीचको सम्बन्ध र प्रतिस्पर्धा कस्तो रह्यो रु एमालेको राजनीतिक प्रभाव कसरी कायम रह्यो रु यी प्रश्नको उत्तर पाठकले यस पुस्तकमा पाउँदैनन्।

त्यस्तै विद्यार्थी राजनीतिबाट उदाएका योगेश भट्टराई, युवा संघको राजनीतिबाट अघि बढेका क्षितिज थेबे र पुराना एमाले नेता तिलकुमार मेन्याङ्बोजस्ता व्यक्तित्वहरूको भूमिका पुस्तकमा नसमेटिँदा पछिल्लो राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण पाटो छुटेको अनुभूति हुन्छ।

भौगोलिक सन्तुलनका दृष्टिले पनि पुस्तकमा पूर्वी ताप्लेजुङको चर्चा तुलनात्मक रूपमा बढी छ भने पश्चिमी क्षेत्रको विवरण निकै कम छ। आठराई क्षेत्रमा रामनाथ दाहाल आफैँ पुगेर संगठन विस्तार गरेको प्रसंग एक ठाउँमा आए पनि त्यसको विस्तृत व्याख्या छैन। त्यसैगरी चोपुरका सीपी र आरके मैनालीहरूको ताप्लेजुङमा पार्टी विस्तारमा भूमिका थियो वा थिएन भन्ने विषयमा पुस्तक मौन छ।

२०२७–०२८ सालतिर हालका एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत ताप्लेजुङ पुगेको र चोपुरमा प्रहरीले पिछा गरेपछि तमोर नदीमा हाम फालेर ज्यान जोगाएको भनिने प्रसंग पनि पुस्तकमा समेटिएको छैन। आगामी संस्करणमा यस्ता घटनाक्रम र पात्रको भूमिकालाई समेट्न सके पुस्तक अझ समृद्ध र यथार्थपरक बन्न सक्छ।

निष्कर्ष
इतिहास केवल ठूला नेता, ठूला आन्दोलन र राष्ट्रिय राजनीतिक परिवर्तनको विवरण मात्र होइन। स्थानीय तहमा राजनीतिक विचार कसरी प्रवेश गर्छ, सामान्य नागरिक कसरी संगठित हुन्छन्, संगठन निर्माणका क्रममा कस्ता संघर्ष र बलिदान हुन्छन् र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि इतिहासका उत्तिकै महत्त्वपूर्ण पक्ष हुन्।

गणेश अधिकारीको ‘ताप्लेजुङमा कम्युनिस्ट आन्दोलन’ ले यही स्थानीय इतिहासलाई अभिलेखमा उतार्ने प्रयास गरेको छ। विशेषगरी पञ्चायतकालीन भूमिगत राजनीति, संगठन विस्तार, शिक्षक तथा विद्यार्थीको योगदान, महिलाको राजनीतिक सक्रियता र राज्यदमनका घटनालाई समेटेर लेखकले एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज तयार गरेका छन्।

पुस्तकमा केही कालखण्ड, पात्र र भौगोलिक क्षेत्र छुटेका भए पनि स्थानीय राजनीतिक इतिहासको अभिलेखीकरणका दृष्टिले यसको महत्त्व कम हुँदैन। ताप्लेजुङको कम्युनिस्ट आन्दोलन कसरी सुरु भयो, कसरी फैलियो र त्यसले जिल्लाको राजनीतिक चरित्र निर्माणमा कस्तो भूमिका खेल्यो भन्ने बुझ्न चाहनेहरूका लागि यो पुस्तक पठनीय छ।

लेखकले २०४८ सालपछिको राजनीतिक विकासक्रमलाई समेटेर यसको दोस्रो खण्ड तयार गर्न सके ताप्लेजुङको कम्युनिस्ट आन्दोलनको इतिहास अझ पूर्ण बन्नेछ।