काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले साढे ५ किलो सेतो हेरोइन बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। उनलाई शनिबार बिहान विमानस्थलमा शङ्का लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
प्रहरीले उनको लगेजमा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा सेतो हेरोइन फेला पारेको थियो। बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। अनुसन्धान अधिकृतहरूका अनुसार यसको कारोबार प्रतिग्राम ४० हजार रुपैयाँका दरले हुने गरेको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको खुलेको छ। उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमणसमेत देखिएको प्रहरीले जनाएको छ।
एसएसपी बोहराका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।
सेतो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया