अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालिमा हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

कैलालिमा हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित


भजनी – कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आउनु भएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित हुनुहुन्छ । जग्गा भाडामा लिएर केरा खेती गर्दै आउनुभएका उहाँ हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सक्नुभएको छैन ।

बैंकबाट ऋृण निकालेर व्यवसाय गर्नुभएका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताउनुभयो । “एक हजार २०० भन्दाबढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भन्नुभयो, “बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उहाँले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताउनुभयो ।

यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गर्नुभएको छ । तीन बिघा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने हुनुभएको छ । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पा¥यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो”, दिनेशले भन्नुभयो, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण १”

दिनेशले केराको बीमा गर्नुभएको छ । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताउनुभयो । उहाँले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताउनुभयो ।