अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री


काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पार्नुभयो ।

मन्त्री कोइरालाले भन्नुभयो, “हामीले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र उसको निष्पक्षता, उसले आजसम्म गरेर आएको कामका आधारमा न्यायाधीशका निम्ति योग्य छ कि छैन भन्ने आधारमा हेरेनौँ, मेरो मान्छे र तेरो मान्छे भनेर न्यायाधीशको नियुक्ति ग¥यौँ, त्यसले गर्दा पटकपटक न्यायपालिकाभित्र राजनीतिक नियुक्त भयो भन्ने टिप्पणी आयो, विभिन्न प्रतिवेदनले पनि त्यही भन्छ ।”

उहाँले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको बताउनुभयो । कानून मन्त्रालयअन्तर्गत नै कानूनी सहायता समिति रहेको जनाउँदै उहाँले जसले न्यायको पहुँचमा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको कानूनी प्रक्रियालाई कम खर्चिलो बनाउने विषयमा प्रश्न उठेको छ, मन्त्रालयको प्राथमिकता कुनै पनि विषयमा कानून बनाउँदा सरोकारवालासँग छलफल र अनुसन्धान गरेर मात्रै कानून निर्माण गर्ने भन्ने छ ।”

उहाँले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता, हत्यालगायत मानव अधिकार उल्लङ्घनका घटनाका बारेमा सरकारले पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो टुङ्ग्याउने पक्षमा सरकार रहेको उहाँको भनाइ छ ।

मन्त्री कोइरालाले मन्त्रालयले अनावश्यकरुपमा तालिम र गोष्ठीको आयोजना नगरेको प्रस्ट पार्दै सङ्घीयता कार्यान्वयनका लागि विभिन्न कानून निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।

सांसद देवेन्द्र दाहाल, प्रकाश पन्थ, खिमलाल देवकोटालगायत १५ सांसदहरुले कानुन मन्त्रालयलाई विनियोजन बजेटमाथिको आफ्नो धारणा राख्नुभएको थियो ।