अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचारसंहिताले विज्ञापन क्षेत्रका विकृति हटाउने विश्वास छ : मन्त्री कार्की

आचारसंहिताले विज्ञापन क्षेत्रका विकृति हटाउने विश्वास छ : मन्त्री कार्की


काठमाडौ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन आचार संहिताले विज्ञापन क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा र विकृतिको अन्त्य गर्ने बताउनुभएको छ ।

विज्ञापन बोर्डले जारी गरेको ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता’ सार्वजनिक गर्दै मन्त्री कार्कीले विज्ञापन क्षेत्रमा रहेको अस्वस्थ्य प्रतिस्पर्धा र विकृति अन्त्य गर्न जरुरी रहेको धारणासमेत राख्नुभयो । ‘विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा, विकृति र विसंगतिलाई अन्त्य गर्दै समाजलाई पनि लाभान्वित गर्न आचारसंहिता प्रभावकारी हुने अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो ।

विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिताले एक सातापछि नै समाजमा प्रभाव दिन सकोस् भनी मन्त्री कार्कीले शुभेच्छा प्रकट गर्नुभयो । ‘अन्यथा शब्दहरु खर्चिएर मात्रै प्रभावकारिता हुन सक्दैन,’ उहाँको भनाइ थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले पनि विज्ञापन नियमनका लागि आचारसंहिता प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सरोकारवाला पक्षहरुसँगको लामो छलफलपछि आचारसंहिता जारी भएको जानकारी दिनुभयो । उहाँले आचारसंहिता अभावमा विज्ञापन क्षेत्रमा भएका विसंगति अन्त्य हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन संघका अध्यक्ष सोम धिताल, सम्पादक बबिता बस्नेतले पनि आचारसंहिताले सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

३८ पृष्ठको आचारसंहितामा विज्ञापन व्यवसायमा संलग्न व्यक्तिको आचरण, उपभोक्ता हित र प्रतिस्पर्धासम्बन्धी आचरण, सामाजिक मर्यादा र सदभाव, विज्ञापन प्रकाशन र प्रसारण, पारदर्शिता, भुक्तानी, अनुगमन, उजुरी तथा कारबाही लगायतका विषय समेटिएका छन् ।