अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ: सभामुख अर्याल

दसैँले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ: सभामुख अर्याल


काठमाडौँ-प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्ने बताएका छन् ।

नेपालीहरुको महान् चाड बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।

सभामुख अर्यालले जारी गरेको शुभकामना सन्देशमार्फत दसैँको अवसरमा विश्वभरी रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायू एवं निरन्तर प्रगतिको लागि हार्दिक र मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

‘जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानून निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

उनले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । उनले विजयदशमीले समस्त नेपाली जनहरुमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन् ।

सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दसैँलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा मनाइने उल्लेख गरेका छन् । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

ऐतिहासिक पहिचान बोकेको बडा दसैँ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै शुभारम्ध गरी सप्तमी, अष्टमी र नवमीसम्म नवदुर्गा भवानीको पूजा आराधना पश्चात दशमीको दिनमा भवानीको प्रसाद स्वरुप मान्यजनहरुको हातबाट पवित्र टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।