अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश– भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश– भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्।

पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले असत्यका प्रतीक रावणको अन्त्य गरेको स्मरण गर्दै उनले सबैको जीवनमा सत्कर्मको विजय होस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेटेर आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजमा आपसी सद्भाव र सम्बन्धको महत्त्व झल्काउने उनको भनाइ छ ।

उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन् । समाजमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथितिलाई आसुरी प्रवृत्तिका रूपमा चित्रण गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ,’ उनले सन्देशमा भनेका छन्, ‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ ।’

प्रधानमन्त्री शाहले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै, वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको महत्त्व रहेको उनले उल्लेख गरेका छन् ।

अन्त्यमा उनले सबैलाई आआफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आग्रह गर्दै ‘जय दुर्गा भवानी’ भनेका छन् ।