अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसंख्या वृद्धिदरमा अपवाद बन्यो कर्णालीको हिमाल–पहाड

जनसंख्या वृद्धिदरमा अपवाद बन्यो कर्णालीको हिमाल–पहाड

देशका ३२ हिमाली र पहाडी जिल्लाको जनसंख्या घट्दा दुर्गमा मानिएको कर्णालीका हिमाली र पहाडी जिल्लाको जनसंख्या वृद्धीदर सकारात्मक



कर्णाली : हिमाल–पहाडका ३२ जिल्लाको जनसंख्या वृद्धिदर घट्दा माथिल्लो कर्णालीका जिल्लाहरुको भने जनसंख्या वृद्धिदर उच्च छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार यहाँको हिमाली जिल्ला मुगुको जनसंख्या वृद्धिदर झण्डै दुई प्रतिशत छ । विसं २०६८ सालमा ५५ हजार २८६ भएको जनसंख्या २०७८ मा ६६ हजार ६८५ पुगेको छ । यो दुर्गम जिल्लामा १० वर्षको अन्तरमा ११ हजार ३९९ मानिस थपिएर जनसंख्या वृद्धिदर १.८ प्रतिशतमा उक्लिएको छ ।
मुगुसंगै जोडिएको अर्को विकट जिल्ला हुम्लामा पनि जनसंख्या वृद्धिदर राष्ट्रिय औसतसंग मिल्दो छ । २०६८ सालमा यहाँको जनसंख्या ५० हजार ८५८ रहेकामा २०७८ सालमा ५५ हजार ४९६ पुगेको छ । अर्को विकट जिल्ला डोल्पामा पनि १० वर्षको अन्तरालमा छ हजार २५९ मानिस थपिएका छन् । यहाँको जनसंख्या वृद्धिदर १.५ प्रतिशत रहेको छ । कर्णालीका जुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिममा पनि जनसंख्या वृद्धिदर उच्च छ । नेपालको जनसंख्याको प्रवृति हेर्दा प्रायः दुर्गम, सडक सुविधा नभएका जिल्लाको जनसंख्या ऋणात्मक (घट्दो क्रम) देखिन्छ । तर कर्णालीका अति विकट हिमाली जिल्लाहरु अपवाद बनेका छन् ।
हुम्लाका बासिन्दासमेत रहेका प्रदेश योजना आयोगका पूर्व सदस्य डा दीपेन्द्र रोकाया वैदेशिक रोजगारीमा कम जानु, परिवार नियोजनका साधनको सहज पहुँचको अभाव हुनुजस्ता कारण हिमाली जिल्लामा जनसंख्या वृद्धिदर उच्च हुन पुगेको बताउनुहुन्छ । “यहाँका अधिकांश युवाहरु भारत जाने गर्दछन्, भारत जानेलाई वैदेशिक रोजगारीमा गनिदैन, “उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुमा ज्ञानको कमी र पछिल्ला वर्ष कोभिड १९ का कारण वैदेशिक रोजगारीमा नगएका हुनसक्छन्, डोल्पा, मुगु र हुम्ला सबैभन्दा कम विदेश उपस्थित भएका जिल्लामा पर्दछन् ।” डा रोकायाले हिमाली, पहाडी जिल्लाहरुको जनसंख्या बढ्नु र तराई बसाइँसराइँ रोकिनु प्रदेशको विकासका हिसाबले सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
राज्यले बसोबास व्यवस्थित गर्न बस्ती विकासका योजनालाई प्राथमिकतामा जोड दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हिमाली जिल्लामा विकासका आधारभूत संरचनाहरु जस्तै सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको विकासमा केन्द्रीत गर्नुपर्छ ।” डा रोकायाका अनुसार कर्णाली प्रदेश योजना आयोगले पञ्चवर्षीय योजनाका रुपमा हिल्सा सिमकोट चंखेली सिञ्जा, डोल्पा, धो हुँदै मुस्ताङ जोड्ने हिमाली पर्यापर्यटकीय सडकको परिकल्पना गरेको थियो । उक्त सडकको हाल विभिन्न खण्डमा काम भइरहेको छ । यसले उच्च हिमाली क्षेत्रमा सडकको पहुँच विकास गर्ने, बसाइँसराइ रोकिने विश्वास छ ।
जनसंख्या वृद्धिदर धनात्मक भएका ४५ जिल्लामा साबिक कर्णालीका पाँच वटै जिल्ला पर्दछन् । ती जिल्लाको जनसंख्या वृद्धिदर अन्य पहाडी र हिमाली जिल्लाका जस्तो ऋणात्मक छैन । बरु तुलनात्मक रुपले सुगम मानिएका दैलेख र सल्यानमा जनसंख्या वृद्धिदर ऋणात्मक छ । यी दुई जिल्लाले १० वर्षको अवधिमा जनसंख्याको ठूलो हिस्सा गुमाएका छन् । विसं २०६८ मा सल्यानको जनसंख्या दुई लाख ४२ हजार ४४४ जनसंख्या रहेकामा २०७८ मा दुई लाख ३८ हजार ६६८ मा झरेको छ । त्यस्तै, दैलेखको जनसंख्या २०६८ मा दुई लाख ६१ हजार ७७० जनसंख्या रहेको २०७८ मा दुई लाख ५३ हजार ३१९ मा झरेको छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत जनसंख्या शिक्षाका उपप्राध्यापक कुशल बोहरा कम दुरीमा बढी बसाइँसराइ हुने गरेको बताउनुहुन्छ । “अन्य जिल्लाहरुभन्दा सल्यान र दैलेखको बसाइँसराइँ बढी भएको छ, दैलेखबाट सुर्खेत नजिक हुनु र सल्यानबाट दाङ नजिक हुँदा ती जिल्लाहरुमा बसाइँसराइ बढी भएको हुनसक्छ,” उहाँ भन्नुहुन्छ, “दैलेख र सल्यानको जनसंख्या वृद्धिदर घट्दो क्रममा हुनुमा बसाइँसराइ मुख्य कारण मान्न सकिन्छ ।”
प्रदेश राजधानी रहेको कर्णालीको मुख्य आर्कषण रहेको सुर्खेतको जनसंख्या वृद्धिदर १.६ प्रतिशत पुगेको छ । २०६८ को गणनामा तीन लाख ५० हजार ८०४ भएकामा २०७८ सालमा चार लाख १७ हजार ७७६ पुगेको छ । यस अवधिमा सुर्खेतमा झण्डै ६७ हजार जनसंख्या थपिएको छ ।
कर्णालीमा ५.८ प्रतिशत जनसंख्या
सात प्रदेशमध्ये सबैभन्दा कम जनसंख्या छ, कर्णालीमा । विसं २०७८ सालमा गरिएको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यहाँको कूल जनसंख्या १६ लाख ९४ हजार ८८९ छ । तीमध्ये महिला आठ लाख ६६ हजार ५८२ तथा पुरुष आठ लाख २८ हजार ३०७ जना .छन् । यो कूल जनसंख्याको ५.८ प्रतिशत हो । यहाँका १० जिल्लामध्ये कम जनसंख्या भएका हुम्ला र डोल्पा हुन । डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी कम जनसंख्या भएका नगरपालिकामा पर्दछन् । यहाँका डोल्पा, हुम्ला र मुगु जिल्लाबाट विदेश जाने नागरिकको संख्या पनि निकै कम छ ।
कर्णाली प्रदेशको जनघनत्व पनि निकै कम छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा प्रति वर्ग किमी क्षेत्रमा ६३६ जना बसोबास गर्दा कर्णालीमा भने सोही क्षेत्रफलमा ६१ जना बसोबास गर्छन । प्रति वर्ग किमी क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या नै जनघनत्व हो । कर्णालीमै कम जनघनत्व भएका जिल्लाहरुमा डोल्पा र हुम्ला पर्दछन् । त्यहाँ प्रति वर्ग किमी १० भन्दा कम जनघनत्व छ ।–––(प्रकाश अधिकारी)