अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा ‘कोशी’ र ‘सप्तकोशी’को मिलन होला त ?

प्रदेश १ मा ‘कोशी’ र ‘सप्तकोशी’को मिलन होला त ?


विराटनगर – प्रदेश नं १ को प्रदेशसभाले काम थालेको साउन ३ गते ५१ महीना पुग्दैछ । कार्यकालको उत्तराद्र्धमा रहेको यो प्रदेशले आफ्नो न्वारान गर्न नसकेको व्यापक आलोचना खेपिरहेको छ । ५१ महीनाको अवधिमा  यो प्रदेशमा दुईवटा सरकार विघटन भए तेस्रो सरकार चालु अवस्थामा छ ।

तीनवटै सरकारको प्राथमिकता प्रदेशको नामाकरण थियो, तर त्यो विषय ओझेल पर्दै गएको छ । बाँकी ६ वटा प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश-१ ले नामको प्रस्ताव पनि गर्न नसक्नु आफैंमा लज्जास्पद भएको यहाँका प्रदेशसभा सदस्यहरू बताउछन् । नामै नराखी आगामी चुनावमा भोट माग्न जाँदा जनताले किन नाम राख्न सकेनौ भनेर सोधिने प्रश्नको सबै उम्मेदवारले जवाफ दिनुपर्ने छ ।

सत्तारूढ पार्टीहरू नामाकरणका सन्दर्भमा उदासिन भएपछि नेकपा एमालेले यसको अग्रसरता लिएको छ । करीब तीन साता अघि संसदीय दलले पार्टी स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा एउटा समिति नै बनाएर अन्य दलसँग छलफल जारी राखेको छ । एमालेको बटमलाइन कोशी प्रदेश हो । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत प्रदेश–१ सबै वरिष्ठ नेताहरूसँगको परामर्शमा एमाले कोशी नाममा सहमत भएर अरू दललाई यही नाममा सहमत गराउने प्रयासमा छ ।

केही राउण्डका छलफलपछि कांग्रेसले एमालेसँग मिल्दोजुल्दो एउटा नाम प्रस्ताव गरेको छ । त्यो हो– सप्तकोशी । यी दुवै नामले  कोशी सभ्यतालाई नै प्रतिनिधित्व गर्ने उसको दाबी छ । माओवादी पार्टीले किराँत लिम्बूवान नाम प्रस्ताव गरेको छ । एकजना सांसद रहको संघीय लिम्बूवान परिषदले लिम्बूवान प्रदेश प्रस्ताव गरेको छ । जनता समाजवादी र राप्रपा पनि जातीय पहिचान भन्द फरक खालको नाममा समर्थन गर्ने मनस्थितिमा छन् ।

एमालेले गठन गरेको प्रदेश नामांकन तथा सहजिकरण समितिका सदस्य जीवन घिमिरेका अनुसार एमालेको कोशी प्रदेशको प्रस्तावमा कांग्रेसले सप्तकोशी भनेर अत्तो थापिरहनु पर्ने छैन । ‘कांग्रेसका साथीहरू एमालेले भनेको नाममा सुरू मै किन समर्थन गर्ने भनेर कोशीका अगाडि सप्त अपसर्ग लगाएर अडिनु भएको छ’ घिमिरेले यो बेलासँग भन्नुभयो ‘आशा छ दुईदिन भित्र यो अपसर्गको अडानबाट उहाँहरू पछि हट्नु हुन्छ र कोशी नाममा सहमत हुनुहुन्छ ।’

 एमाले नेताहरूका अनुसार उनीहरूले सबै प्रदेश-१ मा घरबास भएका नेताहरूसँग नामाकरणका विषयमा छलफल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाधक्ष्य सुवास नेम्वाङ, देवराज घिमिरे, अग्नी खरेल, गुरु बराल, भीम आचार्य, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे लगायतका नेताहरूसँग परामर्श गरिएको छ । यस्तै कांग्रेसका शेखर कोइराला, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला लगायतका नेताहरूसँग छलफल गरेर कोशी प्रदेशको नाम पनि प्रस्ताव गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत प्रदेश–१ सबै वरिष्ठ नेताहरूसँगको परामर्शमा एमाले कोशी नाममा सहमत भएर अरू दललाई यही नाममा सहमत गराउने प्रयासमा छ ।

 यसैगरी एकिकृत समाजवादीका माधव नेपाल, झलनाथ खनाल, घनेन्द्र बस्नेत लगायतका नेताहरूसँग पनि कोशी नामका बारेमा समितिले भेटेर कुरा गरेको छ । यस्तै माओवादीका सावित्री कुमार काफ्ले, जसपाका उपेन्द्र यादव लगायतका नेताहरूसँग छलफल भइसकेको समितिका एक सदस्यले बताए ।

ती सदस्यको दाबी अनुसार कांग्रेसका केन्द्रीय नेताहरू कोशी नाममा नरम छन् । तर स्थानीय नेताहरू सप्तकोशीको अडानबाट पछि हटेका छैनन् । कांग्रेसको संसदीय दलले दलका नेता राजिव कोइरालालाई एमालेले ल्याएको नाममा सहमत हुने कि आफूले प्रस्ताव गरेको नाममा समहत गराउने सबै जिम्मा दिएको छ । कोइरालालले यो बेलासँग भन्नुभयो ‘वार्ता र संवाद जारी छ । गठबन्धनमा पनि छलफल हुँदैछ । एमलेसँग पनि हुँदैछ। नाम नराखी यो कार्यकाल नसकियोस भन्ने हाम्रो चाहना हो । नामै राख्न नसक्दा आगामी चुनावमा जनतामा जान लाज हुने स्थिति छ ।’

प्रदेश नं १ को सबभन्दा ठूलो दल एमाले र दोस्रो दल कांग्रेसको सहमति हुने हो भने नामाकरणमा कुनै समस्या नरहने देखिन्छ । कांग्रेसका एक नेताका अनुसार गैह्र जातीय नाममा एकिकृत समाजवादीका १० मध्ये ६ जना सांसदले मतदान गर्दै छन् । यस्तो नाममा राप्रपा र जसपाका एक एकजना सांसदले पनि मतदान गर्ने छन् । ‘माओवादी र एकिकृत समाजवादीसँग सत्ता गठबन्धन भएका कारण निर्णय गर्न हामीलाई केही समय लागेको हो’ कांग्रेसका एक सांसद भन्छन् ‘सप्तकोशी र कोशीको मिलन नै नहोला भन्ने चाहिं लाग्दैन ।’

हुन त एमालेलाई सप्तकोशीमा सहमत हुन कांग्रेसले पनि दबाब दिइरहेको छ । ‘कोशी प्रस्ताव गरेकाहरूले सप्तकोशीमा समर्थन गर्दा ‘विन विन’को स्थिती हुन्छ’ कांग्रेसको प्रस्ताव सुनाउदै एमालेका एक सांसद भन्छन् ।

तर नामका विषयमा किचलो बढ्दै जाने देखेमा पार्टी केन्द्रमा एउटा सहमति बनाएर नाम पठाइदिने सम्भावना पनि टरेको छैन । त्यसमा मुख्य गरी एमाले अध्यक्ष ओली, उपाध्यक्ष नेम्वाङ, कांग्रेस नेताहरू शेखर कोइराला र कृष्ण सिटौलाको एक चरणको वार्ताले सबै कुराको टुंगो लगाउने स्रोतहरूको भनाइ छ ।

नामको विषयमा प्रदेश नं को गठबन्धनमा पनि भित्रभित्रै किचलो बढ्दै गएको छ । मुख्यमन्त्री राई जातिय पहिचान झल्किने नामको पक्षमा हुनुहुन्छ । माओवादी किराँत लिम्बूवानको पक्षमा छ । गठबन्धनको ठूलो दल कांग्रेस एमालेतिर ढल्कने प्रवल सम्भावना संसदीय गणितले पनि देखाएको छ । तर एमालेकै एक नेता सत्ता गठबन्धन र प्रदेशको नाममा कुनै साइनो नभएको बताउनुुहुन्छ । ‘नामांकनका कुरा हाउसको विजनेस हो। गबठन्धन अर्को कुरा हो’ ती नेताले भने ।

‘कोशी प्रस्ताव गरेकाहरूले सप्तकोशीमा समर्थन गर्दा ‘विन विन’को स्थिती हुन्छ’ कांग्रेसको प्रस्ताव सुनाउदै एमालेका एक सांसद भन्छन् ।

एमालेले गठन गरेको सहजिकरण समितीका संयोजक हिक्मत कार्की कोशी नाममा सहमत गराउन सबै दलहरूसँग छलफल भइरहेको बताउनुहुन्छ । ‘कांग्रेस पहिला जस्तै उत्साही भएर छलफलमा आए सजिलै टुंगो लाग्छ’ कार्कीले यो बेलासँग भन्नुभयो ‘हामी सर्वदलीय सहमतीका लागि प्रयासरत छौं । होइन भने दुईतिहाई जुटाएर भए पनि नाम राखौं भन्ने पक्षमा छौं ।’

एमालेमा सभामुख बाहेक ३८ जना सांसद छन् । कांग्रेससँग २१ जना छन् । राप्रपा र जसपाले यी दुई दलको सहमतीलाई मान्ने बचन दिएका छन् । यसैगरी एसका ६ जना सांसद पनि गैह्र जातीय नाममा कांग्रेस एमाले सहमत भए आफूहरूले मत दिने बचन दिएका छन् ।

 प्रदेश नं १ तथ्यांकमा

जिल्ला १४

स्थानीय तह १३७

जनसंख्या : ४९ लाख ७२ हजार २१

क्षेत्री : १४.८

बाहुन ११.९८

राई : ११.२६

लिम्बू : ८.१०

तामाङ : ४.६२

मगर : ४.१३

थारू : ३.६८

धर्म

हिन्दु : ६६.६३

किराँत : १७.१४

बौद्ध : ९.२०

इस्लाम ३.५९

प्रकृतिपुजक : १.३३