अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रजातान्त्रिक योद्धा तुर्साको परिवारलाई कांग्रेसले हेरेन, छोरी भन्छिन् : जसले घर बनाइदिन्छ उसैलाई भोट

प्रजातान्त्रिक योद्धा तुर्साको परिवारलाई कांग्रेसले हेरेन, छोरी भन्छिन् : जसले घर बनाइदिन्छ उसैलाई भोट


सावित्रा दाहाल

झापा-केही दिन अघि म केही विशेष रिर्पोटिङ्गको लागि शिवसताक्षी न.पा.को चन्द्रगाढी पुगेकी थिएँ । त्यही सिलसिलामा वर्तमान राजनैतिक परिवेशका सम्बन्धमा स्थानीयवासीको धारणा पनि बुझ्न मन लागेर केही स्थानीय अगुवाहरूको समेत अन्तरवार्ता लिन मन लाग्यो । सोही क्रममा अगुवा महिलाको विचार बुझ्नको लागि म सन्थाल जातिको अगुवा महिला प्रेम कुमारी मुर्मको घर पुगेँ ।

उहाँले आफूलाई राजनैतिक विषयमा कुनै कुरा गर्न मन नभएको र जसले आफूmाई बस्ने घरको व्यवस्था गरिदिन्छ उसैलाई भोट हाल्ने कुरापनि बताउनु भयो । राजनैतिक प्रतिको वितृष्णा र निरासको कारण बुझ्दा उहाँले पछि भन्नु भयो “म त्यही व्यक्तिकी छोरी हुँ, जसले आफ्नो सारा उर्वर समय र सम्पत्ति प्रजातन्त्र प्राप्तिका लागि खर्चिनु भयो, धरै नेताहरूलाई आफ्नो घरमा सुरक्षा दिनुभयो र प्रजातन्त्र प्राप्तिका लागि धेरै वर्ष जेल र नेल खप्नुभयो ।” उहाँ हुनुहुँदो रहेछ पिछडिएका सन्थाल जातिका प्रजातन्त्रवादी झापाली योद्धा तुर्सा हेमरमको जेठी छोरी प्रेमकुमारी मुर्म । 

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोग्ने झापाली योद्धा तुर्सा हेमरम, जो हामी सबै झापालीका लागि आदर्श नेताका रूपमा हुनहुन्छ, उहाँको योगदानका विषयमा आम समुदायमा जानकारी नै छ । हेमरम पिछडिएको जातिबाट उदाएका लोकतन्त्रवादी र सबै प्रजातन्त्रवादीका हृदयमा अनुकरणीय छाप छाड्न सफल नेता हुन् ।

भारतको हालको झारखण्ड राज्यको दुम्का जिल्लामा वि.सं. १९८० सालमा जन्मेका तुर्सा हेमरमले वी.पी. कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रूपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर चार÷पाँच वर्षको उमेरमा नेपाल आएका थिए । हेमरामलाई प्रसिद्ध समाजवादी चिन्तक सी.के. प्रसाईँले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । । निष्ठा, क्रियाशीलता र निरन्तरता तुर्साका सबल पक्ष थिए । मुलुक र मुलुकवासीको बृहत्तर हितका लागि सोच्न र काम गर्न ठुलो कुलघराना वा उपल्लो भनिने जातिमा जन्म लिइरहनुपर्दैन भन्ने उदाहरण रहेका तुर्सा हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरे । 

नेपाली कांग्रेसबाट राजनैतिक क्षेत्रमा प्रवेश गरेका उनले वि.सं. २००६ सालमा वि.पी. सँग भेट भएपछि वि.पी.का विश्वास पात्र बनेका थिए । तुर्सा २०२९ सालमा जेल परेर सात वर्षपछि रिहाइ भएका थिए । पछि सत्याग्रह आन्दोलनका बेला २०४२ सालमा पनि उनलाई छ महिना झापामा ल्याएर जेल हालिएको थियो । जनताको मुक्ति र प्रजातन्त्र प्राप्तिको खातिर उनीले कहिले शासक समक्ष घुँडा टेकेनन् । प्रजातन्त्र प्राप्तिको निमित्त उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए । वि.सं २०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो । जीवनभर निष्ठाको राजनैतिक गरेका उनले आफ्नो सम्पूर्ण ऊर्जा, क्षमता, वैंश, सुखसुविधा र ऐश्वर्य त्यागेर आदर्श र निष्ठाको राजनीति गरे । उनै हेमरमका नाममा प्रत्येक वर्ष  पुष २० गते स्मृति दिवस मनाइन्छ । देशका ठूला ठूला नेताले प्रजातान्त्रिक आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन हेमरमले  गरेको योगदानको चर्चा गर्दछन् ।

तर त्यही परिवारका सन्तानहरूको अहिले जीविकोपार्जनमा धौ धौ भइरहेको छ । जनताका आधारभूत आवश्यकता गाँस, बास र कपासको समस्याबाट उनीहरू पिरोलिरहेका छन् । उनकी जेठी छोरी हेमरम भन्दै थिइन “जसले मेरो चुहिएको यो खरको घर टालिदिन्छ, म त्यही उम्मेदवारलाई भोट दिन्छु ।” उनीले गहभरि आँसु पार्दै सुनाइन “आफू सानो छँदा आफ्ना घरमा वि.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सि.के (भरतवाबु) प्रसाई लगायतका थुप्रैलाई आमाले खाना बनाएर आफूले आफ्ना हातले बाँडेर याद छ । हाम्रा घरमा जे छ, त्यही पकाएर दिन्थ्यौ, कहिले मानेका डाक्ला, कहिले कच्छुको साग, कहिले पाटाको साग जे पकाएर दिएको भएपनि उहाँहरू मिठो मानेर खानुहुन्थ्यो । सबै नेताको सेल्टर थियो हाम्रो घर तर अहिले कोहीपनि हाम्रो दुःखमा साथ दिन आउँदैनन्, बरु घर देखिन्छ की भनेर मेरो घर छेउ आइपुगेपछि हतार हतार उता फर्केर हिड्छन् ।”

“त्यस समयमा छुवाछुतको चलन समाजमा प्रशस्त मात्रामा थियो । सँगसँगै राजनैतिक गर्न हिँडेका वि.पी. कोइराला,. सि.के लगायतका नेतालाई खाना खान दिँदा झर्के थालमा टेबल कुर्सीमा राखेर दिने गरिन्थ्यो र आफ्ना बुबालाई टपरीमा पर भुईँमा खान दिएको पीडा आफूसँग अझैपनि ताजैरहेको उनले बताइन् । तर सि.के प्रसाई चाहिँ बुबासँग भुईँमै बसेर खाना खानुहुन्थ्यो, उनीले भनिन्, “बुबालाई सानो जातको भनेर सबैले छुट्टाएको देखेर सि.के (भरतबाबु) प्रसाईँले अरूले हेला नगरुन् भनेर बुबाको थर परिवर्तन गरेर शर्मा बनाइदिएको अहिलेपनि म सम्झन्छु,” उनी भन्छिन्, “भूमिगत जीवनमा पनि वि.पी. कोइराला व्रत बस्नुहुन्थ्यो । व्रतका समयमा फलाहारको रूपमा उहाँलाई आमाले केरा दिनुहुन्थ्यो ।”

हामीहरू २ छोरा र  ७ छोरी हौँ । दुईवटा दाजुभाइ मध्ये एउटाको निधन भइसकेको र एकजना भाइ रे ४ जना दिदीबहिनीको निधन भइसकेकोले अव आफ्ना बुबाका ९ जना सन्तानहरू मध्ये आफूहरू ३ जना दिदीबहिनी र १ जना भाइ गरी ४ जना मात्र जीवित रहेको पनि उनले बत्ताइन् । “आफूले थाह पाउँदासम्म बुबाको जमिन २५/० विवाह जति थियो, त्यो जमिन पनि राजनैतिक गर्दै सिद्धियो, बुबाको पनि निधन भयो । अहिले बुबाको जग्गा २/३ विवाह मात्रै छ, परिवारका सन्तानहरू हामीले दुःख पायौ ।

अझ मेरो कुरा गर्ने हो, श्रीमान्ले अर्की लिएर हिँडेको पनि २३ वर्ष भयो । मेरा दुई छोरा र ३ छोरी छन् । सबैको विवाह भइसक्यो । सबै आ–आफ्नो घरबार गरेर बसेका छन् । मैले २०२८ सालदेखि चन्द्रडाँगी कृषि फर्ममा काम गरेकी थिएँ । त्यस समयमा दैनिक ज्यालादारी सुख्खा रु ४.५० पैसा थियो भने चामल लिएर रु २ थियो । साना छोराछोरी र श्रीमान्ले पनि छोडेर गएपछि मैले २०५५ सालदेखि फर्ममा काम गर्न छोडेँ । अर्काको घरमा काम गरेर, भाडा माजेर छोराछोरीलाई पनि पढाएँ, गरी खाने बनाएँ, तर अहिले उनीहरूको पनि आ–आफ्नै घर संसार छ । आफ्नो दुःख आफैसँग हुँदो रहेछ बहिनी, उनले गहभरि आँसु पार्दै सुनाइन् । अहिले आफू बसेको घर चुहिन थाल्यो, कसैले एकमुष्ठ पैसा दिएपनि बनिबुतो गरेर सुगुर पालेर भएपनि किस्ता किस्तामा तिर्ने थिएँ । उनले आफ्नो भत्किएर अलपत्र भएको घर देखाउँदै भनिन्– “यसपटक मेरो यो घर जसले बनाइदिन्छ, म त्यसैलाई भोट दिन्छु ।” 

तुर्सा हेमरमलाई इतिहासमा कहिल्यै नअस्ताउने नक्षत्रको रूपमा परिभाषित गरिन्छ । उनले गरेको योगदानको चर्चा गरिन्छ । तर उनका सन्तानको अवस्था के अवस्था छ भन्ने विषयमा हेमरम सम्बद्ध नेपाली कांग्रेस पाटी लगायत समाजका जिम्मेवार निकायहरू बेखबर छन् । उनी जेठी छोरीको त्यो अवस्था र उनका भावुकतापूर्ण भनाइबाट पनि स्पष्ट हुन्छ । आफू बस्न सुरक्षित घरसम्म नभएकोले कहिले काहीँ त त्यही बुबाको सालिक भएको ठाउँमा गएर त्यहाँको ट्वाइलेट फुटाएर बसांैं जस्तो लाग्छ, बुबाको मुखपनि हेर्न पाइने आफूपनि बस्न पाइने आँसु पुछ्दै उनले भनिन् । “सरकारले एउटा सानो घर बनाइदियोस् र बरु आफू मरेपछि लगेपनि हुन्थ्यो,” उनले   भनिन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्रका रूपमा परिभाषित गरिने प्रजातन्त्र प्राप्तिका लागि जीवनभर लडेका योद्धा हेमरम परिवारको सुरक्षा र संरक्षण गर्नुपर्ने दायित्व नेपाली कांग्रेस र राज्यको पनि हो । हेमरम जस्ता अनेकन योद्धाको आढमा सत्ता र शक्तिको उपल्लो दर्जामा पुगेका नेताहरू र तीनका राजनैतिक दलहरूले हेमरम जस्ता परिवारको सुरक्षा र संरक्षणको विषयमा घोषणापत्रमा उल्लेख गरेको छैन । आसन्न निर्वाचनमा यस्ता विषयले पनि प्राथमिकता पाओस् ।

प्रजातान्त्रिक योद्धाकी छोरी प्रेमकुमारी मुर्म र मुर्म जस्ता कयौं पीडितहरूले यो निर्वाचनपछि आफ्ना मुद्दाहरू सम्बोधन भएको महसुस गरुन्, उनीहरु जस्ताको आधारभूत सुरक्षाको ग्यारेन्टी सम्बद्ध पार्टी वा सरकारले गरोस् । तवमात्र हेमरम जस्ता योद्धाहरू प्रतिको सच्चा सम्मान हुनेछ । प्रेमकुमारी मुमु चाँडै सुरक्षित आवासमा बस्नु पाउन्, सबैमा सहयोगको अपिलसहित शुभकामना ।