अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली : एउटा अनौपचारिक मान्छे

केपी ओली : एउटा अनौपचारिक मान्छे



केपी कमरेडसँग मेरो भेट उहाँ जेलबाट छुटेपछि भएको हो । जेलबाट छुट्नासाथ हाम्रो भेटघाट भयो । त्यसपछि हाम्रो बारम्बार भेटघाट हुन थाल्यो । त्यसका दुईवटा कारण थिए । उहाँले राधिका शाक्य दिदीसँग ललितपुरमा विवाह गर्नु भयो । राधिका दिदी र हामी एउटै टिममा थियौं ललितपुरको जिल्ला कमिटीमा काम गथ्र्यौं ।
राधिका दिदी लामो समयसम्म पार्टीको जिल्ला कमिटीमा रहनु भयो । उहाँले पनि जागिर गर्नु हुन्थ्यो, मैले पनि जागिर गर्दथे । हामी भूमिगत रुपले काम गर्दथ्यौं तर हामी खुला थियौं । बिहेपछि केपी कमरेड केही समय राधिका दिदीको घरमा पनि बस्नु भयो । उहाँको डेरा पनि पाटनमै थियो । त्यहाँ जाने आउने हुन्थ्यो । म पार्टीको केन्द्रीय कार्यालयसँग जोडिएर काम गर्ने भएको हुनाले कहिलेकाँही सूचनाहरु लैजाने काम पर्दथ्यो । उहाँ सिनियर नेता भएको हुनाले उहाँसँग भेटघाट हुनु स्वभाविक नै थियो ।
मर्नै परे अन्तिम नेतालाई रेस्क्यू गरेर मात्र मर्नु
पहिलो पटक भेट्दा यसरी भेटको भन्ने त अहिले याद छैन मलाई । मेरो केपी कमरेडसँगको अस्मरणीय क्षण भनेको २०४६ सालको जनआन्दोलनका बेला हो । फागुनको १९ गते हो, दोस्रो नेपाल बन्दको दिन थियो । म उपत्यकाको पार्टीको तर्फबाट समन्वयको सदस्य थिए । पार्टीले त्यो बेला ४ जनाको समुह बनाएको थियो । त्यसमा म, भीम आचार्य, सानुकुमार श्रेष्ठ र अर्को एक जना हुनुहुन्थ्यो । त्यसबेला मेरो पाटनमा कोठा थियो । त्यसलाई सेल्टर बनाएर हामीले काम गरेका थियौं । फागुनको १८ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बसेको थियो च्यासलमा । नेताहरु सबै च्यासल क्षेत्रमै हुनुहुन्छ, उहाँहरु समातिन र मारिने खतरा हुन सक्छ भन्ने हिसाबको कुरा भयो । त्यो बेला माधब नेपालले उपत्यका हेर्नुहुन्थ्यो । मदन कमरेड यहीँ हुनुहुन्थ्यो । मलाई माधब नेपालको फोन आयो । त्यो बेला ल्याण्डलाइन फोन हुन्थ्यो । मेरो कोठामा एउटा सेट थियो । एउटा सेट माधब नेपालको कोठामा पनि थियो । त्यो सेटको कनेक्शन पनि थियो । म र भीम आचार्यसँगै थियौं । मेरो कोठा जेएन कलेको नजिक थियो । हामी के योजनामा थियौं भने खाना ढिला खाने, त्यसपछि कलेजमा सामान्य समयमा छिर्ने, त्यहाँ विद्यार्थीहरुलाई समन्वय गर्ने र भोलिको कार्यक्रमलाई अलिकति प्रभावकारी बनाउने भन्नेमा थियौं । किनभने १९ गतेको नेपाल बन्द राम्रो भएको थियो । मलाई माधब नेपालको फोन आयो । त्यहाँ विभिन्न नेताहरु हुनुहुन्छ, तपाईंहरुलाई सेल्टर पनि थाहा छ । सबैलाई रेस्क्यू गर्ने भन्ने कुरा भयो । भीम आचार्यजीले म पाटनको लोकेशन जान्दिनँ, तपाईं जानुहोस् भन्नु भयो । त्यो दिन हामीले खान पनि खाएका थिएनौं । जम्माजम्मी १ कप कालो चिया खाएका थियौं । त्यसपछि मेरो जिम्मा भयो । मलाई माधब नेपालले मर्नै परे अन्तिम नेतालाई रेस्क्यू गरेर मात्रै मर्ने भन्नु भयो । त्यो बेला हामी सबैको क्रान्तिकारी स्पिड नै हो ।
आफूले गिरफ्तारी दिएर केपी कमेरडलाई जोगाँए
मलाई नेताहरुलाई काठमाडौंमा कहाँ कहाँ राखिन्थ्यो भन्ने थाहा थियो । म विभिन्न लोकेशन हेर्दै गएँ । सिपि मैनाली, मोदनाथ प्रश्रित लगायत अलिक चर्चा भएका नेताहरुकोमा म पुगेँ । यसैगरी अन्तिममा म भरत पहारी अहिले प्रा.डा. हुनुहुन्छ । उहाँ त्यसबेला सायद इन्जिनियरिङ क्याम्पसको स्ववियूको सभापति हुनुहुन्थ्यो । म उहाँकोमा पुगेँ । त्यहाँ जीवराज आश्रित र त्रिलोचन ढकाल हुनुहुन्थ्यो । उहाँले तपाईंले टाउको दुखाउनु पर्दैन, म व्यवस्था गर्छु भन्नु भयो । केही नेताहरुलाई मेदिनी खरेलको कोठामा भेटिएको हो । म अन्तिममा केपी कमरेडको कोठामा गएँ । त्यहाँ बामदेव र उहाँ सँगै हुनुहुन्थ्यो । म त्यहाँ पुग्नासाथ उहाँले केही न केही गढबढ हुँदैछ भनेर बुझिहाल्नु भयो । सामान्यता मलाई उहाँहरुकोमा जाने अनुमति थिएन । केही अप्ठ्यारो पर्दा जाने कुरा थियो । मलाई देखेपछि के भयो भन्नु भयो । त्यसपछि पुलिसले घेरा हालिराखेको छ । नेताहरु अप्ठ्यारोमा हुनुहुन्छ । अरु नेताहरुलाई रेस्क्यू भइसकेको छ । तपाईंहरु दुईजना यहाँबाट जानु पर्छ भनेर मैले भनेँ । त्यसपछि बामदेव कमरेडले मलाई कसैले चिन्दैनन्, मेरो पछिपछि पनि आउनु पर्दैन, म हिँडे भन्नु भयो । उहाँले मैले केपी ओलीलाई यहाँ नबस भनेर भनेको थिएँ, भनेको मान्ने होइन भन्दै आफ्नै पाराले भन्नुभयो । केपी कमरेड बाँकी हुनुभयो । मैले भने, तपाईं एक्पोज हुनुहुन्छ, म तपाईंलाई लिएर जान्छु भने । म ठाउँ हेर्छु भनेर त्यहाँबाट हिँडे । त्यसपछि म रमेश चित्रकारजीको घरमा गएँ । उहाँको घर पाटनको सुन्धारामा थियो । रमेश चित्रकारलाई मैले भनेँ– केपी कमरेडलाई यहाँ ल्याउन प¥यो, उहाँलाई प्रहरीले छ्यापछ्याप्ती खोजिराखेको छ । तपाईं गएर ल्याउनु हुन्छ कि म नै गएर ल्याउँ भनेँ । म एक्सपोज छु, त्यसकारण म समातिन पनि सक्छु । मेरो कारणले उहाँ अप्ठ्यारोमा पनि पर्न सक्नु हुन्छ । त्यसकारण के गर्ने भनेर मैले भन्दा उहाँ एकदम आत्तिनु भयो । उहाँले मेरो आमाले पनि अप्ठ्यारो मान्नु हुन्छ, भाइ पनि सहयोगी छैन । यो बाटोको घर छ, प्रहरी हिँड्छ यहाँ हुँदैन भन्नुभयो । त्यति भएपछि कर गर्न राम्रो हुँदैन । यदि सेल्टरदाताले अप्ठ्यारो माने भने हामी कर गर्दैन्थ्यौं । मेरो दोस्रो सेल्टर गोपाल भन्ने हुनुहुन्थ्यो । मैले त्यसबेला टे«ड युनियन समन्वय गर्न थालिसकेको थिए । म जिफन्टको संस्थापक महासचिव पनि भइसकेको थिए । त्यसकारणले आफ्नै कार्यकर्तालाई भन्दा राम्रो हुन्छ भनेर मैले उहाँलाई भने । उहाँको डेरा हामी सामान्यतया प्रयोग गर्दथ्यौं । ढोका खोल्दा उहाँकोमा थुप्रो मान्छे रहेछन् । उहाँकोमा गाउँबाट मान्छे बिरामी भएर खाएका रहेछन् । त्यहाँबाट म फेरि निस्किएँ । त्यसपछि नागबहालतिर लैजान्छु भन्ने मेरो दिमागमा आयो । त्यसपछि तपाईं र म जाऔं भनेर मैले उहाँलाई त्यहाँबाट निकाले । म अघिअघि उहाँ पछिपछि गर्दै च्यासल नजिकै आइपुग्यौं । हिँड्दै गयौं, नेपाल बन्द थियो । अहिले जस्तो मोटरसाइकल पनि हुँदैन्थे । उहाँ रिंगरोडको किनारमै बस्नु हुन्थ्यो । त्यहाँ उहाँको डेरा थियो । त्यसपछि मैले उहाँलाई लिएर अगाडि बढें । बीच बाटोमा भरत पहारीजीको घर पर्दथ्यो । त्यहाँबाट जिवराज आश्रित र त्रिलोचन ढकाललाई उद्दार गरिसकेका थियौं । म त्यहाँ पुग्दा सन्ध्याजी र मेदिनीजी पनि आइपुग्नु भएको रहेछ । उहाँहरु फेरि भेटिनु भयो । मैले तपाईंहरु किन आउनु भएको हो भने । बाँकी हुनुहुन्छ कि भनेर हेर्न आएको हो भन्नु भयो । मैले तपाईंहरु आउनु हुँदैन्थ्यो, ल हिँड्नुस् भनेर अघिअघि हिँड्नु भयो । त्यहाँ एउटा चोर बाटो थियो । त्यहाँ मेदिनीजीको डेरा थियो । अर्को बाटो गएपछि रिंगरोड निस्किन्थ्यौं । त्यहाँ पुगेपछि अर्को मुखमा मैले पुलिसको भ्यान आएको देखेँ । पुलिसको भ्यान, अगाडि मैले चिनेको सिआइडी, प्रहरी निरीक्षक पनि मैले चिनेको । उनी माधब थापा थिए । पछि उनी सशस्त्रको एआइजी भएर अवकास भए । उनले पनि मलाई चिन्थे, म अलिक एक्सपोज मान्छे थिए । अहिले हामी टाटा सुमो भन्छौं, त्यो बेला रसियन जिप जस्तोमा मान्छे बोक्थे । गाडीभित्र पुलिसहरु बन्दुक पनि बोकेका थिए । त्यो बेला पुलिसहरुको बन्दुक बोकेर हिँड्ने चलन थियो । त्यहाँ पुलिस पनि थिए र समातिएका मान्छे पनि थिए । अब यिनीहरुलाई हामीलाई पनि समाउँछन् भन्ने मलाई लाग्यो । अन्तिममा आपूm रहने, अरु सबैलाई उद्दार गर्ने भन्ने दायित्व छ । त्यसपछि मैले हातले नआउनुस् भनेर इशारा गरेँ । त्यही बेलामा बाइमिस्टेक भन्नु पर्छ, मेदिनी खरेल चाहिँ बाटो क्रस गरेर छिर्नु भयो । त्यहाँबाट दौडिएका भए हामी सबै समातिन्थ्यौं । अर्को बर्बाद हुन्थ्यो । त्यसपछि मेरो दिमागले क्विक के भन्यो भने अब मैले गाडी रोक्छु । तिनीहरुले मलाई चिन्छन् । दीपक खरेल भन्ने पछि डिएसपी भएर अवकास भए । उनी मैले चिनेका सिआइडी थिए । दीपक खरेलले समातिहाल्छन् । उनीहरुले मलाई समाउन नखोजेपनि, समाउन खोजेपनि खुरुक्क गाडी चढिहाल्छु । त्यसबेला के थियो भने पाटनको भित्री सडकमा कुनै मान्छे समातियो भने एक सेकेण्ड पनि पुलिसले गाडी रोक्दैन्थ्यो त्यहाँका स्थानीयले आक्रमण गर्छन् भनेर । म केही भन्दासाथ खुरुक्क गाडी चढिहाल्छु, गाडी गइहाल्छ । त्यसपछि उहाँहरु अगाडि गइहाल्नु हुन्छ, उहाँलाई जोगाउन सकिन्छ । मेरो दिमागले त्यति मात्रै सोच्यो । गाडी आयो, मैले क्रस गरेँ । अनि हल्र्ट भनेर कोही करायो, त्यसपछि म खुरुखुरु गाडी चढिहालेँ । दुईतीन जना प्रहरी झरेका थिए । म खुरुक्क गाडी चढें । मैले सोचेको जस्तै गाडी त्यहाँबाट हिँड्यो । त्यसपछि सन्ध्याजी र केपी कमरेड अगाडि बढ्नु भयो । अगाडि एउटा मन्दिर थियो, त्यो गाडीबाट उहाँहरुले मन्दिर पार गरेको देखियो । मैले सोचे मेरो दायित्व पूरा भयो । त्यो घटना अविस्मरणीय छ ।
केपी ओली ः एउटा अनौपचारिक मान्छे
केपी कमरेड असाध्यै इन्फरमल मान्छे हुनुहुन्छ । मैले पार्टीको केन्द्रीय कार्यालयमा काम गरेको हुनाले सबै वरिष्ठ नेतासँग काम गर्ने मौका पाएँ । मदन कमरेडसँग पनि बस्न पाइयो, अमृत बोहोरासँग पनि राम्रै संगत भयो । माधब नेपालसँग पनि लामै सम्बन्ध भयो । केपी कमरेडसँग पछिल्लो कालमा मेरो लामो संगत भयो, अघिल्लो कालमा धेरै भएन । प्रदीप नेपाल, जिवराज आश्रित, झलनाथ खनाल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेसँग मेरो सहकार्य भयो । यी सबैमध्ये केपी कमरेडसँग काम गर्दा बोझ महशुष हुँदैन । उहाँले सबै विषयलाई गम्भीरतापूर्वक राख्नु हुन्छ तर सरल तरिकाले । उहाँसँग बस्दा साथीसँग बसेको जस्तो लाग्छ । अरुसँग बस्दा म नेतासँग बसेको छु जस्तो लाग्छ । कतिपय कुरा अभिव्यक्त गर्न पाइँदैन ।
दोस्रो उहाँले भन्ने कुरा एकदम सरल भाषाको हुन्छ । राजनीतिका कतिपय कुराहरु बोल्दा एकदम सरल भाषामा भन्नुहुन्छ, बोझिला हुँदैनन् । जनबोलिमा बोल्ने र बुझाउने प्रयत्न गर्ने गर्नुहुन्छ । स्थानीय उदाहरण दिने, चलन चल्तीको उदाहरण दिने उहाँको स्वभाव छ । उहाँसँग जति कुरा गर्दै गयो, उहाँसँग बुझाईको गहिराई बढी छ भन्ने महशुस हुन्छ । पहिले मान्छेले भेट्दा सामान्य कुरा गरेको जस्तो ठान्छ तर एकतह कुरा गरेपछि यो मान्छेको त धेरै कुराको ज्ञान छ भन्ने थाहा हुन थाल्छ । त्यसकारण केपी कमरेडसँग एक दुई घन्टा कसैले कुरा गरेर बस्यो भने त्यो मान्छे प्रभावित भएर जान्छ । १०÷१५मिनेटको मेकानिकल टाइपको कुराकानी हुन्छ ।
केपी ओलीसँग औपचारिक विषयमा कुरा गर्नु अगाडि धेरै कुरा हुन्छन् । धेरै कुरा हुँदा उसले मन पराउने वा नपराउने भएपछि मात्र औपचारिक विषयमा कुराकानी हुन्छ । उहाँको र अरुकोमा मैले पाएको भिन्नता त्यही हो ।

ठूलो स्कूलको हेडमास्टर सानो स्कूलको हेडमास्टरमा केही फरक छ र ?
केपी कमरेडले कम्परमाइज नगर्ने भनेको बेथितिसँग मात्र हो । चाहिने कुरामा कम्परमाइज नगर्ने भन्ने नै हुँदैन । सबै कुरा उहाँ सुन्ने मान्छे हो । बेठीक कुरासँग उहाँले कम्परमाइज नगर्ने हो । उहाँले खासगरी छिमेकीसँगको सम्बन्ध, शक्ति राष्ट्रहरुसँगको सम्बन्धमा उहाँले सार्वभौम समानताको कुरा गर्नु हुन्छ । केपी कमरेडलाई सधैँ मनमा पर्ने कुरा के हो भने यदि म ठूलो देशको प्रधानमन्त्री भएको भए के हुन्थ्यो र अहिले म सानो देशको प्रधानमन्त्री भइरहदा के भइराखेको छ भन्ने विषयमा उहाँले तुलना गर्नुहुन्छ । प्रधानमन्त्री त प्रधानमन्त्री नै हो । ठूलो स्कूल र सानो स्कूलको हेडमास्टर त एउटै हो, उनीहरुको भूमिका पनि एउटै हो । होला विद्यार्थी संख्या ठूलो भएका कारणले व्यवस्थापन गर्न उसको अनुभव अर्कै होला, तर गर्ने काम एउटै हुन्छन् । त्यसकारण धेरै ठूला शक्ति राष्ट्रका प्रधानमन्त्रीले समकक्षताको व्यवहारमा तलमाथि गर्ने कुरा उहाँलाई मन पर्दैन्थ्यो । त्यसकारण सायद कतिपयलाई बिझ्ने कुरा पनि त्यही होला । यो सानो देशको मान्छे, विकासोन्मुख देशमा उक्लिँदै गरेको एउटा प्रधानमन्त्री समकक्षताको कुरा गर्छ, समानताको कुरा गर्छ, सार्वभौम समानताको कुरा गर्छ बिझ्थ्यो होला । उहाँको त्यो दृष्टिकोण पनि कतिपय हेजेमोनिस्ट खालका प्रभुत्व लाद्न चाहनेहरुलाई मन नपरेको हुनसक्छ ।
…त्यसपछि उहाँ भारत भ्रमणमा जानुभयो
उहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा मुलुकमा नाकाबन्दी सुरु भइसकेको थियो । नाकाबन्दी भनेको खासगरी हाम्रो संविधानप्रति असहमति र हाम्रो सार्वभौमविरुद्धको असहमतिमा छिमेकी राष्ट्रले नाकाबन्दी ग¥यो । त्यो नाकाबन्दी अमानवीय थियो । त्यसको विपक्षमा उहाँ खरो रुपमा बोल्नु भयो । उहाँ गल्नु भएन, उहाँले मिलाउने भन्ने भाषा प्रयोग गर्न चाहनु भएन । मेरो देशको संविधान मेरो देशको हो, मेरो देशको जनताले बनाएको संविधान, मेरो देशको संविधान हुन्छ । मेरो देशको जनतालाई कस्तो संविधान चाहिन्छ भन्ने कुरा अर्को देशले डिक्टेड गर्ने होइन । उहाँले त्यही पोजिशन राख्नु भयो । दुई देशका बीचमा उहाँले सार्वभौम समानताको कुरा गर्नु भयो । मुलुकहरु भूगोलका आधारमा साना ठूला हुनसक्छन्, जनसंख्याका आधारमा साना ठूला हुनसक्छन् तर सार्वभौमसत्ता चाहिँ बराबर हुन्छ भन्ने उहाँले भन्नुभयो । त्यसपछि उहाँले मुलुकलाई अप्ठ्यारो पर्ने, मुलुकलाई नमिल्दो खालका कुनै पनि कुराको विषयमा नै प्रवेश गर्न दिनु भएन । भारत भ्रमणमा पनि उहाँले आफ्ना सबै कुरा राख्नु भयो । नाकाबन्दी नहटेसम्म भारत भ्रमण नै गर्दिनँ भन्नु भयो । फागुन ७ गते यहाँको प्रजातन्त्र दिवस मनाएर उहाँ भारत भ्रमणमा जानुभयो । त्यसमा भारतीय मित्रहरुले सम्मान गर्ने मामिलामा कुनै कसर बाँकी राखेनन् । तर उनीहरुका आफ्ना एजेण्डा त छँदै थिए । ती एजेण्डामा हाम्रो प्रधानमन्त्रीले सहमति जनाउनु भएन । कर्मचारीले भनेका कुरालाई उहाँले आफ्नो विषय पनि बनाउनु भएन । केपी ओलीको स्वभाव कस्तो छ भने सिस्टमले तयार गर्दिएको नोट पढेर हिँड्ने कार्यकारी प्रमुख उहाँ होइन । सिस्टमले तयार गरेको नोटलाई उहाँले भेरिफाइड गर्नु हुन्थ्यो र त्यसमा राजनीतिक दृष्टिकोण दिनु हुन्थ्यो । यो तरिकाले हाम्रा कुराहरु जानु पर्छ भन्नु हुन्थ्यो ।
भारतमा जति पनि नेताहलाई भेट्दा हामी त साथी साथी मित्र जस्तो कुरा पनि गर्नु भएन, साथी हो भने बेथिति किन गरेको ? सानो मुलुकलाई थिचेर फाइदा के हुन्छ भन्ने विषय नै उहाँले उठाउनु भयो । मलाई लाग्छ त्यो कतिपय प्रभुत्वादी सोच भएकाहरुलाई अप्ठ्यारो पनि भएको होला ।
केपी ओलीको बुझाइमा भारत र चीन सम्बन्ध
केपी कमरेडको सन्दर्भमा हामीले भूराजनीतिक विषयलाई हेर्न सक्छौं । उहाँले चाइनाका विरुद्ध भारत, भारतका विरुद्ध चाइना, भारत र चाइना मिलाएर अमेरिकाका विरुद्ध अथवा युरोपियनका विरुद्ध यसको भर्सेस यो भन्ने सोच्दै सोच्नु भएन । उहाँले के सोच्नु भयो भन्दा मेरो देश भूराजनीतिक हिसाबले असाध्यै संवेदनशील ठाउँमा छ । दुईवटा छिमेकीको संवेदनशीलतालाई मैले ख्याल गर्नुपर्छ । उनीहरुले जे भनेपनि उनीहरुको संवेदनशीलतामा आँच पु¥याउने काम मैले गर्नु हुँदैन । एउटा छिमेकीका विरुद्ध अर्कोलाई प्रयोग गर्ने र कुनै पनि छिमेकीबाट लाभ लिँदा अर्को छिमेकीले चित्त दुखाउँछ भनेर सोच्ने कुरा हुँदैन । भारतसँग व्यवहार गर्दा भारतसँग लिनसक्ने लाभ लिने हो, चीनसँग व्यवहार गर्दा चीनसँग लिनसक्ने लाभ लिने हो । दुवै देशको चासो र चिन्तालाई सम्बोधन गर्ने हो, जुन हाम्रो मुलुकलाई घाटा नपुग्ने खालको हुन्छ । यदि उहाँहरुले राख्नु भएको कुनै चासोले हाम्रो मुलुकलाई आघात पार्ने खालको छ भने त्यो सिधै हुँदैन भनिदिने हो । यो हिसाबको दृष्टिकोण उहाँले राख्नु भयो । हामीले चीनसँग पारवहन सन्धी ग¥यौं । नाकाबन्दीको लगत्तै गरेको पारवहन सन्धी आफैँमा एउटा सन्देश थियो । नेपाल अब भूपरिवेष्ठित मात्रै रहेन, समुन्द्रसँग अर्को तिरबाट पनि बाटो जोडियो भनिएको थियो । भूपरिवेष्ठित मुुलुकलाई एउटा छिमेकीले मात्रै बाटो दिने होइन । जति छिमेकी छन्, सबैले बाटो दिनु पर्दथ्यो । पहिलेकाले पहल गरेनन् वा आवश्यक ठानेनन् तर हामीले पहल ग¥यौं । अर्को हिसाबले हेर्दा हामीले चीनसँग आफ्नो एसेस्ट प्रयोग गरेर आफ्नो अधिकार लियौं । तर कसैकसैले भारतले नाकाबन्दी गरेका बेलामा चीनसँग सहकार्य ग¥यो भन्ने पनि छन्, त्यो अल्प बुझाई हो जस्तो मलाई लाग्छ । तर हामीले चीनसँग लिने अधिकार पनि सुनिश्चित गरिसकेका थियौं । भारतसँग लिने पनि लिन प्रयास गरिरहेका थियौं । दुवै मुलुकको मित्रताले नै हाम्रो मुलुक समृद्ध हुन्छ भन्ने पनि सन्देश दिएका थियौं । यही केही कुराहरुले केही साथीहरुलाई चित्त बुझेन ।
केपी ओली एउटा अध्येता
केपी ओली एउटा अध्येता मान्छे हो । अध्येता मान्छे भएपछि सधैँ अध्ययन गरिरहनु हुन्छ । केपी ओलीको अधिकांश भाषणमा नाम चलेका ठूला मान्छेको कोटेशन कमै पाइन्छ । उहाँले सामान्यता मदन भण्डारीको कोटेशन पनि कम प्रयोग गर्नु हुन्छ । कार्लमाक्र्स, माओको पनि कम प्रयोग गर्नु हुन्छ । अरु बामपन्थी नेताभन्दा उहाँको पृथक स्वभाव हो । उहाँले ती कोटेशनमा भनिएका कुरा मनन् गर्नु हुन्छ र आफ्नो भाषामा बोल्नु हुन्छ । उहाँले हरेक विषयलाई पढ्ने होइन कि आत्मसात गर्नु हुन्छ । उहाँको पठन मात्र नभएर मनन गर्ने स्वभाव पनि छ । उहाँले जे पढ्नु हुन्छ, बुझेर पढ्नु हुन्छ । बुझेर पढेको कुरालाई उहाँले प्रयोग गर्नु हुन्छ । कतिपय नेताले पढ्छन्, नोट बनाएर राख्छन् होला सम्भवत । उनीहरुको किताब निकाल्छु भन्ने रहर होला । मेरो आफ्नो बुझाईमा केपी कमरेडले कुनै कुरा पढ्नु भयो, पढ्दा रोचक लाग्यो भने यो ठीक छ, यो सार्वजनिक रुपमा भन्नु पर्छ भनेर उहाँले अर्को दिन कुनै भाषणको कार्यक्रम छ भने त्यो सन्दर्भमा उहाँले जोडिहाल्नु हुन्छ । बुझ्नेले उहाँले यस विषयमा थप अध्ययन गर्नु भएछ भनेर बुझ्छन् ।
जेल केपी ओलीको विश्वविद्यालय
उहाँले १४ वर्ष जेलमा समय बिताउनु भयो । उहाँले जेललाई साँच्चिकै अर्थमा भन्दा विश्वविद्यालय बनाउनु भएछ । किनभने उहाँले सबै खालका विषय त्यहाँ पढेको देखिन्छ । भाषाका शुद्धताका कुरा र प्राप्त भएका किताबका सन्दर्भका कुराहरुलाई जोड्नु हुन्छ । ती सन्दर्भहरु ठीक÷बेठीक के थिए भन्ने कुरामा एकदमै ख्याल गर्नु हुन्छ । अरु नेता र केपी ओलीमा म भिन्नता के देख्छु भन्दा उहाँको स्मरण शक्ति एकदमै तिष्ण छ । म आफैँसँग तुलना त गर्न सक्दिनँ । हामीहरुले कुनै खास सन्दर्भमा पुगेपछि दो¥याएर नोट हेर्छौं । उहाँले गहिरोसँग पढ्नु भएको छ भने तिथि मिति सहित भन्नु हुन्छ । त्यसले पनि उहाँको भनाईलाई वा बुझाईलाई लाइभ बनाउँछ वा अरुको भन्दा पृथक बनाउँछ । अरुले बोल्दै जान्छन्, सन्दर्भ बिसिन्छन्, त्यसपछि रोकिन्छन् । उहाँले बोल्ने भनेपछि यो सन्दर्भ प्रयोग गर्दा उचित हुन्छ कि हुँदैन भनेर सोच्नु हुन्छ । त्यो सोचेपछि उहाँले तिथि, मिति र समय सन्दर्भ अनुसार जोड्नु हुन्छ । त्यो हिसाबले उहाँमा ज्ञान प्राप्ति र ज्ञानलाई कम्प्युटरमा जस्तो आर्काइभ गर्ने तरिका जस्तै केपी कमरेडको मानसपटलमा पनि त्यही हिसाबले इन्साइक्लोपिडिया आर्काइभमा छ । कतिपय विद्धान् पनि इन्साइक्लोपिडिया नै हुन् । अर्काइभ नहुँदा कुन बेला कुन सन्दर्भ खोज्ने भन्दा अलमल हुन्छ । तर उहाँको दिमागको अर्काइभिङ गज्जवको छ । त्यसलाई उहाँले सन्दर्भवस कुन बेला कुन निकालेर बोल्ने भन्ने कुरा जोड्नु हुन्छ । उहाँले बोलेपछि कसैले मलाई यो तिथि मिलेन, सन्दर्भ मिलेन भन्यो भने पहिला उहाँ मान्नु हुन्न । किनभने उहाँले आफैँले बुझेकै आधारमा बहस गर्नु हुन्छ तर मान्छेले भनेपछि उहाँले भेरिफाइड गर्नु हुन्छ । साँच्चै यो मान्छेले भनेको कुरामा दम छ त भनेर खोज्नु हुन्छ । पृथक रहेछ भने उहाँले फेरि निसर्त सच्चाएर बोलिहाल्नु हुन्छ र त्यसलाई कायम गर्नु हुन्छ । अर्को उहाँको राम्रो बानी उहाँ नोट गर्न रुचाउनु हुन्छ । हामी डिजिटल्ली नोट गर्छौं, उहाँ कापीमै नोट गर्नुहुन्छ । हामी कुनै पनि कमिटीको निर्णय सुनाउँदा उहाँलाई हामीले प्रिन्ट नै गरेर दिन्छौं । तर प्रिन्ट कपी राखेर आफ्नो कापीमा लेख्नु हुन्छ । त्यो गर्दा लेखेको म बिर्सिन भन्ने छ । उहाँको सम्झिने विधि त्यो हो कि जस्तो लाग्छ । अहिले अडियो÷भिडियो उहाँले धेरै हेर्नु हुन्छ । टिकटकदेखि लिएर फेसबुक, युटुवमा आएका सूचनाहरु उहाँलाई चाख लागेका कुरालाई सबै सन्दर्भमा जोडेर हेर्नु हुन्छ । उहाँमा त्यो भनिएका कुरा ठीक÷बेठीक के हुन् भनेर छुट्याउने क्षमता छ । क्षमता नहुने मान्छे बहकिने खत्तरा हुन्छ र गलत सन्दर्भमा बोल्ने खत्तरा हुन्छ । केपी ओली त्यसमा नबहकिने र आफ्नो बुझाइको र आफ्नो रेफरेन्सका आधारमा तुलना गर्ने, ठीक÷बेठीक के छ भनेर तुलना गरेपछि आपूmलाई ठीक लागेपछि यो ठीक हो भनेर बोल्ने बानी छ । अध्ययनमा उहाँको क्रस सेक्टरल नलेज छ । उहाँ साहित्य, संस्कृति, परम्परा, धर्म, दर्शन, विज्ञान, विज्ञानमा पनि खगोलियन लगायत सबै विषयमा उत्तिकै रुचिका साथ अध्ययन गर्नु हुन्छ । सामान्य मान्छेमा त्यस्तो हुँदैन । अर्थतन्त्र, वित्त, ट्याक्सेशनका कुराहरुमा चासो नहुनेलाई त्यो रुखो विषय जस्तो लाग्छ । कानूनकै विषय रुखो लाग्छन् । तर उहाँ कुनै पनि विषयलाई रुखो मानेर पढ्नु हुन्न । हामीले धेरै पटक संविधान पढेका छौं । प्रतिनिधिसभा विघटन गर्दा लाइन लाइन संविधान पढेका छौं यो उचित हो कि होइन भनेर । उहाँले लाइनमा के लेखेको छ मात्रै हेर्नु हुँदैन विटविन द लाइन र त्यसमा अर्थ के छ, यसको व्याख्या कसरी गर्न सकिन्छ भन्ने समेत राखेर उहाँले पढ्नु हुन्छ । त्यसकारणले गर्दा उहाँको अध्ययन अरु कसैको भन्दा गहिरो र बलियो छ ।
उहाँ किड्नी ट्रान्सप्लान्ट गरेको १० दिनमा सिंहदरवार आउनु भयो । यो उहाँको इच्छा शक्तिका कारणले हो जस्तो मलाई लाग्छ । पछिल्लो पटकको किड्नी ट्रान्सप्लान्ट, एपेन्डिक्सको अप्रेशन, बडी फर्मेशन हुँदा सिंगापुरको उपचारमा म आफैँ पनि सामेल भए । त्यो भएको हुनाले सबै घटनाहरु मैले नजिकबाट देखेको छु । मैले सुनेको थिए, उहाँलाई एकपटक म्यानेनजाइटिस् भएर हामीले बैङ्कक पठायौं । त्यहाँ पठाउँदा उहाँ अलमस्ट कोल्याप्स हुनुभएको थियो । यो नवौ राष्ट्रिय महाधिवेशनभन्दा अगाडिको कुरा हो । सँगै जो साथीहरु जानु भयो, सबैले आश र माया मारेर आउनु भएको थियो । स्वयम डाक्टरले पनि १० प्रतिशतभन्दा बढी आशा छैन भनेर भनेको थियो रे । परिवारका सदस्यलाई २५ प्रतिशत आशा छ भनेको थियो रे, उहाँलाई १० प्रतिशत भनेको थियो रे । उहाँ बसेको वार्डमा चित्र राखेको थियो रे, त्यो चित्र हरेर बामदेवको फोटो, विष्णु पौडेलको फोटो तिनीहरुको फोटो यहाँ कसले ल्याएर राख्दिएछ भनेर । त्यसपछि उहाँलाई मन परेका कारणले साथीका नाताले आए, तपाईंले भनेर ल्याएर टाँस्दिएको भन्थे रे साथीहरुले । उपचार गर्ने डाक्टरले उहाँलाई हरेक दिन डायरीमा लेख्न लगाउँदो रहेछ । तपाईंले नाम लेख्नुस् र सही गर्नुस् भन्यो । ३० दिन जस्तो लाग्छ अस्पतालमा बस्नु भएको । हरेक दिन आएर डाक्टरले सही गराउन्थ्यो रे । जब उहाँ डिस्चार्ज हुने तहमा पुग्नु भयो, डाक्टरले त्यो डायरी लिएर दियो । पहिलो दिनको उहाँले गरेको सही र अन्तिम दिन गरेको सही उसले देखायो । पहिलो दिनको सहीमा धर्का बाहेक केही पनि थिएन रे । धर्का धर्का लेख्दा लेख्दै उहाँ केपी ओली लेख्ने तहमा पुग्नु भयो । त्यो सबै देखाएपछि डाक्टरले के भन्यो रे भन्दा तपाईंको इच्छा शक्ति साह्रै बलियो हो । अब म कति दिनमा हिँड्न सक्छु भन्नु भएछ । डाक्टरले तपाईं ६ महिनामा हिँड्न सक्नु हुन्छ होला भनेछ । उहाँले त मलाई ६ महिना छैन भनेर भन्नु भयो । किनभने काठमाडौंमा महाधिवेशनको तयारी चल्दै थियो । उहाँ अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो । माधब नेपाल र उहाँको बीचमा प्रतिस्पर्धा हुँदै थियो । होइन तपाईं चल्न सक्नुहुन्न, तपाईंलाई अप्ठ्यारो छ, तर हामींले भनेको मानेर गर्नु भयो भने ६ महिनामा तपाईं ठीक हुनुहुन्छ भनेर भनेको थियो रे । तर उहाँ त भोलिपल्ट अस्पतालबाट कार्यक्रममा आउनु भयो । त्यसपछि उहाँ रोकिँदै रोकिनु भएन । चुनावपछि लगत्तै प्रधानमन्त्री बन्नु भयो ।
पहिलो कार्यकालको प्रधानमन्त्रीबाट हटेपछि अस्पताल गयौं । म पनि सँगै गएको थिए । अनि मैले नै त्यो डाक्टरलाई ठट्टा गरेँ, तिमीले ६ महिना पछि ठीक हुन्छ भनेको, हामी ६ महिना नपुग्दै चुनाव लडेर चुनाव जितेर प्रधानमन्त्री भएर अहिले भूतपूर्व प्रधानमन्त्री भएर यहाँ आउनु भएको छ भनेँ । उनीहरु यसलाई अनौठो खालको इच्छाशक्ति भनेर मान्छन् । मलाई मेडिकल साइन्स धेरै थाहा छैन, तर इच्छाशक्तिले मान्छेको प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ जस्तो लाग्छ । आशाले मान्छेलाई रोगसँग लड्ने क्षमता दिँदो रहेछ ।
एपेन्डिक्सको अप्रेसन ः ग्राण्डी पु¥याउन नभ्याएपछि टिचिङतिर मोडियो गाडी
उहाँको पछिल्लो एपेन्डिक्सको अप्रेशन गरेको २०७६ को मंसिरमा हो । अस्पताल पुग्दा उहाँ कन्ससमा हुनुहुन्थ्यो । उहाँलाई त्यो दिन काठको बेडमा सुताएको हो । जाँदाजाँदै डा. विद्या सिंहले विभिन्न विषयका डाक्टरहरुलाई डाक्दै जानु भयो । बालुवाटारबाट हामी ग्राण्डी हिँडेको त्यहाँ पुग्न भ्याइँदैन भनेपछि टिचिङतिर गाडी मोडियो । त्यहाँ रगत चेक गरियो । डाक्टरहरुले यो एपेन्डिक्स हो भनेर पत्ता लगाएपछि अप्रेशन गरियो । त्यो ब्रष्ट भएर उहाँको शरिरभरी फैलिसकेको थियो । ७÷८ लिटर पिप बाहिर निकालियो भनेर बाहिर पनि आएको थियो । २÷३ घन्टासम्म डाक्टर साहेव भित्र रहनु भयो, लामो समय लाग्यो । निस्किएका डाक्टरहरुलाई सोध्दा उहाँहरुले सिधा कुरा गर्नु भएन । राती ६ः३० बजे डा. विद्याले मसँग कुरा गर्दा विष्णु सर यू डिड नट विलिभ इन गड, आइ गड विलिभ शब्द प्रयोग गर्दै ९० प्रतिशत आइ नो, १० प्रतिशत गड नोज भनेर भन्नुभयो । मैले प्रधानमन्त्रीको कुरा हो, १० प्रतिशत होइन, १ प्रतिशत पनि पाइँदैन भनेपछि उहाँले हामी भगवान होइन भन्नु भएको थियो । डाक्टर आफैँ प्रेसरको औषधि खाने तहमा पुग्नु भएको थियो । मुटुको डाक्टर भगवान कोइरालाले कोही नबस म एक्लै उपचार गर्छु भनेर एकदमै इरिटेड हुनु भएको थियो । त्यो भनेको उहाँ पनि एकदमै चिन्तामा हुनुहुन्थ्यो भन्ने बुझिन्थ्यो । डाक्टर अरुण सायमी आएर मैले विद्यालाई प्रेसरको औषधि खुवाएर आएँ भन्नु भयो । सबै डाक्टरसाप्हरु वरिपरी पर्न चाहिरहनु भएको थिएन । त्यसमा उहाँले जित्नु भयो । सातौ दिनको दिन उहाँले चाइनिज डेलिगेशनलाई निवासमा भेट्नु भयो । यी सबै कुरा हेर्दा उहाँको आत्मविश्वास नै ठूलो कुरा हो जस्तो लाग्छ । उहाँ मृत्युदेखि आत्तिने मान्छे बाँच्दैन, मृत्युलाई सहज ढंगले लिने मान्छेलाई केही पनि हुँदैन । किनभने मृत्यु सधै सँगसँगै हुन्छ, हामीले गर्ने भनेको मृत्युलाई परपर पठाइदिने हो । जीवनमा मृत्यु सँगसँगै हुन्छ भनेर दार्शनिक हिसाबले पनि बोल्ने खालको हुनुहुन्छ ।
उहाँले धेरै कुरा फेस गर्नु भएको छ । खोलामा बग्नेदेखि, गाडी पल्टिनेदेखि, हेलिकप्टरबाट खस्नेदेखि, दुईपटक किड्नी ट्रान्सप्लान्ट भयो, एकपटक एपेन्डिक्शको अप्रेशन भयो । उहाँ जेलमा अलमस्ट मृत्यु भएको मान्छे हो । उहाँलाई अल्सर, निमोनियादेखि के मात्र भएन र ! यी सबै झमेलाहरु फेस गर्दै आएका कारणले सायद उहाँलाई जीवन जिउन सकिन्छ मज्जासँग, पराजित गर्न सकिन्छ मृत्युलाई भन्ने लाग्छ होला ।
अरु नेता र केपी कमरेडका बीचमा भिन्नता के हो भने अरु नेता मेरो समय छैन भनेर भन्छन् । मान्छेले ठीक÷बेठीक दुवै एंगलबाट व्याख्या गर्ने गरेका छन् । मेरो समय छैन भनेर छुट्टै बस्छन्, कोहीसँग नभेटेर अध्ययन गरेर बस्छन् । एउटा समयको अध्ययनपछि उनीहरु फेरि भेटघाटमा लाग्छन् । अरु नियमित रुटिनमा लाग्छन् । केपी ओलीले भेट्न चाहने, कुरा गर्न चाहनेहरुलाई बाहिर पठाएर, संगत नगरेर अध्ययन गरेर बस्दै बस्नु हुन्न । उहाँ पहिले मान्छेलाई समय दिने हो । त्यो पनि मनग्य समय दिने हो । तपाईंलाई उहाँको टिममा बसेर काम गर्दा कहिले कहिले चित्त बुझ्दैन । मान्छेको प्रेसर बढेको हुन्छ । उहाँले थोरै भेटेर बिदा गर्दिए हुन्थ्यो जस्तो लाग्छ नि । तर आउने मान्छे जुनसुकै हैसियतको होस्, मनग्य समय दिनुहुन्छ । समय छैन भने छैन भन्ने तर समय छ भने मनग्य समय दिने र उ सन्तुष्ट भएर जाओस् भन्ने उहाँको छ । त्यसपछि उहाँको समय जति बचत हुन्छ, उहाँ नसुतेर बसेर पढ्ने हो । हामी कहिले कहिले १२÷१÷२ बजेसम्म हुन्छौं । हामीले पनि उहाँसँग समय माग्दा ८÷९ बजेपछिको समय माग्छौं । त्योभन्दा अगाडि अरु नेता कार्यकर्तालाई समय दिएको छ भन्ने थाहा हुन्छ । हामी कोर टिममा बस्ने मान्छे वा पदाधिकारीले मध्य रातमा उहाँलाई भेट्छौं । हामी मध्य रातमा भेटेर रातीको २÷३ बजे हिँड्छौं । तर हामी हिँड्नसाथ उहाँ सुत्नु हुन्न । उहाँ फेरि पढ्न थाल्नु हुन्छ । उहाँले अध्ययन गर्ने भनेको जुन बेला समय बच्यो, त्यही बेला अध्ययन गर्ने हो । सोसल मिडिया हेर्ने भनेर फेरि फेसबुक खुइखुइ पल्टाएर हेर्ने खालको होइन । उहाँको उद्देश्यसहितको अध्ययन हुन्छ । त्यो उद्देश्यसहितको सामग्री कहाँ छ त, फेसबुकमा छ, ट्विटरमा छ, वेभसाइटमा पाइन्छ, युटुवमा पाइन्छ अथवा कहाँ पाइन्छ उहाँले खोज्नु हुन्छ । प्रिन्ट मिडियाहरु, डिजिटल मिडियाहरु कहाँ छ भनेर वेभसाइट खोज्नु हुन्छ । अडियो÷भिडियो साइडमा खोज्नु हुन्छ । त्यसमा ज्ञान राख्नु हुन्छ, ज्ञान राखेपछि त्यसमा सरसर्ती हेर्नु हुन्छ । मान्छेको टे«न के छ, कसरी गइराखेको छ भनेर हेर्नु हुन्छ । उहाँले जहिले पनि हामी टिममा बस्ने मान्छेहरुलाई हौसला दिनुहुन्छ । उहाँले आफ्नो म्यासेन्जरमा पठाएका म्यासेजलाई जवाफ पठाउनु हुन्छ । चुनावमा त सबैलाई जवाफ पठाएर बस्नु भयो । नत्र उहाँले आफ्नो ‘नलेज’मै सबैलाई म्यासेज पठाउनु हुन्छ । त्यो सचिवालयका मान्छेले आफ्नो तालले लेखेर हुँदैन । त्यहाँ केपी ओली नै हुनुपर्छ ।
केपी ओली ः सामाजिक मान्छे
केपी ओली बढी सामाजिक मान्छे हुनुहुन्छ । कतिपय नेताहरुले कमिटीको कुरा गर्नु हुन्छ । तर तपाईं बिवाहित हुनुहुन्छ भने तपाईंको म्याडम के गर्दै हुनुहुन्छ भनेर बडो सम्मानका साथ सोध्नु हुन्छ । कार्यकर्ताका छोराछोरी सबैलाई उहाँले साथी जस्तो बनाउनु हुन्छ । फोन बोक्ने उमेरकालाई फोन नम्बर मागेर आफैँ फोन गर्नु हुन्छ । उहाँ म केपी शर्मा ओली बोलेको हो भनेर भन्नु हुन्छ । उहाँले हाम्रो सेटबाट पनि कुरा गर्नु हुन्न । उहाँले आफ्नै सम्बन्ध कायम राख्नु हुन्छ । उहाँको त्यो तहको जनसम्पर्क शैली छ । त्यसो हुँदा उहाँले परिवारका कुरा, घरका कुरा गर्नु हुन्छ । कसरी बाँचिएको छ, के खान्छस् तैले पनि भनेर उहाँले सोध्नु हुन्छ । जागिर हुनेलाई तलबले पुगेको छ कि छैन ? पुगेको छैन भने कसो गरेको छस् भन्नुहुन्छ । तर केपी ओलीले भेटेर कुराकानी गर्ने साथीहरुलाई सोध्नु हुन्छ । यहाँ कहाँ बस्नु हुन्छ, डेरा छ कि घर हो कि भनेर सोध्नु हुन्छ । गाउँबाट आउँछ कि आउँदैन अथवा यहीँ किन्नु हुन्छ कि कसरी बाँच्नु भएको छ ? के गर्नु भएको छ ? तलब छ भने कति तलब छ ? त्यसले के पुग्छ÷पुग्दैन ? सबै चासो उहाँले राख्नु हुन्छ ।े सामाजिक विषयमा उहाँको बढी रुची छ । राजनीतिक हिसाबमा पनि कुरा हुन्छ । कमिटीका कुरा होलान्, दाउपेचका कुरा होलान्, विभिन्न राजनीतिक नेताहरुका सम्बन्धका कुराहरु हुने भए । त्यसपछि ज्ञान, अध्ययन र विषयगत जानकारीका कुराहरुमा त छलफल भइहाल्छ ।
चार जना नेतालाई सँगसँगै बाहिर निकाल्नुस्, अरुलाई जनताले नमस्ते गरेर बाटो छोड्दिन्छन् । उहाँलाई भेटेपछि नमस्ते गरेर मात्रै पुग्दैन । फोटो खिच्न मन लाग्छ । गु्रपमा फोटो खिच्न भन्छन् । एक्लै फोटो खिच्न भन्छन् । एक्लै खिचेर पनि पुग्दैन, आफ्नो क्यामेरा निकालेर सेल्फी खिच्छन् । यो उहाँसँगको सम्बन्धको कुरा हो ।
(रिमाल नेकपा एमालेका उपमहासचिव हुनुहुन्छ)