अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० बुँदे संकल्प: हरेक सदस्यले ३ नयाँ सदस्य बनाउनेदेखि डिजिटल पार्टी निर्माणसम्म

एमालेको १० बुँदे संकल्प: हरेक सदस्यले ३ नयाँ सदस्य बनाउनेदेखि डिजिटल पार्टी निर्माणसम्म


काठमाडौँ नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ। प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने निर्णय गरेको छ।

कार्यशालाले १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ। पारित संकल्प प्रस्तावमा गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीका सक्रिय हुन आह्वान गरेको छ । 

‘ठिक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने संकल्प पनि एमालेले गरेको छ। 

‘यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने संकल्प गर्दछ’, संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्ताव गरेको संकल्प प्रस्तावमा भनिएको छ ।

‘सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प गर्दछ’, एमालेले भनेको छ । 

यस्ता छन् संकल्प प्रस्तावका १० बुँदा :

१.यो कार्यशाला पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गर्दछ।

२.यो कार्यशालामा १ सङ्गठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने सङ्कल्प गर्दछ।

३.यो कार्यशाला गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीका सक्रिय हुन आह्वान गर्दछ।

४.यो कार्यशाला “ठिक समय एमाले समय” भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने सङ्कल्प गर्दछ।

५.यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने सङ्कल्प गर्दछ।

६.यो कार्यशाला सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने सङ्कल्प गर्दछ।

७. यो कार्यशाला पार्टी आबद्ध जनसङ्गठनहरूलाई आफ्नो समुदायका मुद्दाहरूको नेता सङ्गठन बनाउने र साङ्गठनिक रूपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछ।

८. नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ।

९.यो कार्यशाला केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने सङ्कल्प गर्दछ।

१०.यो कार्यशाला हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी प्रवास समितिले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरूले पनि प्रवासमा रहेका युवाहरूको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने र उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने रणनीति लिने सङ्कल्प गर्दछ।