काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।
दुई पटकसम्म स्पष्टीकरण सोधे पनि जबाफ नदिएपछि आज बसेको अनुशासन समिति बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो।
यादवमाथि फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन लागेको उजुरी परेको थियो। त्यसबारे अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।
वैशाख ३० गते ५ दिने र जेठ १२ गते ३ दिने स्पष्टीकरण सोधे पनि उनले जबाफ दिएका थिएनन्।
‘दुई पटकसम्म स्पष्टीकरण माग गरिएकोमा कुनै जबाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हुँदा राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरिएको छ,’ सचिव दिनेश थापा मगरले जारी गरेको अनुशासन समिति बैठकको निर्णयमा उल्लेख छ।





प्रतिक्रिया