काठमाडौं-पूर्वगृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्द्र कारबाहीको माग गरिएको छ।
बिहीबार राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले प्रेस विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री गुरुङले जेनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेनजी अगुवाले प्रदर्शन गरेका थिए।
काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेनजी अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको हिरासतमा राखिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्वगृहमन्त्री गुरुङले दुर्व्यहार गरेको उनीहरूले जनाएका छन्।
‘पूर्वगृहमन्त्री तथा वर्तमान सांसद सुधन गुरुङ तलबलसहित थुनुवा कक्षमा प्रवेश गरी हामीसँग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गर्नुभयो,’ उनीहरूले भनेका छन्, ‘उहाँले तपाईहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ, सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस् लगायतका अभिव्यक्ति दिँदै हामीमाथि मानसिक दबाब सिर्जना गर्ने र थर्काउने प्रयास गर्नुभयो।’
यससँगै उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको जनाएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूले गुनासो गरेका छन्।
यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूले माग गरेका छन्।





प्रतिक्रिया