अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य: महेश बर्तौला

पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य: महेश बर्तौला


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाउनु भएको छ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो।

उहाँले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्ने कुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताउनु भयो।

सचेतक बर्तौलाले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरू जोडिएका घटनाहरू कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो।

‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ। कठघरामा ल्याउनुपर्छ । हामीसँग सरोकारको विषय होइन यो, सरकारले के रहेछ सत्यतथ्य त्यो बाहिर ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमाले यस्तो बदमासीमा महिले पनि मुछिँदैन। अख्तियार कहाँ गएर के खोजी गर्छ, त्यो उसको विषय हो। नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन्, त्यस्ता घटनाहरुमा छानबिन होस्। हामी हाम्र कोही पनि नेताहरुलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ । कुनै गलत काम हामीबाट भएको छैन।’

सचेतक बर्तौलाले पशुपतिको जलहरीबारे अख्तियारको प्रतिवेदन आएपछि बोल्न उचित हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो, केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको विरुद्धमा यो आएको हो। त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ। उहाँको सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी जोड्न थाल्छौँ । मेरा पनि कति स्थानमा नाम लेखिएका छन् । कतै ताम्रपत्र, फलाममा छ, कतै चाँदीकैमा नाम मेरैमा लेखिएको छ।’