काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई विगतको योगदानसँगै क्षमता र सक्रियताका आधारमा पनि मूल्याङ्कन हुने भन्दै पार्टी काममा सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिम्मेवारी पाएपछि त्यसलाई प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताएका हुन्।
‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन। विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ,’ अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई भने।

अध्यक्ष ओलीले कुनै विषयमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय भएर काम नगर्ने हो भने त्यसको अर्थ नहुने बताए। पार्टीमा जिम्मेवारी निर्वाह गर्न ज्ञान र अनुभवसँगै कामप्रतिको सक्रियता पनि आवश्यक रहेको उनको भनाइ थियो।
लामो परिश्रम, त्याग र पार्टीको विश्वास जितेपछि मात्रै जिम्मेवारी प्राप्त हुने उल्लेख गर्दै ओलीले अब आफूले पाएको जिम्मेवारी कसरी पूरा गर्छन् भन्ने विषयमा सबैको परीक्षा सुरु भएको बताए।
अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टीले दिएको जिम्मेवारीअनुसार सक्रियतापूर्वक काम गर्न र आफ्नो क्षमता व्यवहारमै देखाउन निर्देशन दिएका छन्।



प्रतिक्रिया