अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४३ दिनमै खानेपानी योजना सम्पन्न 

४३ दिनमै खानेपानी योजना सम्पन्न 


म्याग्दी–धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ ।

यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ । ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो ।

धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताउनुभयो ।  “सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ”, उहाँले भन्नुभयो, “सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।”

कुल रु ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच विसं २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । रु ४४ लाख ७८ हजार एक सय १२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिनुभयो । काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उहाँले बताउनुभयो । साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ ।

लुलाङबाट खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रडलगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो । पच्चीस हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइप लाइन र ट्याङ्कीको परीक्षण सफल भएको छ ।

गुर्जाका करिब दुई सय ५० घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्तीबाहेकका सबै घरमा खानेपानी पुग्नेछ । शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्यअघि नै सम्पन्न भएको छ ।

Skip This