अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन: अर्थमन्त्री डा. महत

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन: अर्थमन्त्री डा. महत


काठमाडौँ-अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ।

प्रतिनिधि सभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताउनुभयो। 

‘हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ। यो हाम्रो विश्वास हो’, मन्त्री महतले भन्नुभयो, ‘जिल्ला निर्वाचन कार्यालयहरू अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन।’

यसअघि आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गर्नुभएको थियो । उहाँहरूको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरू अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गर्नुभयो।

अर्थमन्त्री डा. महतले आर्थिक मितव्ययीताका लागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएको बताउनुभयो।

Skip This