अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइनः अध्यक्ष तिमिल्सिना

संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइनः अध्यक्ष तिमिल्सिना


काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किने गरेको बताउनुभएको छ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उहाँले यस्तो बताउनुभएको हो। उहाँले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताउनु भयो ।

उहाँले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गर्नुभयो। उहाँले संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘निर्देशन कार्यान्वय गर्नेहरु अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । उहाँहरु सबै यतातिरको हो, हामी त गरिहाल्थ्यौँ भन्ने छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिंगो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन । यसैले जन्माएको र भोलि फेरि यहीँको धेरै हुने हो, मन्त्री, प्रधनमन्त्री कति समय हुन सक्नुहुन्छ । समितिमा, संसदमा अरु काम छोडेर यहाँ आउँ भन्ने उत्सुकता, जागरुकता कम देखेको छु । मन्त्रीहरुमा । बाहिर काम छ भने मेरो बाहिर छ भनेर सकभर यहाँबाट उम्कनै खोज्ने गर्नुहुन्छ । त्यो प्रवृत्ति संसदीय प्रणालीको राम्रो होइन । संसदीय पक्षधर्ता हौँ भन्ने हो भने पक्षधर्ताले संसदलाई बलियो बनाउने हो। रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने रु संसदमा आएर जवाफ दिनुपरे भाग्ने रु यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।