अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छः अध्यक्ष तिमिल्सिना

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छः अध्यक्ष तिमिल्सिना


चितवन-राष्ट्रियसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ।

पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचन समारोहमा आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो ।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उहाँको भनाइ छ। देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उहाँले भन्नुभयो “नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।”

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उहाँको भनाइ छ । हाँले रुपान्तरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । जिम्मेवारीमा रहेका नेताको त्याग महत्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उहाँको भनाइ थियो।

नेपाल शिक्षक सङ्गठनका संस्थापक केन्द्रीय सचिव पौडेलले शिक्षा क्षेत्रमा गर्नुभएको परिवर्तनअनुसार अहिलेको शिक्षालाई अघि बढाउन सक्नुपर्ने उहाँको भनाइ छ।

 समाज परिवर्तन र शिक्षा क्षेत्रको विकासका लागि पौडेल परिवारको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१४ मा रहेको पिता(शिक्षा गुठीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा सूर्यराज आचार्य, शिक्षाविद रमाकान्तर सापकोटा, प्राध्यापक केदारनाथ खनाल, एकनारायण पौडेल लगायतले पुस्तकको समीक्षा एवं टिप्पणी गर्नुभएको थियो।

गुठीकी उपाध्यक्ष होमादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम देवकोटा, गुठीका सचिव लोकनाथ पौडेल लगायतले बोल्नुभएको थियो।