चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीका विषयमा आफूलाई जोडिएकोमा कडा आपत्ति जनाउनु भएको छ।
सरकारी खर्चमा बनेका संरचनाहरूमा उदघाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको तर सरकारले अतिरञ्जित गरेर अफवाह फैलाएको भन्दै ओलीले आपत्ति जनाउनु भयो।
शुक्रवार चितवनमा हुन लागेको रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन आउनु भएका अध्यक्ष ओलीले आज स्थानीय पत्रकारहरूसँग केहीबेर छलफल गर्नुभयो ।
पत्रकारहरुले उहाँलाई राजनीतिदेखि जलहरीसम्मका प्रश्नहरु सोधेका थिए भने अध्यक्ष ओलीले जवाफ दिनुभएको छ। पत्रकारले सोधेका थिए, ‘पशुपतिको जलहरीका विषयमा तपाईंको के छ ? जवाफमा ओलीले प्रतिप्रश्न गर्नुभयो, ‘जलहरीबारे तपाईं जान्न खोजेको चाहिं के ?’ पुनः प्रश्न सोधियो, ‘त्यो विषय बाहिर आयो, जलहरी निकालियो ।‘
अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना मान्छेले भनेको सुनियो। सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो भनेर। एक दुई दिन त त्यसले पनि मार्केट पायो। ओहो, क्या गज्जब भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो। पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो। त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो। त्यो पनि तौलिएपछि थाहा भयो होला । यो मेरो विषय हो र मलाई सोध्नुभएको ?’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘शिलान्यास/उदघाटन गरेको ठाउँमा उदघाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन? सरकारी सम्पत्तिमा बनाएका भवन आदि/इत्यादि कसका नाममा छन् ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै‘ त्यो त मलाई थाहा हुने कुरा भएन नि! मलाई किन सोध्नुहुन्छ? मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? पशुपतिमा चढाएको जलहरीको सन्दर्भमा के भएको रहेछ? ११ किलो सुन कसैले खाएको रहेछ? खाएको रैछ भनेपनि मसँग सम्बन्धित विषय होइन।’
पत्नी राधिका शाक्यसहित रोपाई दिवसमा सहभागी हुन आउनु भएका एमाले अध्यक्ष ओलीलाई एमाले पोलिटब्यूरो सदस्य तथा चितवन इञ्चार्ज पार्वत गुरुङ, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलगायतका नेताहरुले भरतपुर बिमानस्थलमा स्वागत गर्नुभयो ।




प्रतिक्रिया