झापा-नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले नेपालीहरूले सबैभन्दा धेरै उपभोग गर्ने अन्नबाली धानको उत्पादन नबढाए धान दिवस मनाउनुको अर्थ नरहने बताउनु भएको छ।
आज असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय युवा संघ तथा अनेम संघ अर्जुनधारा नगर कमिटीले आयोजना गरेको धान रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका झापा इन्चार्ज भट्टराईले साे कुरा बताउनु भएको हो ।
नेता भट्टराईले नेपालको कूल ग्राहस्थ उत्पादनमा धानबालीको मुख्य भूमिका रहेकाले धानको उत्पादनलाई बृद्धि गर्न पनि राष्ट्रिय धान दिवसले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले वर्षा पनि भइरहेको छ। धान रोप्नका लागि उपयुक्त वातावरण छ। तर धान उत्पादन बढाएर आत्मनिर्भर नभए धान दिवसको अर्थ पनि रहँदैन। राष्ट्रिय धान दिवसको अर्थ धान उत्पादन बढाउनुपर्छ भन्ने हो।’
उहाँले खेतीयोग्य जमिन मासिँदै जानु चिन्ताको विषय भएको बताउनु भयो । पहिला धान निर्यात गर्ने नेपालले अहिले अर्बौंको चामल तथा धान विभिन्न मुलुकहरूबाट आयात गर्नु परिरहेको एमाले नेता भट्टराईको भनाइ छ।
उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै भएको र कृषि उत्पादनमा सरकारको ध्यान जानुपर्छ।’
राष्ट्रिय युवा संघले युवा वर्गलाई कृषिमा आकर्षित गर्न पनि संघको अर्जुनधारा कमिटी र अनेम संघ अर्जुनधारा वार्ड कमिटीले एमाले वार्ड अध्यक्ष बीपी कोइरालाको खेतमा राष्ट्रिय धान दिवस आयोजना गरेको संघका केन्द्रीय सदस्य रोजिना पाण्डेले बताउनु भयो ।
धान दिवसको विशेष कार्यक्रममा संघका पदाधिकारी तथा मातृ पार्टी नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीलगायत अन्य नेता/कार्यकर्ताको सहभागिता थियो।




प्रतिक्रिया