काठमाडौँ-सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने बताउनुभएको छ।
शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको जिकिर छ।
उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रको महत्त्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यावहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्त्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्त्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भूमिकालाई सही दिशा निर्देश गर्ने कुरामा यहाँहरुको भूमिका रहनेछ।’
सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्त्वपूर्ण भएको पनि उहाँले बताउनुभयो। उहाँले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्त्वपूर्ण हुन्छ भन्नुभयो ।
‘संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो’, सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ।’ उहाँले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पार्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको थियो तर प्रतिनिधिसभामा गएर अघि बढ्न नसकेको बताउनुभयो । उपसभामुख इन्दिरा राना मगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय छ भन्नुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको हो ।
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद् भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताउनुभयो । उहाँले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताउनुभयो ।
समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले संसद्मा भाइरल हुनका लागि युटुबर बोकेर आउने तर संसदीय अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष सञ्जीव बगालेले अधिवेशनले आजै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो ।




प्रतिक्रिया