अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, ट्रक पल्टियो 

 नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, ट्रक पल्टियो 


भरतपुर–नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । 

पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् ।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । 

आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । 

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडक खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।