काठमाडौं-राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताउनुभएको छ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभएको हो। उहाँले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउनुभयो। बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरेपनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘हामी ३ स्तरका सांसदहरु रहेछौँ। एउटा पहुँचवाला सांसद, मन्त्री हुने। ठूलै बजेट लाने। एउटा सांसद यसो थर्काएर, बिरोध गरेर पनि अलिअलि पैसा लाने। हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पछडिएका जातबाट आएकाहरु चाहीँ तेस्रो दर्ताको सांसद पर्दो रहेछौँ। न बजेट लान सक्छ। न केही गर्नसक्छ। सचिवहरुकहाँ गयो। सचिवहरुले पनि ढाँट्ने यसपालि त बजेट नै छैन। किनभने हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ। हाम्रा नियमित कार्यक्रमहरु छ, त्यसमा लगाउनुपर्छ। अर्थतन्त्र यस्तै छ डामाडोल छ भनेर ढाँटिदिने। अनि हामी सोझो मान्छे, हिमालको मान्छे पत्याइदिने । पत्याएपछि बजेट हे¥यो। मन्त्रीकोमा यति, ठूल्ठूला नेताहरुकोमा यति। अनि हाम्रोमा बजेट नै नहुने।’
उहाँले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महशुस भएको बताउनु भयो। उहाँले संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो देशमा संघीयता आवश्यक रहेछ भन्नेकुरा बुझियो यो कुराबाट । केही न केही संघीयताले गर्दाखेरी गाउँपालिकामा बजेट गयो। प्रदेशमा बजेट गयो। त्यो बजेटबाट सिस्टममा हामीले पनि बजेट पायौँ । यो संघीयता पनि नहुने हो भने त हामीले त केही पनि नपाउने रहेछौँ। न यो देशको नागरिक नै गन्ने रहेछौँ ? न यो देशको एउटा क्षेत्र नै गन्ने रहेछौँ ? हामीले केही नपाउने रहेछौँ। त्यसकारण यो देशको लागि अब संघीयता भनेको आवश्यकता हो भन्नेकुरा बजेट बाँडफाँटले पनि देखायो। यो देशमा संघीयता आवश्यकता छ। म जुन ठाउँबाट आएको छु त्यो क्षेत्रका लागि संघीयता आवश्यकता छ। हिमाली क्षेत्रको लागि संघीयता आवश्यक छ।’
उहाँले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताउनु भयो। उहाँले विदेशमा काम गर्न जाने युवाहरुलाई सिपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने बताउनु भयो। उहाँले राजनीतिक नियुक्तिका पदहरुमा क्षमता अनुसारका व्यक्तिहरु मात्रै नियुक्त गर्नुपर्ने बताउनु भयो।






प्रतिक्रिया