काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हामी कस्ता पुर्खाका सन्तान हौँ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ।
रूपन्देही जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्टता प्राप्त गर्नुहुने छात्र छात्राको सम्मान कार्यक्रमलाई शनिबार भर्चुअल सम्बोधन गर्नुहुँदै ओलीले हामी कस्तो देशमा जन्मिएका छौँ, हाम्रो अवस्था के छ र हाम्रा सम्भावना के छन् भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘नेपाली विश्वमा कहीँ कोही भन्दा पनि कमजोर, कमसल हुँदैनन्, यो सभ्यताको सुरुवात भएको देश हो, ज्ञानको सुरुवात भएको देश हो, शिक्षाको सुरुवात भएको देश हो।’
विश्वको प्राचीनतम ज्ञान, विज्ञान, वेद, आयुर्वेद र शिक्षा नेपालकै भूमिबाट सुरु भएको ओलीले बताउनुभयो। आजका विकसित भनिएका देशहरू जङ्गली अवस्थामा रहँदा नै हाम्रा पुर्खाले ज्ञान, विज्ञान र जीवनको बारेमा खोज अनुसन्धान गरेका ओलीले स्मरण गर्नुभयो। यसै ठाउँमा सभ्यताको विकास भएको ओलीले बताउनुभयो। संसारको सबैभन्दा पुरानो शैव सभ्यता नेपालबाट नै सुरु भएको उहाँले प्रष्ट पार्नुभयो ।
आज भन्दा २८ सय वर्ष अघि नै हिमवत खण्डमा विश्व विद्यालय स्थापना भएका कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो। १० वटा बढी विश्वविद्यालय यही भू खण्डमा सयौँ वर्ष अघि स्थापना भएका ओलीले बताउनुभयो । अन्तरिक्ष, ब्रह्माण्ड र सृष्टिको खोज अनुसन्धान हाम्रै पुर्खाले गरेका ओलीले दाबी गर्नुभयो। ‘हामी विद्वान प्रतिभाशाली विद्वान पुर्खाका सन्तान हौँ’, उहाँले भन्नुभयो ।
शिवदेखि अनेक ऋषि, महर्षि नेपालकै भएका ओलीले बताउनुभयो। अनेक ऋषि मुनीहरू नेपाल र हिमवत खण्डका भएका प्रमाणित आधारहरू भएका उहाँले सुनाउनु भयो । ‘यसरी यो भूमि विद्वान पुर्खाहरूको भूमि हो’, ओलीले भन्नुभयो।
त्यसैले नेपालीले खोज, अनुसन्धान र विकास अन्यत्र भन्दा छिटो गर्न सक्ने ओलीले दाबी गर्नुभयो । हाम्रा पूर्वजहरूले हजारौँ वर्ष लगाएर तयार गरेका सामाजिक सुप्रबन्धबाट नेपाली समाज चलेको उहाँले स्मरण गराउनुभयो।
संसार अथाह ज्ञानको भण्डार भएको बताउँदै ओलीले मानिसले त्यसको केही अंश मात्र लिन सक्ने बताउनुभयो । त्यसैले आफ्नो क्षमता र इच्छा अनुसारको ज्ञान लिनु पर्ने ओलीको भनाइ छ। आफ्नो क्षमता कुन विषयमा छ, त्यही विषय रोजेर पढ्न उहाँले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई आग्रह गर्नुभयो । ‘कुनै पनि विषय कम महत्वका छैनन् भन्ने कुरा हामीले भुल्नु हुँदैन’, उहाँले भन्नुभयो।
प्रतिभा सबैसँग हुने बताउँदै ओलीले तर प्रतिभा अनुसारको विधा मिल्नु पर्ने बताउनुभयो। विधा छनोट सही रूपमा गर्न सकेन भने सिकाइ प्रभावित हुने तर्फ सोच्न उहाँले आग्रह गर्नुभयो।
धर्तीलाई कसरी शान्त र सुखमय बनाउन सकिन्छ भन्ने कुरा सोच्नु पर्नेमा उहाँले जोड दिनुभयो । जैविक र मानवीय आवश्यकता परिपूर्ति गर्ने हिसाबले देशको विकास र समृद्धि आवश्यक रहेको ओलीले बताउनुभयो। समतामूलक समाज र सुरक्षित जीवन सबैको अधिकार भएको उहाँले स्पष्ट पार्नुभयो। यसलाई सोचेर सबै यस दिशामा अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो।
ओलीले कसैलाई कसैले शत्रु बनाइ रहनु नपर्ने बताउनुभयो। कसैले गरेको प्रगति, उन्नति र सफलताले विरोधी त्यतिकै बन्ने ओलीले बताउनुभयो । विरोधी बनाउन कुनै मेहनत नै गर्नु नपर्ने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । मानिसलाई त्यस्ता प्रवृत्तिबाट जोगाउन मेहनत गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
साथी बनाउने काम निक्कै गाह्रो हुने उहाँले बताउनुभयो। हरेकलाई मित्र बनाउने प्रयत्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । तर मित्र बन्नका लागि गलत आनीबानी भने सिक्न नहुने तर्फ उहाँले सचेत गराउनुभयो। ‘गलत आनीबानीसँग सम्झौता गर्नहुँदैन’, ओलीले भन्नुभयो ।




प्रतिक्रिया