अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या ५ लाख ७६ हजार नाघ्यो

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या ५ लाख ७६ हजार नाघ्यो


काठमाडौँ-बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेका छन्। यससँगै उपत्यकाका प्रमुख नाका, बसपार्क तथा सडकमा यात्रुको चहलपहल र सवारीसाधनको चाप बढेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढिरहेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढेसँगै यी नाकामा सवारी आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।

लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे विशेष ध्यान दिनुपर्ने उनले बताए । यात्रु तथा चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन्। उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि राजधानीका सडक तथा बाहिरी नाकामा चहलपहल बढेको छ।