अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अत्याधिक जामको समयमा सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ १ असोजबाट सञ्चालन

अत्याधिक जामको समयमा सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ १ असोजबाट सञ्चालन


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ । राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार ब्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ ।
‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौ’ मन्त्री ज्वालाले भन्नुभयो ‘आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौ ।’
तत्कालका लागि द्रुत बस सेवा अध्याधिक जामको समय विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथीका करिव २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभएको छ ।
‘ बस र्यापिट ट्रान्जिट सिस्टम विराटी त होइन, तर हाम्रो नेपाली मोडेलको र्यापिट बस सर्भिस हो’ सचिव शर्माले भन्नुभयो ‘सडकको लेनदेखि बसको आकार नै फरक हुनेगरी द्रुत बस सेवा सञ्चालनको तयारीमा जुटेका छौ ।’
द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ । दु्रत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।
पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्याधिक जामको बेला सुर्य विनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ । ‘द्रुत बस सेवा सञ्चालन भएपछि अध्याधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौ’ यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो ।
मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विभागका उपमहानिर्देशक रामहरी पोखरेल, निजी सचिव रामहरी शर्मा, ट्राफिक प्रहरीका डिआइजी र एसएसपी, यातायात ब्यवसायी महासंघका पदाधिकारीहरुसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
द्रुत बस सेवाका लागि मोवाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।