काठमाडौँ-जेनजी अभियन्ता मिराज ढुङ्गानाले आफू लगायत केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने तयारी भइरहेको खबर आएको भन्दै दसैँपछि मात्रै गिरफ्तारी गर्न सरकारलाई आग्रह गरेका छन्।
ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले दसैँपछि ‘तेस्रो ध्रुव’ र जनविद्रोहपछि आवश्यक वास्तविक वैकल्पिक शक्तिको वकालत गर्ने बताएका हुन्। उनले गिरफ्तारी गर्नैपर्ने भए पनि दसैँपछि दिनको समयमा गर्न सरकारलाई व्यङ्ग्यात्मक शैलीमा आग्रह गरेका छन्।
‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ। म तेस्रो ध्रुव र यो जनविद्रोहपछि चाहिएको वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्छु, गिरफ्तार पनि दिनमा दिउँसो परेर दसैँपछि गर्नुहोला सरकारलाई मेरो आग्रह,’ उनले लेखेका छन्।
पछिल्लो समय देशमा रातिको समयमा मात्रै गतिविधि हुने गरेको भन्दै उनले व्यङ्ग्यसमेत गरेका छन्। ‘आजकल देश राति मात्रै बन्दो रहेछ, के गर्नु होला !’ उनले फेसबुकमा लेखेका छन्।
ढुङ्गानाले आफूलाई गिरफ्तार गर्ने तयारी भइरहेको खबर आएको उल्लेख गरे पनि गिरफ्तारीको सम्भावित कारणबारे भने खुलाएका छैनन्। यस विषयमा सरकारी पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको जानकारी उपलब्ध छैन।



प्रतिक्रिया