काठमाडौं-प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले लेखेको तथ्यलाई साइबर क्राइम पुष्टि गरेर देखाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चुनौती दिनु भएको छ।
सामाजिक सञ्जालमार्फत बस्नेतले आफूले बुधबार लेखेको स्टाटसलाई साइबर क्राइम पुष्टि गरेर देखाउन चुनौती दिदै साइबर आतङ्क मच्चाएर कलम बन्द गराउन नखोज्न सुझाव समेत दिनु भएको हो।
आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराधको मुद्दा लगाएर थुन्न प्रहरीलाई निर्देशन दिएको आरोप अध्यक्ष बस्नेतको छ।
गृहमन्त्रीको सचिवालयले बिहीबार दिनभर आफूलाई पक्राउ गरिएको भनेर समाचार लेखाएको र साइबर व्युरोमा उजुरी दिएको भनेर धम्की दिएको उहाँको नभाइ छ। ‘दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्यो भनेर समाचार लेखाउने काम भयो। समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिए भन्दै हटाइरहेका छन् । सुनकोशी डटकमले समाचार हटाएको छ। त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ,’ उहाँले लेख्न भएको छ।
गृहमन्त्रीका प्रेस हेर्ने कमल गिरीले समेत नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएर आँए भन्दै स्ट्याटस सच्याउन आग्रह गरेको उहाँले उल्लेख गर्नु भएको छ । ‘गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो,’ उहाँ लेख्नुहुनुछ, ‘साइबर आतङ्क मच्चाएर बिरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो ।’
उहाँ लेख्नहुन्छ, ‘मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन सम्भव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ?’
यस्तो छ, बस्नेतको चुनौतीसहितको स्पष्टीकरण–
गृहमन्त्रीलाई खुला चुनौती
काँक्रो आफूले खाएर बियाँ अरुको निधारमा टाँस्ने काममा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माहिर हुनुहुन्छ। उहाँबाट यही अपेक्षा थियो, भयो । मलाई थाह छ, कमरेड नारायणकाजी श्रेष्ठको विशेष रुचि भन्सारतिर कर्मचारी सरुवामा हुन्छ । कतिपय घटनाका साक्षी म आफै छु।
एकपटक उहाँले अर्थमन्त्रीलाई फोन गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयदेखि चार वटा भन्सारका प्रमुख सरुवा गर्न नाम टिपाउँदा म प्रत्यक्षदर्शी थिएँ । प्रहरीको सरुवा र बढुवामा पनि कमरेडको राम्रै रुचि रहेको कुरा कुनै बेला प्रमाणसहित ल्याउँला। आफू राम्रो बाँकी सबै नराम्रा भन्ने विचारका प्रणेता गृहमन्त्री कमरेड नारायणकाजी श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गरेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत अर्थात् मलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु भएछ ।
दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिए भन्दै हटाइरहेका छन् । सुनकोशी डटकमले समाचार हटाएको छ। त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन भन्ने कुरा प्रमाणित भइसकेको छ। भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाइँले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भनेँ, साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ। उहाँको बोली धम्कीकै थियो ।
धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनुभएको भनेर मलाई भन्नुभएको छ। उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो । गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो ।
मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू ? बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?
कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खवर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’
प्रिय नारायणकाजी कमरेड, तपाइँले २०६५ सालदेखि को–कोबिरुद्ध समाचार लेखाउनु भयो ? के के काम गर्नुभयो ? भर्खरै मात्र पनि पत्रकार बोलाएर मबाहेक प्रधानमन्त्री र अरु सबै मन्त्रीको धन्दा ठीक भएन, काम गर्ने त ममात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो । कमरेड सबै कुरा थाहा छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस् ।





प्रतिक्रिया