अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ: विष्णु पौडेल

अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ: विष्णु पौडेल


काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पौडेलले सो सुझाव दिनुभएको हो। आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको उहाँको भनाइ छ। 

कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशूल भनेजस्तो छान्न सकिने विषय नभएको उहाँले बताउनुभयो । उहाँले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैङ्कले ल्याउनुपर्ने उहाँले बताउनुभयो। 

उहाँले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरूले दिएको उहाँले बताउनुभयो । 

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध हुनुपर्ने बताउनुभयो। उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने उहाँको भनाइ छ। 

दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउन चुनौती सिर्जना गर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अन्तर्विरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गर्नुभयो।