अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सत्ताधारी नेताहरुको कब्जामा छ : एमाले नेता रिजाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सत्ताधारी नेताहरुको कब्जामा छ : एमाले नेता रिजाल


काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सत्ताधारी नेताहरुको कब्जामा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले विमानस्थलमा सेटिङ मिलाएर पठाइएका सरकारी कर्मचारी मात्र नेतृत्वमा रहेको बताउनुभएको हो ।  

नेता रिजालले लेख्नुभएको छ, ‘उदाहरणका लागि– दुई वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेट गरेका हुन् । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग ‘तालिम प्राप्त’ गरेपछि पठाइएका व्यक्ति हुन् भने वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए । त्यसैगरी, सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआइजी अर्जुन चन्द ठकुरीलाई ‘आदर्शवान’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त पौडेललाई भन्सार विभागका महानिर्देशक यत्तिकै बनाएका होइनन् । चर्का र उट्पट्याङ कुरा गर्ने पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् ।’ 

नेता रिजालले सय किलो सुन ड्युटी अफिर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला भनी प्रश्न गर्नुभएको छ । दुईवटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने  बाँकीले केसम्म गर्न सक्छन् होला भनी उहाँको प्रश्न छ ।