काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद् सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएकाे छ ।
एक क्विन्टल सुन तस्करी काण्डलाई लिएर नेता थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री श्रेष्ठकाे राजीनामा माग्नुभएकाे हाे ।
विमानस्थलमा सांसद् र यात्रुलाई कडा चेकजाँच गर्ने गरिएकाे उल्लेख गर्दै उहाँले एक क्विन्टल सुन भन्सार पार कसरी कसरी बाहिरियाे भन्दै प्रश्न गर्नुभएकाे छ। उहाँले लेख्नुभएकाे छ, ‘एक क्विन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँच परीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानबिन प्रभावित नहोस भनी स्वनिलम्बन ? राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो।’
सुनकाण्डकाे छानबिनलाई प्रभावकारी बनाउन गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ। ‘गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ ? तपाईंको कार्यकालमा कति क्विन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ? अनि सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त ? अब राजीनामा दिएर छानबिनलाई सघाउनुस्, अन्यथा तपाइँ भन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र न भूत न भविष्यति अरू कोही देखिने छैन’ नेता थापाले लेख्नुभएकाे छ ।
यस्तो छ थापाको स्टाटस
हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्रायः सधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु । कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु। तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोवाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ।
त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु । प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा शुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुईदुई पटक शरीर छामछुम पनि गर्छन् ।
यो सबै देखाउन र लोक रिझाइका लागि गर्ने गरिएको हो । एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन ? राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो ।
नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टवाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनै सक्दैन । जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ–तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ? अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन।





प्रतिक्रिया